कविता : जेफाले - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

कविता : जेफाले



~बिकेश कविन~

हावे बाजे,
तिमी किम्वदन्तीको पात्र भएर
जनजनको मनमनमा बसेका छौँ ।


तिम्रै हावेचौरमा बसेर
मीठो हावा खाँदै
आफ्नो मनको पानामा लेखिरहेछु-
हावेचौरको इतिहास
बिहीबारे बजारको अद्भूत आत्मीयता
पाथीभरा देवी मन्दिरको कथा
गुराँस र सुनाखरीको प्रेम
ग्रिन टिको स्वाद
हजार पचिस सिँढीका पाइलाहरू
जेफाले डाँडाको अलौकिकता
जेफाले भ्यूटावरको चपलता
उन्नाइस सय असी मिटरमाथिको स्याहा….स्याहा !!!

हावेचौरमा बसेर
कोरिरहेछु
तिम्रो सुन्दर मुहारको चित्र ।

हावे बाजे,
महसुस गर्न सक्छु म
भ्यूटावरमा
स्वागत गर्ने तिमी नै हौ
पहाडले गाइरहेका ती गीतहरू
तिम्रै हुन्
देखिने सबैकुरा तिम्रै हो
नदेखिने सबैकुरा तिम्रै हो
यो भूमि तिम्रै हो
यहाँको अलौकिक आभा तिम्रै हो ।

हावे बाजे,
तिम्रो चरणकमल ढोगेर
कृत्कृत्य भएको छु
धन्य धन्य भएको छु ।

[जेफाले: पूर्वी नेपालको मोरह जिल्लाको सबैभन्दा उत्तरी पहाडी भेगमा पर्ने सानो गाउँ जुन अहिले पूर्वको पर्यटकीय हबका रूपमा विकास भइरहेको छ । जेफाले लिम्बू भाषाको ‘जेफालो’ शब्दको अपभ्रंश हो जसको अर्थ हुन्छ- ‘अप्ठ्यारो थाप्नु’ ।]

 

©बिकेश कविन
इमेल: [email protected]
ट्वीटर: @bikesh_kabin