‘स्टे सेफ’ (पठाइदे-२)
-हेमन्त गिरी
बाबाको फोन आयो
जुन भन्दा मधुरो घाम देख्नुभएछ सायद
‘कांध पाटियो केटा’ भन्नुभएन यसपाली
‘आफ्नो ख्याल राखेस्’ भन्नुभयो !
संगिनीको फोन आयो
सिन्दूर किन्न संसार नचाहिने बुझिछन कि खै
छुट्टै पैसा पठाउने आदेश गरिनन यसपाली
‘सुरक्षित रहनूहोला’ भनिन !
भाईको फोन आयो
दृश्यहरू दह्रीला भेटेनछ क्या हो केटोले
क्यामेंराको बलियो ‘स्ट्यान्ड’
मगाउने पालो थियो यसपाली, मगाएन
‘स्टे स्ट्रोङग’ भन्यो !
बैनीले पनि फोन गरी
खबर पढ्ने र बुझ्ने भइछे नक्कली पनि
‘लेटेस्ट मोडल’ मागिन यसपाली
‘बाहिर ननिस्किनू है’ भनी गाली गरी !
दिदीले सायद समय चिन्नुभो क्यार
भिनाजुको इज्जतको कुरा गर्नुभएन
मेरो स्वास्थ्यको चिन्ता गर्नुभो !
‘यो बेलाको लगानी, बालूवामा पानी’
सायद दाईले यस्तै सोंचेर भन्नुभो-
‘ज्यान रहे कमाइन्छ, आफ्नो ख्याल राखेस् !’
साथीभाईलाई कालो बोतल
समाजसेवीलाई एक प्रति फोटो र केही प्रति कागज
सरकारलाई केही मूठा रेमिट्टेन्स
अनि
समाजलाई अग्ला घर र गाडी !
…केही पनि चाहिएनन रे यसपाली !
आमाले लुकेर
‘देखिने फोन’ गरिन एकदिन !
केही बोलिनन
एकोहोरो हेरी मात्र रहिन
हाँस्न खोजे झैं पनि गरिन
रून नखोजे झैं पनि गरिन
न ‘आफ्नो ख्याल राखेस्’ भनिन
न ‘स्टे सेफ’को ‘सर्टकट’ नै प्रयोग गरिन !
हेरिरहिन,टोलाइरहिन
थाहा नपाइने गरी आँखाहरू भिजाएर
थाहा पाइने गरी,
नबोलेरै बोलाइरहिन…!
लण्डन जाओस्, चाहे अमेरिका
जापान बसोस्, चाहे कोरिया !
प्रत्येक समय त्रासदीमा
हरेक अकाल अनि बिपत्तीमा
आमा नै त हुन एउटी डाक्टर
जसलाई राम्रो संग थाहा हुन्छ-
उनको काख भन्दा पर
कुनै सन्तान सुरक्षित हुँदैन संसारमा !
…केही समय भयो,
आमा अचम्म संग मौन छिन !!
-हेमन्त गिरी, जापान