नियात्रा : आँखा आँखामा नाच्छ नागोरो
-प्रभा बराल
बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस्
यी हातले सधैँभरि नेपाल लेख्न पाइयोस्।
सुमधुर स्वरका धनी रामकृष्ण ढकालले गाएको यो गीतमा देशप्रेमको गहिरो भाव झल्किन्छ। एकपटक विदेशको साङ्गीतिक कार्यक्रममा ढकालले यो गीत गाउँदा वर्षौँवर्ष विदेशमा बस्ने नेपालीले डाँको छाडेर रोएका थिए रे भनी गायक ढकालले कुनै सन्दर्भमा भनेको सम्झिन्छु। साँच्चै नै संसारको जुन कुनामा मानिस पुगे पनि उसलाई आफ्नै देशको झझल्कोले हरपल सताइरहेको हुन्छ। विकासका चरम उपलब्धिहरूको साक्षात्कार गर्न पाउँदा पनि आफ्नो भूगोल आँखाभरि नाच्न थाल्छ। विभिन्न परिस्थिति र बाध्यतालाई अङ्गीकार गर्दै मानिसले आफ्ना जिन्दगीको यात्रा गरिरहँदा उसका आँखाभरि झलमलाईरहेका हुन्छन् आफ्नै देशको पखेरो, डाँडापाखा, हिमाल र प्राकृतिक सौन्दर्यका खानीहरू र आँखाले तुलना गर्न पुग्छन् बिरानो देशको सभ्यता, संस्कृति र रीतिरिवाजलाई आफ्नो देशसँग।
सर्वप्रथम सूर्य उदाउने देश
समुन्द्र नै समुन्द्रको देश
टापु नै टापुले जोडिएको देश
छिन छिनमा भुइँचालो गइरहने देश
कमिलाझैँ मिहिनेती नागरिक बस्ने देश
साकुरा फुल्ने देश
आरिगातो भन्दै जति बेला पनि झुकिरहने देश
हिरोसिमा र नागासाकीको देश
बिदाइको बेला सायोनारा भन्ने देश
नेपालसँग सुमधुर सम्बन्ध भएको देश
नेपालको सदाशयता चाहने देश।
यस्तै दर्जनौँ उपमाहरू मेरा आँखाभरि सल्बलाइरहेका बखत जब म जापानको सडक, चोक र पार्कहरूमा किमोनो लगाएका जापानी नागरिकहरू देख्छु मेरा आँखाभरि चार जात छत्तीस वर्णको फूलबारी ठानिने नेपालका विभिन्न जातजातिका आ–आफ्नै पोशाकहरू सजिन थाल्छन्। असाध्यै मिहिनेत गरेर लगाइएका रङ्गीविरङ्गी किमोनोमा सजिएका जापानी नागरिकहरूको किमोनो मोह देख्दा मनमनै उनीहरूलाई सलाम गर्दछु। आहा ! कति सुन्दर छौ तिमीहरू भित्रबाट पनि र बाहिरबाट पनि। म प्रेरित हुन्छु उनीहरूबाट र सुटकेसमा सजाएर राखेको साडी चोलो झिकेर सुम्सुम्याउँछु र फुर्सदले लगाएर मनमनै दङ्ग पर्छु। यही देशले सिकाएको छ मलाई अभिरुचिपूर्वक काममा मन लगाउन, सेकेन्ड सेकेन्डको महत्त्व बुझ्न। केही सेकेन्डको अन्तरले मेरो गाडी छुट्दा, केही मिनेटको अन्तरले मेरो रेल छुट्दा मलाई अनुभूति भएको छ समय कसरी चिन्न सक्नु पर्छ भन्ने कुरा। बुद्धको देशमा म जन्मिए पनि शान्ति के हो भन्ने कुराको अनुभूति मैले जापानमा आएर नै गरेँ। जहाँ रात बिरात निर्धक्क हिड्न सकिन्छ, जताततै झलल के दिन के रात एकैनास। यहाँका मानिसहरू होहल्ला र कोलाहल मन पराउँदैनन्। काममा लागि पर्दा गफ गरेको रुचाउँदैनन्। बिनाकारण अरूलाई बाधा पुऱ्याउँदैनन्। गफ गरेर समय खेर पनि फाल्दैनन्। मिनेट मिनेटको सदुपयोग गर्छन्। शायद यही कारणले होला जापान विश्वकै समृद्ध राष्ट्र बन्न सफल भएको हो।
