विषालु च्याउले लियो छ जनाको ज्यान - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

विषालु च्याउले लियो छ जनाको ज्यान



रामपुर

पाल्पाको निस्दी गाउँपालिकामा जङ्गली च्याउको तरकारी पकाएर खाँदा बिरामी परेकामध्ये ६ जनाको ज्यान गएको छ। अघिल्लो शुक्रबार च्याउ खाँदा केही बिरामी परेका थिए। जङ्गली विषालु च्याउ पकाएर खाएकामध्ये निस्दी – ३ सार्कीडाँडाकी नौ वर्षीया निर्मलासिंह ठकुरी, चार वर्षीय विष्णुसिंह ठकुरी, सात वर्षीय सुमनसिंह ठकुरी, निशासिंह ठकुरी, निरुतासिंह ठकुरी र ४५ वर्षीय पुरन खाम्चाको मृत्यु भएको जानकारी सङ्घीय सांसद दलबहादुर रानाले दिए।

बिरामी परेकामध्ये  निर्मलाको मध्यविन्दु अस्पताल नवलपरासी, विष्णुको पुरानो मेडिकल कलेज भरतपुर तथा अन्यको काठमाडौँका विभिन्न अस्पतालमा मृत्यु भएको हो। नजिकैको जङ्गलबाट खोजी ल्याएको च्याउ पकाएर खाएका सार्कीडाँडाका ११ जना बिरामी परेका थिए। बिरामीहरू नवलपरासीको मध्यविन्दु अस्पताल, मनकामना अस्पताल तथा पुरानो मेडिकल कलेज भरतपुर, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँ र काठमाडौँका विभिन्न अस्पतालमा उपचाररत छन्।

बिरामी परेका ८० वर्षीय प्रेमसिंह ठकुरी भने उपचारपछि घर फर्केका छन्।  ३६ वर्षीया चनकुमारी खाम्चा, उनकी छोरी १५ वर्षीया विमला, ३० वर्षीया दानमायासिंह ठकुरी र  धनकुमारी सिंहको सघन उपचार कक्षमा उपचार भइरहेको बताइएको छ।

सार्कीडाडाँका पाल्पा सदरमुकाम तानसेनदेखि करीब ७० किमी पूर्व विकटमा पर्छ। त्यहीँका चार परिवारका सदस्य बिरामी परेका हुन्। रानाले गृह मन्त्रालयबाट मौखिक निर्णय गराई बिरामीको निःशुल्क स्वास्थ्योपचारको पहल गरिएको जानकारी दिए।  बिरामी तथा ज्यान जानेको परिवारलाई दिइने सहयोग तथा उनीहरूको स्वास्थ्य अवश्ताबारे छलफल आज का.वा. प्रधानमन्त्री ईश्वर पोखरेलसँग हुने सांसद रानाले बताए।

कमजोर आर्थिक अवस्था भएका बिरामी परिवारलाई भेट्न अस्पतालमा पुग्नुभएका सांसद रानाले मृतकका परिवारलाई उचित राहत प्रदान गर्न र बिरामीको सबै स्वास्थ्योपचार सेवा सरकारबाट व्यहोर्न पहल गरिएको जानकारी दिए।

(रासस)