कविता : छोराको गृहकार्य - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

कविता : छोराको गृहकार्य



-बद्री भिखारी

फोटाहरू थिए एल्बममा

केही झिकेछ
केही इतिहासका पानाहरूबाट निकालेछ ।

नभेटिएका केही अनुहारमाथि
स्केच उतारेछ ।

पृथ्वीजस्तै नीलो ‘ड्रइङ पेपर’ मा
जोडेछ, टाँसेछ ।

केही डर, केही सङ्कोच
अव्यक्त खुसी
मनभरि बोकेर बसेको रहेछ ।

ऊ बसेको कोठामा हेरेँ –
यलम्बर
गौतम बुद्ध
विद्यापति
अंशुवर्मा
पृथ्वीनारायण
भानुभक्त
पासाङ ल्हामु

थुप्रैथुप्रै थिए फोटाहरू ।

स्कुलको गृहकार्य नै थाती राखेर
यिनै फोटाहरूबाट
बनाएछ उसले देशको नक्सा !!

(समुद्र साउतीबाट)