अमेरिकाबाट प्रचण्डको घोषणा- विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

अमेरिकाबाट प्रचण्डको घोषणा- विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था



प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीहरूलाई मतदानको व्यवस्था गरिने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन आइतबार न्यूयोर्क आएका प्रधानमन्त्री प्रचण्डले पत्रकारहरूसँगको भेटमा यस्तो बताएका हुन् ।

उनले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिएको जानकारी दिँदै कसैलाई पनि मतदानको अधिकारबाट वञ्चित हुन नदिने बताए ।

उनले सामाजिक सञ्जालको दुरुपयोग बढेकोप्रति सरकार गम्भीर भएको भन्दै अब त्यसको नियमनका लागि विशेष पहल गर्ने पनि बताए । प्रधानमन्त्री प्रचण्डले सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जस्तो सुकै कदम चाल्न पनि तयार रहेको बताए ।

उनले सरकारले गरेका राम्रा र सकारात्मक कुराहरूलाई भन्दा पनि कसरी बदनाम गर्न सकिन्छ भन्ने गिरोह सक्रिय रहेको आरोप लगाए । अर्को प्रसंगमा प्रधानमन्त्री प्रचण्डले पार्टी पङ्तिकाे उपल्लो तहमै केही समस्या देखिएको भन्दै अब त्यसलाई सच्याएर जानुको विकल्प नरहेको बताए ।

प्रधानमन्त्री दाहाललाई संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग प्रतिनिधि एवं राजदूत लोकबहादुर थापाले स्वागत गरेका थिए । प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेससँग भेटवार्ता गरेका छन् । महासभालाई सम्वोधन गर्नुअघि प्रधानमन्त्री प्रचण्डले अल्पविकसित राष्ट्रको अध्यक्षको हैसियतले विभिन्न साइडलाइन बैठकमा सहभागिता जनाउने कार्यक्रम रहेको छ ।

उनले अल्पविकसित राष्ट्रको अध्यक्ष भएका कारण पनि अहिले महासभामा सहभागी हुनैपरेको बताए । प्रधानमन्त्री प्रचण्डले सेप्टेम्बर २१ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।