प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री भट्टराईबीच खटपट - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री भट्टराईबीच खटपट



प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईबीच खटपट देखिएको छ । समाजवादी मोर्चामा आफूलाई सामेल नगरेपछि भट्टराई प्रचण्डसँग रुष्ट बनेका हुन् ।

आफूलाई समाजवादी मोर्चामा सामेल नगरेकोबारे प्रस्टीकरण दिँदै भट्टराईले समाजवादी मोर्चाबारे आलोचना गरेका छन् । भट्टराईले यो मोर्चा अंकगणितका आधारमा कांग्रेस र एमालेसँग पालैपालो मोलमोलाइ गरेर सत्तादोहन गर्नका लागि मात्र निर्माण गरिएको गम्भीर आरोप लगाएका छन् ।

गए राति सामाजिक सञ्जालमा दुई बुँदे प्रस्टीकरण दिँदै भट्टराईले पुराना शक्तिहरूमा एकाधिकार जमाएर बसेका नेताहरूको वैचारिक–राजनीतिक विषयप्रतिको अरुचि र अनिच्छा र खाली तत्कालीन संसदीय अंकगणितप्रतिको अतिशय लिप्साको प्रतिफल स्वरूप आफूसँग कुनै परामर्श र छलफलबिनै रहस्यमय ढंगले कथित ‘समाजवादी मोर्चा’ को एकतर्फी घोषणा भएको टिप्पणी समेत गरेका छन् ।

उनले नयाँ युगको नयाँ ढंगको समाजवादवारे कुनै स्पष्ट सोच नभएको र सिर्फ अंकगणितका आधारमा कांग्रेस र एमालेसँग पालैपालो मोलमोलाइ गरेर सत्तादोहन गर्ने मात्र समाजवादी मोर्चाको आशय देखिएकाले त्यसमा आफू संलग्न नभएको दाबी समेत गरेका छन् ।

‘जहाँसम्म हामी नयाँ शक्तितिर कि पुरानो शक्तितिर भन्ने प्रश्न छ हामी नै वास्तवमा वैचारिक रूपले गत एक दशकदेखि देशमा नयाँ वैकल्पिक राजनीति र शक्तिका प्रमुख प्रवर्तक भएकाले हामी नयाँ वैकल्पिक शक्ति निर्माणकै पक्षमा रहेको र रहने कुरा स्वतः स्पष्ट छ’, बाबुरामले भनेका छन्, ‘बीचमा केही क्षेत्रीयतावादी शक्तिहरूसँग सहकार्य गर्दा हाम्रो छवि जनसमक्ष धमिलिन पुगेको कुरालाई स्वीकार्दै हामीले आत्मालोचनासहित त्यसलाई सच्याउने कार्य गरिसकेका छौँ । अतः नयाँ युगको र देशको आवश्यकता अनुरूप हामी देशमा उदाउँदै गरेका सबै अग्रगामी नयाँ शक्तिहरूसँग सहकार्य गर्दै वृहद नयाँ वैकल्पिक शक्ति निर्माणमा प्रतिबद्ध रहेको र रहने कुरा द्विविधारहित ढंगले स्पष्ट पार्न चाहन्छौँ ।’

उनले अब देशमा उदाउँदै गरेका सबै अग्रगामी नयाँ शक्तिहरूसँग सहकार्य गर्दै नयाँ वैकल्पिक शक्ति निर्माणमा प्रतिबद्ध रहने घोषणा समेत गरेका छन् ।