साकुराका सुन्दर फूलहरूले मेरो देशको पाखोभरि फुल्ने लालीगुराँसलाई सम्झाए पनि आन्तरिक पर्यटनको विकासमा समेत मेरो देशले फड्को मार्न नसकेको दुखेसो मनमा चस्स बिझ्दा आँखा नरसाउने कहाँ हो र एकान्तमा भक्कानै फुटाएर रुन मन लाग्छ। जब काठमाडौँको सडकमा परेका खाल्डाखुल्डी र धुवाँधुलोले संसारकै प्रदूषित ऱ्याहरूको सूचीमा काठमाडौँ पनि परेको खबर सुन्छु मन त्यसै त्यसै भरङ्ग भइदिन्छ। एउटा नागरिकको त यसरी मन दुख्छ भने देश बनाउँछु भन्ने नेताहरूको मन दुख्छ कि दुख्दैन होला हँ म टोलाउन पुग्छु। यदि दुख्दो हो त वर्षौवर्ष यो देश जस्ताको तस्तै किन रहन्थ्यो होला र म एक्लै एक्लै बर्बराउन थाल्छु।
प्रिय नागोरो तिम्लाई भेट्दा लाग्यो यस्तो पनि सम्भव छ र ? तिम्रो जस्तो कथा व्यथा त मेरो देशको सयौँ गाउँहरूमा छन्। आज संयुक्त राष्ट्र संघमा दर्ता भएका २५० वटा जति राष्ट्रमध्ये करिब १५० वटा राष्ट्रमा हामी नेपालीहरू कोही भाग्यले त कोही दुर्भाग्यले पुगिरहेका छौँ। हाम्रा गाउँघरका आँगनहरू रित्ता, शून्य र मसानघाट जस्तै बनेका छन्। के अब म तिमीले जस्तै ती उराठलाग्दा गाउँहरूलाई हराभरा बनाएर गाउँको खुसी फर्काउन सक्छु ? भन न नागोरो, तिमीले मलाई यो कस्तो ऊर्जा दियौ ? शिकोकु प्रान्तको तिम्रो गाउँमा सहरको जस्तो झिलिमिलि भएन र तिम्रा सन्तानहरू उडे चराजस्तै भुरुर्र सहरको रमझम हेर्न। ३५० को हाराहारी सङ्ख्यामा बस्ने तिम्रो गाउँको जनसङ्ख्या जम्मा ३५ जनामा खुम्चिन पुग्यो। यो खुम्चाइले तिम्रै गाउँमा बस्ने आयोनो चुकिमीलाई रातभर निद्रा लागेन र के गर्न सकिन्छ भनेर खुब घोरिइन् अनि देवीको रूपमा उदाइन् आयोनो। आयोनो तिम्रो मिहिनेतले नागोरो गाउँलाई नमुना गाउँ बनायौँ र आज तिम्रो नाममा मैले निबन्ध लेखेर तिमीप्रति सम्मान व्यक्त गर्न पाएँ र तिम्रो प्रेरणाबाट केही गर्नु पर्छ भन्ने ज्ञान प्राप्त गरेँ।
सिर्जनशीलताकी खानी तिमी आयोनो सान के शब्दले तिम्रो प्रशंसा गरूँ। सुरुमा तिमीले यो काम आफ्नो बाबुबाट सुरु गरिछौ र विस्तारै तिम्रो परिवारका अन्य सदस्य, साथीभाइ हुँदै लगातार दश वर्षसम्म यो कामलाई निरन्तरता दिइछौ। तिम्रो यो उदाहरणीय कार्यको लागि तिमीलाई सम्मान गर्ने शब्द मेरो शब्दकोषमा नै छैन। निर्जीव र उराठ बनेको गाउँलाई सजीव र हराभरा गाउँ पार्ने अठोट तिमीले कसरी लिन सकेकी ? ५० वर्षको उमेरमा जब तिमी एघार वर्ष पछि आफ्नो गुँड खोज्दै आयौ र यो कार्य गर्न सम्भव भयो। यति पवित्र विचार उत्पन्न हुने तिम्रो कस्तो मनमस्तिष्क। ‘असम्भव’ भन्ने शब्द मुर्खहरूको शब्दकोषमा मात्र हुन्छ भनेर फ्रान्सेली सम्राट नेपोलियन बोनार्पाटले त्यसै कहाँ भनेका थिए र ? तिमीले नागोरो गाउँलाई पहिलाकै अवस्थामा ल्याउन जुन अध्ययन गऱ्यौ त्यो कहाँ सजिलो थियो र ? तीन