प्रदेश ७ : विपक्षीको मौन समर्थनमा नीति तथा कार्यक्रम पारित - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

प्रदेश ७ : विपक्षीको मौन समर्थनमा नीति तथा कार्यक्रम पारित



धनगढी,कैैैलाली । विपक्षी दलको मौन समर्थनमा प्रदेश ७ सरकारले ल्याएको नीति तथा कार्यक्रम सोमबार संसद्बाट पारित भएको छ । यससँगै चालू आर्थिक वर्षको बाँकी अवधिका लागि बजेट ल्याउने बाटो खुलेको छ।

प्रदेश सभा बैठकमा सभामुख अर्जुनबहादुर थापाले नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा प्रदेश प्रमुख मोहनराज मल्ललाई धन्यवाद ज्ञापन गर्ने प्रस्ताव निर्णयार्थ पेस गरेका थिए । त्यसको विपक्षमा कोही बोलेनन् । सत्तापक्षका सांसद प्रस्तावको पक्षमा बोलेका थिए ।

प्रमुख प्रतिपक्षी सांसद मौन रहेपछि सभामुख थापाले धन्यवाद ज्ञापन प्रस्ताव पारित भएको घोषणा गरे । संसद्बाट प्रदेश प्रमुखलाई धन्यवाद ज्ञापनको प्रस्ताव पारित हुनुलाई नै नीति तथा कार्यक्रम पारित भएको मानिन्छ ।

प्रदेश प्रमुख मल्लले गत २८ चैतमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । २९ र ३० चैतमा त्यसमाथि छलफल भएको थियो । छलफलमा भने कांंग्रेस सांसदले पनि भाग लिएका थिए ।

बजेटको तयारी अन्तिम चरणमा
प्रदेश ७ सरकारले बजेटको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । गत चैत अन्तिम साता नै बजेट ल्याउने तयारी गरेको भए पनि आर्थिक कार्यविधि विधेयक र नीति तथा कार्यक्रम पारित गर्न प्रक्रियागत रूपमा समय लागेका कारण ढिलाइ भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । ‘केही दिनमै अल्पकालीन बजेट ल्याउँछौँ,’ आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले भने ।

प्रदेश सरकारले एक अर्ब दुई करोडको बजेट ल्याउँदै छ । संघीय सरकारले दिएको अनुदानमै आधारित भएर बजेट ल्याउन लागिएको हो ।

प्रतिपक्षीसँग मिलेर काम गर्छौँ

नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशको विकासका लागि प्रतिपक्षसँग मिलेर काम गर्ने बताए ।

‘हामी राज्य व्यवस्थाको नयाँ जग बसाल्दै छौँ र प्रदेशको विकास पनि हामीले नै गर्नु छ । त्यसैले पक्ष–प्रतिपक्ष नभनी मिलेर प्रदेशको विकासमा लागौँ,’ मुख्यमन्त्री भट्टले भने । मिलेर काम गर्न सरकार तयार रहेको उनको भनाइ थियो ।

छोटो अवधिका लागि नीति तथा कार्यक्रम ल्याइएकाले धेरै विषय समेट्न नसकिएको उनले बताए । उनले अहिले छुटेका विषय आगामी वर्षको नीति तथा कार्यक्रममा समावेश गरिने प्रतिबद्धता जनाए ।

थोरै अवधि र सानो आकारमा अल्पकालीन बजेट ल्याउन लागिएकाले जनताले तत्काल राहत महसुस गर्ने खालका कार्यक्रम बजेटमा समावेश गरिने मुख्यमन्त्री भट्टले बताए ।

शिक्षा, स्वास्थ्य, पर्यटन, कृषिलगायतका क्षेत्रमा परिवर्तनको सुरुवात गर्न सकिने खालका कार्यक्रम बजेटमा आउने उनको भनाइ थियो । ‘प्रदेश सरकारप्रति जनताको अपेक्षा बढेको छ । सबै कुरा एकैपटक गर्न सकिँदैन, तर जनताले अनुभूति गर्ने गरी बजेट ल्याउनेछौँ,’ उनले भने । साभार : नयाँ पत्रीका