पाँच नम्बर प्रदेशमा अपायक राजधानी बनाउने पावरवाला ! - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

पाँच नम्बर प्रदेशमा अपायक राजधानी बनाउने पावरवाला !



बुटवल । सरकारकै शहरी विकास मन्त्रालय, सरकार स्वयम्ले गठन गरेको संसदीय समितिले समेत पाँच नम्बर प्रदेशको राजधानी सबै दृष्टिले दाङलाई प्रस्ताव गरेतापनि पावरवालाहरु भने अपायकमा राजधानी तोक्न उद्धत देखिएका छन् । उनीहरु सिङ्गो पाँच नम्बर प्रदेशका जनताको सुविधाका लागि भन्दा पनि भेगीय र क्षेत्रीय संकुचित मानसिकताले ग्रसित बनेर प्रदेशको छेउँमा पर्ने बुटवललाई अस्थायी मुकाम घोषणा गराउन कम्मर कसेर लागेका छन् ।

यसका लागि पहिलो पावरवाला एवं प्रधानमन्त्री शेरबहादुर देउवा देखिएका छन् । उनले निवर्तमान उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँगको कुराकानीमा बारम्बार दाङलाई राजधानी बनाउने कुरामा सहमति जनाए पनि पछिल्लो चरणमा पूर्वरक्षामन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणको प्रभावमा आएका छन् । बालकृष्ण खाण सिङ्गो प्रदेशको सर्वाङ्गीण हितभन्दा पनि बुटवल केन्द्रित भावनाले काम गरिरहेको स्रोतले बतायो ।

त्यस्तै, भारतका लागि पूर्वराजदूत तथा प्रतिनिधिसभा निर्वाचनमा कपिलवस्तुबाट पराजित दीपकुमार उपाध्याय पनि दाङ राजधानी हुन नदिने पक्षमै देखिएका छन् । एमालेका उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल तथा सचिव प्रदीप ज्ञवाली पनि पहिलेदेखि नै बुटवल राजधानी बनाउने पक्षमै कस्सिएर लागेका छन् । उता, सरकारका स्वास्थ्यमन्त्री दीपक बोहरा पनि बुटवलकै पक्षमा लविङ गरिरहेको उच्च स्रोतले बतायो ।

यता, दाङलाई राजधानी तोक्दा सिङ्गो प्रदेशको केन्द्रविन्दुमा पर्ने, सबै जिल्लालाई न्याय हुने, सरकारी संयन्त्रहरुले पनि दाङलाई नै प्रस्तावित गरिसकेको, उच्च अदालत र प्रहरीको प्रदेश कार्यालय दाङमै बसिसकेको जस्ता कुरा उठाउँदै दाङको पक्षमा आवाज उठाउनेहरु कमजोर देखिएका छन् । विशेषतः माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि कृष्णबहादुर महरा स्वतः उपप्रधानमन्त्रीबाट बाहिरिए । उनले सरकार छोडेपछि दाङको पक्ष अलि कमजोर देखिएको हो । महरा र दाङबाट प्रदेशसभामा एक्ला विजयी डिल्लीबहादुर चौधरीले दाङकै पक्षमा लविङ गरिरहेका छन् यद्यपि बुधवार बिहान बसेको मन्त्रिपरिषद् बैठक निष्कर्षविहीन भएर टुंगिएको छ । दिउँसोको बैठकले के निर्णय गर्ने हो ? प्रतिक्षाको विषय बनेको छ ।

उता, दाङलाई राजधानी नतोक्ने षडयन्त्र भएको सुइँको पाएपछि दाङवासी अनिश्चितकालीन बन्दको घोषणा गरेर आन्दोलनमा उत्रिएका छन् । पूर्वपश्चिम राजमार्ग, सदरमुकाम घोराही, तुलसीपुर, नारायणपुर, गढवा, लमही, भालुवाङ लगायतका बजार ठप्प छन् भने आन्दोलनकारीहरु सडकमा उत्रिएका छन् ।