सय पचासको हाराहारीमा बस्ने मानिसहरू कोको थिए, तिनीहरूको दैनिकी कस्तो थियो, के कस्तो रूप र जीउडालका थिए, विद्यालय र शिक्षकको अवस्था कस्तो थियो, कति विद्यार्थी पढ्थे ती सबै अध्ययन गर्नु चानचुने कुरा थियो र ? तर तिमीले गऱ्यौ कति आकर्षक ढङ्गले यो काम गऱ्यौ आयोनो। तिमीलाई लाग्दो हो आफ्नो जन्मभूमिलाई सम्झन, गाउँका क्रियाकलापबारे स्मरण गर्न र ग्रामीण जनजीवनलाई जीवन्तता दिन यो जत्ति उत्कृष्ट कार्य अरू के हुन सक्ला भन्ने। आफ्नो जन्मभूमिप्रति गरेको यो तिम्रो यो सम्मान अतुलनीय छ आयोनो। बरु, मानिसहरू नै सहरबाट आएर बसेका भए यतिको चर्चा हुँदैनथ्यो होला तर तिम्रो मिहिनेत र परिश्रमले जुन कुरा प्राप्त गऱ्यौ त्यो वर्णन गर्न सकिने कहाँ छ र ? आज तिम्रो नाममा मैले मेरो देशका रित्ता गाउँहरू जोडेर हेरेकी छु अनि कल्पना गरेकी छु आयोनोले जस्तै हाम्रो गाउँमा पनि यसरी खुसीको बहार कसरी ल्याउने होला भनेर।
तिम्रो कलाकारिताले सिँगारिएका मानिसको अवस्थिति झल्किने उस्तै स्वरूपका गुडियाहरू बनाएर चोकचोकमा, खेतबारीमा, रेल स्टेसनमा, घरको पिँडी र बरण्डामा राख्यौ यो दृश्य कम्ती लोभलाग्दो छैन। कति मायाले मुसाऱ्यौ होला तिमीले ती गुडियालाई। बनाउन त तिमीले पराल, पुराना कपडा, फोम र अन्य कुराहरूको प्रयोग गरेर ती गुडियाहरू बनायौ तर मान्छेको आकारमा ल्याउन तिमीलाई कति हम्मे पऱ्यो होला है ? जसरी नौ महिना कोखमा राखेर असह्य प्रसव वेदना सहेर एउटी आमाले शिशुलाई जन्म दिन्छिन् त्यस्तै तिमीलाई पनि भयो होला भनेर कल्पना गर्न म सजिलै सक्छु आयोनो। म पनि त दुई सन्तानकी आमा हुँ र आमाले सन्तान जन्माउँदाको छटपटी मैले भोगेर आएकी छु।
जसरी सन्तानहरू बिरामी पर्दा एउटी आमा रातभर नसुती नसुती तिनका सेवा सुश्रुषामा जुट्छिन् त्यसै गरी तिमी पनि घामपानीले मक्किन लागेका मानवाकृतिका गुडियाहरूको अवस्था हेरेर पूर्ण तत्परताका साथ स्वस्थ गुडियाको निर्माण गर्छौ भन्ने कुराले कसलाई उत्साह दिदैन भन त ? झन् मेरो देशमा त कामै केही छैन उद्योगधन्दा र कलकारखाना पनि सरकारले खोलिदिएन भन्दै विदेशै मात्र धाउने युवाहरू प्रशस्त मात्रामा बढ्दै गएका छन्। आज विदेश नजाने युवाको घर पाउन मुस्किल बनेको छ।
काम भनेको आफै खोज्न सक्नु पर्छ, उद्यमशीलताको खोजी आफैँ पनि गर्न सकिन्छ भन्ने उदाहरणको लागि तिम्रो यो काम काफी छैन र ? बनिबनाउ ठाउँमा गएर हात मिसाउनु कुन ठूलो कुरा भयो र आफै रोजगारी खडा गरेर लाखौँ पर्यटक भित्र्याउन सक्नु पो महानता हैन र ? तिम्रो अठोटलाई मानेँ मैले आयोनो, तिम्रो सिर्जनशील कार्यप्रति सलाम गरेँ मैले। आज तिम्रो कलाकारिता र मिहिनेतको फेहरिस्त हेर्न आन्तरिक होस वा बाह्य पर्यटकको धुइरो लाग्छ। विभिन्न पत्रपत्रिका, टिभी च्यानलहरू लगायत बीबीसीले समेत तिम्रो