प्रधानमन्त्री पेटभित्रै फुटेको थियो एपेन्डिसाटिस: रगतमा संक्रमणको खतरा - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

प्रधानमन्त्री पेटभित्रै फुटेको थियो एपेन्डिसाटिस: रगतमा संक्रमणको खतरा



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य भएको हल्ला फ़ैलाइए पनि गम्भीर रहेको खुलेको छ । एपेन्डिसाइटिसको शल्यक्रिया गरेका ओलीको अहिले भेन्टिलेटरमा राखेर उपचार भैरहेको बताइएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भेन्टिलेटरमा राखेर उपचार भएपनि शल्यक्रियापछि कुनै प्रकारको जटिलता नथपिएको बताएका छन्। तर, स्रोतले भने अवस्था जटिल भएरै भेन्टिलेटरमा राखिएर उपचार गरिरहेको बताएको छ ।

यता अस्पताल र प्रधानमन्त्रीको सचिवालयले भने अपरेसनपछि कुनै प्रकारको जटिलता नथपिएको जनाएको छ। तर, स्रोतले भने प्रधानमन्त्री ओलीको एपेन्डिसाटिस पेटभित्रै फुटेको र त्यसको कारण संक्रमण भएको बताएका छन्। प्रधानमन्त्री ओलीलाई संक्रमण रोक्नका लागि एन्टिबायोटिक चलाइएको थियो।

अस्पताल स्रोतका अनुसार, प्रधानमन्त्रीको स्वास्थ्यमा अन्य नियमित जटिलताको कारणले समस्या आउने हो की भन्ने चिन्ता डाक्टरहरूमा रहेको बताइएको छ ।

शल्यक्रिया गर्नुअघि नै एपेन्डिक्स फुटेर प्रधानमन्त्रीको पेटमा व्यापक संक्रमण (पेरिटोनिटिस) भएको थियो।

प्रधानमन्त्रीलाई पेरिटोनिटिस भएपछि चिकित्सकहरूको टोलीले निरन्तर निगारानीमा राखेका छन्। पेरिटोनिटिस भएपछि सास फेर्न गाह्रो हुन्छ।

पेटमा भएको संक्रमण रगतमा पुगेको खण्डमा त्यसले थप जोखिम निम्तिन सक्छ । रगतमा संक्रमण पुगेको अवस्थामा त्यसले शरीरका विभिन्न अंगहरू ‘फेल’ हुने सम्म हुनसक्ने स्रोतको दाबी छ ।

सोमबार रातिदेखि पेटमा पीडा भएपछि प्रधानमन्त्री ओलीको मनमोहन कार्डियोथेरासिस भल्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार मध्यान्ह एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो।

१२ वर्षअघि भारतमा प्रत्यारोपण गरिएको मृगौलाले कम काम गरेपछि प्रधानमन्त्री ओलीको कार्तिक यता चार पटक डायलासिस भैसकेको छ। पछिल्लो डायलासिस शनिबार गरिएको हो।