पशुपतिनाथको सुनको जलहरी प्रकरण- भेटियो १०६ किलो सुन - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

पशुपतिनाथको सुनको जलहरी प्रकरण- भेटियो १०६ किलो सुन



काठमाडौं- पशुपतिनाथको शिवलिङ्गमा राखिएको सुनको जलहरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापतौल र गुणस्तर (क्यारेट) परीक्षण गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र पशुपति क्षेत्र विकास कोषको रोहवरमा पशुपतिनाथ मन्दिरभित्र राखिएको जलहरी नापतौल र परीक्षण गरेको हो।

सुनको जलहरी नापतौल र परीक्षण गर्न पशुपतिनाथ मन्दिरको उत्तरतर्फ रहेको रुद्रगारेश्वरमा ल्याइएको छ। जलहरीको निर्माण सोही स्थानमा गरिएको थियो।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाका अनुसार जलहरी, जलहरीमा लगाइएको दुई थान पेटिकासमेत गरी जम्मा १ सय ६ दशमलव ४३२५ (१०६. ४३२५) किलोग्राम सुन देखिएको छ। सुनको जलहरी कस्नलाई बनाइएका काँटीको नापतौल १.३७५ किलोग्राम देखिएको छ। सुनको गुणस्तर परीक्षणमा २२ क्यारेटको सुन जलहरीमा प्रयोग भएको पाइएको छ।

पशुपतिनाथ मन्दिरमा राखिएको जलहरीमा सुनको विषयलाई लिएर विवाद हुँदै आएको छ। संसदमा समेत पशुपतिनाथ मन्दिरमा सुन भनेर पित्तलको जलहरी राखिएको भन्दै विवाद भएको थियो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा पशुपतिनाथमा सुनको जलहरी राख्ने निर्णय भएको थियो। सो निर्णय अनुसार तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले १२ फागुन ०७७ मा सुनको जलहरी अनावरण गरेकी थिइन्।