अवर्णनीय प्रयासको सराहना गरेको छ। ‘फूलको बास्ना वरिपरि राम्रो कामको बास्ना डाँडापारि’ त्यसै कहाँ भनिएको रहेछ र ? आज तिम्रो यो कार्यको प्रशंसा जापानले मात्र कहाँ गऱ्यो र सारा विश्वले थाहा पाउन थालेका छन् र तिम्रो कार्यको सर्वत्र प्रशंसा हुन थालेको छ। राम्रो काम गरे राम्रै फल प्राप्ति हुन्छ भन्ने कुरा तिमीबाट पनि सिकेँ आयोनो सान मैले। तिम्रो देशका थुप्रै स्वजनहरूलाई मैले चिनेकी छु आयोनो। जुन्को तावेइले गरेको कामबाट उनी संसारप्रसिद्ध भइन्। संसारकै अग्लो चुचुरो सगरमाथा चढेकी प्रथम जापानी महिला भनेर उनी नेपालीको मनमस्तिष्कमा छाइन्। एसियाली राष्ट्रहरूमध्ये भारतका रवीन्द्रनाथ टैगोरपछिका दोस्रो नोबेल पुरस्कार विजेता उपन्यासकार यासुनारी कावावातालाई पनि साहित्यकै माध्यमबाटै चिनेँ। उनले लेखेको ‘द स्नो कन्ट्री’ नामक उपन्यासमा जापानी युवायुवतीको प्रणय सम्बन्धलाई विषय बनाई लेखिएको कुरा कम्ती रोचक छैन। जापानी सोच र संस्कृतिको विसङ्गत परिदृश्यको सुन्दर प्रस्तुति यसमा छ। नेपाली भाषामा समेत ‘हिमदेश’ का नाममा अनुदित यस कृतिका पाठकहरू प्रशस्त छन्। यासुनारी कावावाता मात्र कहाँ हो र जापानी कवि सुन्तारो तानिकावा, मियाजावा केन्जी, हारुहितो नोजु लगायत हाल नेपालमा लोकप्रिय हुँदै गएको हाइकुका आदिकवि ‘बाशो’ पनि जापानकै रहेको कुरा थाहा पाएको उनीहरूको साहित्यिक योगदानबाट त थियो नि। आज मेरो पनि आयोनो सानसँग प्रत्यक्ष भेट छैन तर पनि म तिमीसँग प्रभावित बनेकी छु मानिसलाई उसको कामले नै उसको नाम अमर बनाउने रहेछ भन्ने कुराको थप उदाहरण आयोनो बनेको कुरामा दुई मत हुनै सक्दैन।
‘गरे के हुँदैन’ भन्ने कुराको उदाहरणको लागि तिम्रो यो कामलाई मात्र हेरे पुग्छ। हुन त हामीले बेलाबेलामा अखबारमा छापिने समाचारबाट पनि आफू सुसूचित हने मौका पाएकै छौँ। हाम्रा दाजुभाइहरूले नेपालको उब्जाउयोग्य जमिनहरू बाँझा छाडेर अरबका सुख्खा मरुभूमिहरूमा तरबुजा र बन्दा फलाएका दृश्य कम्ती भावुक छैनन्। आखिर गरे बालुवामा पनि बन्दा फल्दो रहेछ भने हाम्रो देशको त्यो मलिलो माटोमा झन् कति उत्पादन हुँदो हो। त्यो श्रम र सीपलाई नेपालमै लगानी गर्न पाए कति जाति हुन्थ्यो होला। जबसम्म सरकारले नै वैदेशिक रोजगारमा जान युवाहरूलाई रोक लगाउँदैन तबसम्म हाम्रो देशका गाउँहरू सधैँभरि उराठलाग्दा बनिरहनेछन् र खेतबारीहरू बाँझाको बाँझै रहनेछन्।
विद्यार्थी नै नभएर बन्द अवस्थामा पुगेको नागोरोको विद्यालयमा शिक्षकको प्रतीक्षामा बसेका विद्यार्थीको जीउडाल झल्किने गुडिया बनाउने सोच तिम्रो कति राम्रो। सुन्दा त आँखामा यो दृश्य आनन्दित हुन्छ भने हेर्दा कस्तो होला पर्यटकलाई ? तिमीले विद्यालयमा गरेको सजावट र गुडियाको बनावटले तिमीलाई देवीको उपमा दिन कसले कन्जुस्याइँ गर्ला र है ?
