तीन लघु कविता – बिउँझनु, जीवन बोध र प्रेम
-सुलोचना मानन्धर
बिउँझनु
बिउँझनु नै रहेछ
बाँच्नु
नबिउँझेको भए
निद्रा र तन्द्रामै
दिनहरू बित्ने रहेछन्
र
तीसँगै मरिने रहेछ आफैँ पनि !
-0-
जीवन बोध
काँचो माटोको डल्ला
हातमा राख्दा
बल्ल बोध भयो मलाई-
अलिकति बेहोसी
र सानो भुलले पनि
जिन्दगी बेरूप हुँदो रहेछ !
-0-
प्रेम
न आकार
न शब्द
अनुभूति भएर हृदय भर्ने
आशाको स्पर्श भएर ममा भरिने
के होला ?
मैले त त्यसलाई
प्रेमको नाम दिएँ !
-0-