प्रदेश ७ को मुख्यमन्त्रीमा त्रिलोचन भट्ट नियुक्त
धनगढी, कैलाली । ७ नम्बर प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट नियुक्त भएका छन् ।
संविधानको धारा १६८ को उपधारा दुई बमोजिम प्रदेश प्रमुख मोहनराज मल्लले भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन । मल्लले आज मध्यान्ह १२ बजे भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेको प्रमाणपत्र हस्तान्तरण गरे ।
सपथ ग्रहण फागुन ५ गते हुने प्रदेश प्रमुखको कार्यालयका उपसचिव हिरालाल चौधरीले जानकारी दिए । प्रदेश प्रमुखले मुख्यमन्त्रीका लागि दावी प्रस्तुत गर्न प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुलाई हिजो आह्वान गरेका थिए । हिजो नै वामगठबन्धन सांसदको बहुमत समर्थन सहित भट्टले दावी पेश गरेका थिए ।
उनी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल प्रदेश नम्बर ७ को पहिलो मुख्यमन्त्री बनेका छन् । उनी डोटी जिल्लाबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । मुख्यमन्त्रीमा नियुक्त भट्टको गृह जिल्ला डोटी रहेको छ ।