तिम्रो नागोरो गाउँ देख्दा मेरो देशका असङ्ख्य गाउँहरू आँखाभरि झलझली नाचिरहेका छन्। बाटोघाटोको न्यूनतम सुविधा समेत नभएका ती गाउँहरूले विकासका कति पूर्वाधारहरू खोजिरहेका छन्। विकासको लहर भेट्याउनु त कता हो कता, दिन प्रति दिन सहरी मोहले गाउँ रित्तिदो छ। कलात्मक ढङ्गले सजाइएका घरहरू स्याहार नपाएर खण्डहर बन्दै गएको छन्। २०५२ सालदेखि २०६२ सालसम्म चलेको माओवादी जनयुद्धले मेरो गाउँबाट युवाहरू पलायन हुने क्रम चलेको थियो। माओवादी जनसेनामा भर्ती हुनु पर्ला भन्ने भयले हजारौँ युवाहरू कोही नेपालकै सहरी क्षेत्रमा पलायन भए त कोही विदेशतिर हान्निए। देशमा लोकतन्त्र आइसकेपछि उद्योगधन्दा खुल्लान् र युवा वर्गले रोजगारी पाउलान् भन्दा सरकारले नै युवाहरूलाई विदेश जान प्रोत्साहन गरेको छ। काखे बच्चाहरू रुवाउँदै छोराछोरीको वात्सल्यताप्रति कठोर बन्दै आज कैयौँ युवतीहरू पनि विदेशतिर छिरेकाले मेरो देशका गाउँबस्तीहरू टुहुरा बनेका छन्।
प्रकृतिको निर्मम लाठी पनि नेपालमै बर्सियो। २०७२ सालमा आएको भूकम्पले मेरो देशको गाउँका कमजोर संरचनाले बनेका घरहरू पुरै भत्किए र गाउँ झनै रित्तो बन्यो। हुने खानेहरू विदेश पलायन बने। गाउँका मानिसहरू सहरतिर बसे र आज मेरो गाउँ शून्य र त्यहाँका खेतबारीहरू मरुभूमिसरी बनेका छन। भूकम्पको कारणले जमिन फाटेको र बगेको कारणले कति जमिनहरू खेतीपाती गर्न नमिल्ने भएका छन्। ती जमिनमा हलो जोत्दा, जमिन फाटेको ठाउँमा हलो अड्किनासाथ गोरु तर्सिने र भाग्ने हुनाले पनि खेत जोत्न सकिएको छैन र खनेर मात्र खेती लगाउन सकिने कुरा पनि भएन।
आज नागोरो गाउँले रूप फेरेको छ। निर्जन बनेको गाउँमा सजीव बस्ती बसाउन आयोनो सानको कार्यले सबैलाई उत्साह थपिदिएको छ। मेरो गाउँमा पनि यस्तै सजीवता थप्न पाए कति राम्रो हुन्थ्यो होला भनेर म मनमनै कल्पनामा डुबिरहेकी हुन्छु। मनभरि अनेकौँ प्रश्नहरू खेल्न थाल्छन्। जसरी नागोरो गाउँ गुडियाको गाउँ भनेर एउटा पर्यटकीय गन्तव्यको रूपमा विकसित भएको छ त्यसैगरी हाम्रो देशका उजाड गाउँहरूमा कसरी मानिसहरूको आगमन फर्काउने भन्ने सोच जागृत हुन जरुरी भएको छ। गाउँ नै गाउँले भरिएको मेरो देश जबसम्म बन्दैन तबसम्म देशविकास कोरा कल्पना मात्र हुनेछ भन्ने कुराको महसुस पनि हुन थालेको छ। शिकोकु टापुमा रहेको नागोरो गाउँ नेपालका सयौँका सङ्ख्यामा रहेका गाउँहरू जस्तै लाग्छ। के हामीले पनि हाम्रा गाउँबस्तीहरूलाई सजीवता राख्न र पर्यटकहरूलाई लोभ्याउन आयोनोले गरेझैँ गुडियाहरू राख्न पर्ने