‘पठान’को कीर्तिमानी कमाई- सुल्तान र बाहुबली–२ को रेकर्ड ब्रेक - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

‘पठान’को कीर्तिमानी कमाई- सुल्तान र बाहुबली–२ को रेकर्ड ब्रेक



बलिउड फिल्म ‘पठान’को कीर्तिमानी कमाई तेस्रो दिन पनि उस्तै देखियो। ट्रेड एनालिस्ट तरण आदर्शको रिपोर्टका अनुसार ३ सय करोड नजिक पुगेको छ। फिल्मले आइतबार ५० करोडभन्दा बढी कलेक्सन गर्ने अनुमान गरिएको छ।

रिपोर्टका अनुसार फिल्मले तेस्रो दिन विश्वभर ८० देखि १०० करोड कलेक्सन गरेको छ। फिल्मले विश्वव्यापी बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ। दुई दिनमा २ सय २० करोड कलेक्सन गरेको थियो।

बक्स अफिस इन्डिया रिपोर्ट अनुसार फिल्मले तेस्रो दिन ८० देखि १०० करोडको व्यापार गरेको छ। यस अनुसार फिल्मको कुल कमाई ३ सय करोड पुगेको छ।

पठानको पहिलो तीन दिनको विश्वव्यापी संग्रहलाई हेर्दा यसले सलमान खानको सुल्तान र बाहुबली–२ को हिन्दी संस्करणलाई पछाडि छोडेको छ। पहिलो तीन दिनमा सुल्तानले २१० र बाहुबली–२ हिन्दी संस्करणले २०९ करोड कमाएको थियो।

पठानले पाँच दिन लामो विकेन्ड पाएको छ । यो फिल्म गणतन्त्र दिवसको एक दिन अगाडि रिलिज भएको थियो। फिल्मको कलेक्शन हेर्दा शाहरुख खानको फिल्मले मौकाको राम्रो सदुपयोग गरेको भन्न सकिन्छ।

प्रारम्भिक तथ्यांक हेर्दा फिल्मले शनिबार र आइतबार ५०-५० करोडभन्दा बढी कलेक्सन गर्ने मौका छ। यदि फिल्मले त्यसो गर्न सफल भएमा फिल्मले ओपनिङ सातामै कमाईको नयाँ रेकर्ड बनाउन सक्छ।

पठान विश्वभर ८ हजार स्क्रिनमा रिलिज भएको छ। यो फिल्म हिन्दी, तमिल र तेलुगु सहित ५५ सय स्क्रिनमा रिलिज भएको थियो। योसँगै फिल्मले विदेशमा २५ सय स्क्रिन पाएको छ।

सुरुमा ५ हजार २ सय स्क्रिनमा रिलिज भएको फिल्मको क्रेजलाई मध्यनजर गर्दै थप ३ सय स्क्रिन बढाइएको हो। पठानको रिलिजसँगै कोभिडको समयमा बन्द भएका २५ सिंगल स्क्रिन पुनः खोलिएका छन्। यसको जानकारी शाहरुख आफैले आफ्नो सामाजिक सञ्जालमार्फत पनि दिएका छन्।

चार वर्षपछि शाहरुख खान ‘पठान’ मार्फत सिल्वर स्क्रिनमा फर्किएका हुन्। उनी पछिल्लो पटक २०१८ को फिल्म ‘जिरो’ मा देखिएका थिए। यो फिल्म बक्स अफिसमा फ्लप भएसँगै शाहरुख फिल्ममा देखिएका थिएनन्।