कविता : ठोक सलामी ए मलामीहरू हो ! - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

कविता : ठोक सलामी ए मलामीहरू हो !



~राजबाबु श्रेष्ठ ‘सागर’~

मेरो देश दुखिरहेछ ऐय्या ऐय्या गर्दै
तर यहाँ लाखौँ मलामीहरूको भीडमा
बर्दी लगाएर सलामी ठोकिरहेछन्
बेजान मुर्दालाई ।

ए मलामीहरूको भीडमा
सलामी ठोक्ने बर्दीहरू हो !
आऊ मलाई बुटैबुटले ठोक
हो मलाई बुटैबुटले कुट्नु पर्छ
किनकि, मेरो दोष यत्ति मात्रै हो
म देश काँधमा बोकेर हिँड्ने एक भरिया हुँ ।

हो म बोक्छु, मेरो आफ्नो देशलाई
मुटुमा बोक्छु
छातीमा बोक्छु
शीरमा बोक्छु
जब बोक्छु आँखामा देशलाई
तब बग्छ कर्णालीझैँ देशसँगै आँखा ।

ठोक सलामी, अझै ठोक
देशको पुच्छरबाट लुछ्दै
मुटु कलेजो सबै खान भ्याउने
धारिला दाँतभएका ब्वाँसाहरूलाई
जिउँदो हुँदा पनि ठोक सलामी
मरेपछि पनि ठोक सलामी
पड्काऊ सलामीको तोप डरको देहावसान हुनेगरी
र चलाऊ बुल्डोजर भर्खरै जन्मिएका
शिशु विचारहरूमाथि
तर देशको छातीमाथि बसेर विष्ट्याउनेहरूलाई
सलाम गर र ठोक सलामी नै सलामी
जिउँदो हुँदा पनि ठोक सलामी
मरेपछि पनि ठोक सलामी ए मलामीहरू हो ।

एक दिन देशै बिक्री हुनेछ
एक ठूलो ठेकेदारको हातमा
त्यो दिन आर्यघाट पनि स्वत बिक्री हुनेछ
फेरि त्यो दिन कुन चितामा सुताएर
आफ्नै देश चपाउनेहरूलाई
सलामी ठोक्छौ ए मलामीहरू हो ?
मलाई जबाफ चाहियो,
ए सलामी ठोक्नेहरू हो ?
मलाई जबाफ चाहियो ।
-0-