भयो। प्रतीकात्मक रूपमा पनि के हाम्रा गाउँबस्तीहरूमा मानवीय अवस्थिति न्यून हँदै गएको हो र मानिसहरूको त्यो अवस्थिति पूरा गर्न गुडियाहरूको सहारा त लिनु पर्ने होइन ? गाउँकेन्द्रित विकास, रोजगारी, कृषि आदिलाई बढवा नदिने हो र दुर्गम गाउँबस्तीहरूलाई दुर्गम नै राखिरहने हो भने हाम्रा गाउँबस्तीहरू जापानको पुरानो नागोरो गाउँ जस्तै उजाड उजाड हुने त होइन यसतर्फ समयमै ध्यान दिन जरुरी छ।
हुन पनि आयोनो सान तिमीले गुडियाहरू निर्माण गर्ने क्रममा आफ्नो सीपलाई यसरी प्रस्तुत गरेकी छ्यौ कि यी गुडियाहरू साँच्चीकै केही काम गर्न तल्लीन छन् भन्ने लाग्छ। टाउकोमा हेलमेट लगाएर, शरीरमा ज्याकेट लगाएर बाटोको रेलिङ् नजिक साइकल डोऱ्याइरहेको अवस्थाको गुडिया कुनै सजीव पुरुषको छनक दिन हदैसम्म सफल देखिन्छ। तिमीले बनाएको आमाछोरीको एकै ठाउँमा राखिएको गुडियाले आमाछोरीको मेलमिलापमय प्रेम झल्किएको देखाउँछ। घरको बरण्डामा राखेको यो दृश्यले ग्रामीण जीवनको पनि उस्तै मिठास प्रदान गर्दछ। यति जीवन्त तस्बिर बनाउन उत्साही हुने तिमी कति महान् हँ ? तिम्रो मिहिनेतको जीवन्त तस्बिर आँखामा नाचिरहेको छ। हातमा घाँस काट्ने खुर्पा लिएकी र परालको भारी बोक्न लागेकी दुरुस्त वृद्ध महिलाको आकृतिको गुडियाले महिलाको यथार्थ चित्रण गर्नुको साथै खेतबारी उजाड छैनन् खनीखोस्री भइरहेको छ भन्ने भान हुन्छ। नदीमा माछा मार्दै गरेको तिम्रो अर्को दृश्यचित्र पनि कम मनमोहक छैन आयोनो सान। यी दृश्यचित्र हेर्ने सबै मानिसहरूलाई छुट्टै आनन्द प्रदान गर्दछ।
तिम्रो यो कामको तारिफ त छदैँ छ, तिम्रो देशको संस्कृतिसँग मेरो देशको संस्कृतिका केही पाटाहरू पनि मिलेको देख्दा म हर्षले विभोर बनेँ आयोनो। शरीर र स्वास्थ्यको ख्याल राख्दै नौ थरिका गेडागुडी मिसाएर हामी नेपालमा ‘जनैपूर्णिमा’ पर्वमा क्वाँटी खाएजस्तै ‘उनागी’ नामक माछाको परिकार खाई तिमीहरूले मनाउने ‘दोयोउनोउसी’ पर्व मिल्दोजुल्दो रहेछ। मृत आत्माको स्मरण गर्दै नेपालको गाईजात्रा पर्व, बितेर गएका आफ्ना पुर्खाको स्मरण गर्दै मनाइने जापानको ‘ओबोन’ पर्वसँग मिल्दोजुल्दो रहेछ। यसैगरी नेपाली महिलाहरूले मनाउने तीज पर्व र जापानमा छोरीको सुस्वास्थ्य र सुखद सफल वैवाहिक जीवनको कामना गर्र्दै मनाउने ‘हीना माचुरी’ अर्थात पुतली चाडसँग पनि मिल्दोजुल्दो रहेछ। यी त केही उदाहरण मात्र हुन् आयोनो अरू थुप्रै चाडपर्व र संस्कृतिका कुरा पनि छन् र जसलाई मनाउने तौरतरिका फरक छन् तर त्यसको आशय एउटै रहेको पाइन्छ बुझ्यौ ?
