समितिको निर्णय मान्दैनौँ, आइफा नेपालमै गर्छौँं - प्र.म.ओली - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

समितिको निर्णय मान्दैनौँ, आइफा नेपालमै गर्छौँं – प्र.म.ओली



काठमाडौँ 

२०औँ संस्करणको इन्टरनेशनल इन्डियन फिल्म एकाडेमी अवार्ड (आइफा) नेपालमै हुने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्।

नेकपा अध्यक्षसमेत रहेका ओलीले शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आइफा अवार्ड नेपालमा गर्न वार्ता चलिरहेकाले कसैले अनधिकृत निर्देशन दिँदैमा नरोकिने स्पष्ट पारे।

उनले भने, ‘मन्त्रिपरिषद्ले न्यून लागतमा धेरै प्रतिफल पाउनेगरी आइफा अवार्ड गर्ने निर्णय गरेको छ। त्यसका लागि सरकारले बजेट छुट्याउने निर्णय गरेको छैन। आइफा अवार्ड गर्न इजाजत समेत नदिइसकेको अवस्थामा बार्गेनिङ चलिरहेका बेला कसै कसैले अनधकिृत रूपमा रोक्ने आदेश दिए।’ उनले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिप्रति इङ्गित गर्दै अनधिकृत निर्देशन दिएको बताएका हुन्।

उनले अगाडि भने, ‘सरकारले अहिले पनि वार्ता गरिहको छ। राम्रो र अनुकूल अवस्था हेरेर आइफा अवार्ड नेपालमा आयोजना हुन्छ । नेपाललाई फाइदा हुनेगरी हामी आयोजना गर्छौँ।’

सन् २०२० मा २० लाख पर्यटक ल्याउने योजना बनाइएको बताउँदै ओलीले एकै वर्ष १२ लाखबाट ८ लाख बढाउने अभियानमा सरकार जुटेको सुनाए । उनले भने, ‘२० लाख पर्यटक ल्याउन काम भइरहेको छ । भैरहवा एयरपोर्ट, पोखरा एयरपोर्ट बन्दैछ। त्रिभुवन विमानस्थललाई बुटिक एयरपोर्टका रूपमा विकास गर्दैछौँ। पर्यटक ल्याउने कुरामा हामी प्रतिवद्ध छौँ।’