प्रतिनिधिसभा बैठक एक हप्ताका लागि स्थगित - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

प्रतिनिधिसभा बैठक एक हप्ताका लागि स्थगित



हिमालपोस्ट/काठमाडौँ-

आज १ बजेका लागि डाकिएको प्रतिनिधिसभाको बैठक सूचनामार्फत् साउन ८ गतेका लागि सारिएको हो। प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले सांसदहरू बाढी र पहिरो पीडितलाई राहत र उद्धारमा जुट्नुपर्ने भएकाले बैठक स्थगित गरिएको जानकारी दिए।

उनले  भने, ‘सांसदहरू राहत र उद्धारका लागि जिल्ला जानुपर्ने भएकाले बैठक स्थगित भएको हो।’

प्रतिनिधिसभाको अघिल्लो बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका कारणले अवरूद्ध भएको थियो।

सर्लाहीमा कुमार पौडेल र सरोजनारायण सिंह हत्याका विषयमा गृहमन्त्रीको जबाफ चित्तबुझ्दो नभएको भन्दै काङ्ग्रेसले संसदीय छानबिन समितिको माग गर्दै आएको छ। जबकि सत्तारूढ नेकपाले संसदीय छानबिन समिति गठन गर्न अस्वीकार गर्दै आएको छ।

स्रोतअनुसार आज बिहानै सभामुख कृष्णबहादुर महराले सत्तापक्ष र प्रतिपक्षी दलका सचेतकहरूसँग छलफल गरेका थिए। सो छलफलमा सहमति हुन नसकेपछि बैठक सूचनामार्फत् स्थगित गरिएको हो।

बैठकमा सहभागी एक सांसदले भने, ‘बाढी पहिरो बहाना हो। बैठक स्थगित भएको संसदीय छानबिन समिति गठनमा सहमति नजुटेर हो।’

 -0-