दुवै देशका जनताले बोल्ने कतिपय शब्दहरू पनि चाखलाग्दा छन्। जस्तैः तोरी, माकुरा आदि यी शब्दहरू जापानीहरूले बोल्ने गर्दछन्। शब्दका उच्चारण एउटै तर अर्थ भने फरक छन्। तोरी नेपालमा सागसब्जीको एक परिकार हो भने जापानीमा तोरी भन्नाले चरा भन्ने बुझिन्छ। त्यस्तै माकुरा भनेको जापानी भाषामा सिरानी हो भन्ने बुझिन्छ भने नेपाली भाषामा एउटा कीराको नाम हो। जापान र नेपाललाई नजिक्याउने संस्कृतिका अरू पनि थुप्रै पाटा छन्। खोतल्दै जाँदा जापान र नेपालको संस्कृतिको पाटो मितेरी लगाएजस्तो रहेछ। तिम्रो देशसँग मेरो देश नेपालको औपचारिक दौत्यसम्बन्ध सन् १९५६ सेप्टेम्बर १ मा गाँसिएको रहेछ। औपचारिक रूपमा नेपाली र जापानीबीचको आपसी प्रेम, सद्भाव र भेटघाटले भने ११४ वर्ष नै नाघेछ। आज शान्तिका अग्रदूत गौतम बुद्धको देश, विश्वको अग्लो सगरमाथाको देश अनि सूर्योदयको देश जापानबीचको सम्बन्ध राष्ट्रिय तथा जनस्तरमा निकै प्रगाढ बन्दै पनि गइरहेको छ। अहिले जापानबाट नेपाल घुम्न आउने जापानी र जापानमा पढ्न, भ्रमण गर्न तथा रोजगारीका लागि आउने नेपालीहरूको संख्या दिनप्रतिदिन बढिरहेको छ। विकासका दृष्टिले यी दुई राष्ट्रमा धेरै ठूलो असमानता छ तर भौगोलिक स्थिति, सामाजिक परिवेश र साँस्कृतिक हिसाबले नेपाल र जापानबीच निकै समानताहरू रहेको अनुभूत गरेँ।
मेरो देशमा दुई वर्ष अघि गएको विनाशकारी भूकम्पले केही जिल्लाका गाउँबस्ती उजाड बनेका छन्। कतिपय जग्गाधनीहरू भूकम्पमा परेर बितेका कारण खेतबारीहरू बाँझा भएका छन्। ती खेतबारीहरू खनजोत गरेर हराभरा बनाउन नागोरो गाउँकै उदाहरण पो लागू गर्न सकिन्छ कि ? नागोरो गाउँका गुडियाहरू मानिसको आकृतिमा कतै बसेका, कतै उठेका, कतै सँगै बसेर भलाकुसारी गरिरहेका, ट्रेन स्टेशनमा ट्रे्न पर्खिरहेका, स्कुलका बच्चाहरू कक्षा कोठामा बसेर आफ्ना शिक्षक पर्खिरहेका देखिन्छन्। कतिपय गुडिया हिँड्ने अवस्थामा जस्तो देखिन्छ त कतिपय खेतबारीमा भारी बोक्दै गरेको जस्तो लाग्छ। कतिपय गुडियाले खेतीबाली हेरिरहेका छन् त कतिपयले खनजोत गरिरहेका आदि फरक फरक अवस्थाहरूको चित्रण कति जीवन्त है आयोनो ? गुडियाको साथमा अन्य चीजहरू साइकल, परालको भारी, कुटो कोदालो आदि समेत समावेश गरेर र सोअनुसारको मुखाकृत झल्किने हिसाबले सिङ्गो गाउँमा सजीवता ल्याउने तिम्रो प्रयास कति पृथक है ? विशाल हृदयकी कर्मशील र संवेदनशील भावनाकी खानी आयोनो तिमीलाई मेरो हृदयदेखि नै कोटिकोटि सलाम।