प्रदेश ७ का मुख्यमन्त्री र मन्त्रीहरु उद्घाटन कार्यक्रममै व्यस्त
मुख्यमन्त्रीको कार्यालय धर्मशाला जस्तो
धनगढी, कैलाली ।
त्रिलोचन भट्टले प्रदेश नम्बर सातको मुख्यमन्त्रीका रुपमा जिम्मेवारी सम्हालेको आज ५८ दिन भयो । प्रदेश सरकारका मन्त्रीलाई प्रभावकारी ढंगले परिचालन गर्नुपर्ने र स्वयम पनि प्रभावकारी ढंगले जनअपेक्षा पुरा गर्न सक्रिय हुनुपर्ने मुख्यमन्त्री त्रिलोचन भट्टको दिनचर्या भने कार्यक्रमहरुको उद्घाटन र अन्तरक्रियामा बित्ने गरेको छ ।
पुस्तक बिमोचनबाट शुरु भएको मुख्यमन्त्रीको कार्यक्रम मोह सांस्कृतिक कार्यक्रम, स्कुल तथा क्याम्पसका वार्षिकोत्सव देखि बिभिन्न अन्तरक्रियामा समेत जारी रहेको छ ।
मुख्यमन्त्री भट्टकै क्रियाकलापलाई अनुशरण गर्दै अन्य मन्त्रीहरुको दिन पनि उद्घाटन र कार्यक्रममा बित्ने गरेको छ । कतिसम्म भने एउटै कार्यक्रममा दुई जना मन्त्री प्रमुख अतिथि समेत बनेर कार्यक्रममा सहभागी भएका छन् ।
एउटा मन्त्रीले प्रमुख अतिथि आसनबाट भाषण सकेर फिर्ता गएपछि अर्को मन्त्रीले प्रमुख अतिथिकै रुपमा आसन मात्र ग्रहण गरेनन । भाषण समेत गरे ।
भाषणमा प्रदेश नम्बर सातको विकास, समृद्धि र आर्थिक क्रान्तिका चर्का कुरा गर्ने मुख्यमन्त्री र मन्त्रीहरुले आर्थिक विकास र समृद्धिका लागि काम गर्नु त टाढाको कुरा आफ्नै कार्यालयको चुस्त व्यवस्थापन गर्न सकेका छैनन ।
नेपाली काँग्रेस डडेल्धुराका सभापति तथा प्रदेश सांसद कर्ण मल्लले मुख्यमन्त्री र मन्त्रीहरुले भाषणमा आर्थिक क्रान्तिका चर्का कुरा गरे पनि व्यवहारमा उल्टा देखिएको गुनासो गरे ।
दिनभरी उद्घाटन र कार्यक्रममा व्यस्त रहने मुख्यमन्त्री र मन्त्रीहरुबाट आर्थिक क्रान्ति हुने कुरा जनताले कसरी विश्वास गर्ने ?सांसद मल्लले प्रश्न गर्दै भने, मन्त्रालयको चुस्त र प्रभावकारी व्यवस्थापन र जनतालाई प्रदेश सरकारको अनुभूति दिन २४ सै घण्टा व्यस्त रहनुपर्ने मुख्यमन्त्री र मन्त्रीहरु एकदम फुर्सदिला छन् । एकैदिनमा तीन चार वटा कार्यक्रमको उद्घाटन र त्यसैमा भाषण गर्नमा व्यस्त छन् ।
मुख्यमन्त्री भट्टले कार्यक्रम भन्दा प्रदेश सरकारको काममा आफू बढि व्यस्त रहेको बताए । नेपालको सिष्टम त्यस्तै हो, काम गरे गरेन भन्ने काम ग¥यो पनि जस नदिने,मुख्यमन्त्रीले उल्टै गुनासो गरे,म प्रदेशकै विकासका लागि सक्रिय छु । उनले कार्यक्रममा मुख्यमन्त्री सबै कार्यक्रममा सहभागी भयो भन्ने सहभागी नभए मुख्यमन्त्री ठूलो भयो भन्ने गुनासो आउने गरेको सुनाए ।
मुख्यमन्त्री भट्टले आफू बाहिरका कुनै कार्यक्रममा नै नगएको १५ दिन जति भएको बताए । यद्दपि मुख्यमन्त्री भट्ट शुक्रवार कैलाली बहुमुखी क्याम्पसको वार्षिकोत्सव समारोहमा सहभागी भएका थिए ।
हामीले थुप्रै काम गरेका छौ । प्रदेश सरकारले अर्थ बिधयेक पास गरेको छ । उनले भने, नीति तथा कार्यक्रम संसदमा छलफलमा छ । बैशाख ५ देखि ७ गतेसम्म बजेट ल्याउदैछौ । उनले प्रदेश सरकारलाई संघियता नै चुनौती भएको बताए । मुख्यमन्त्री भट्टले भने, संघियता नै सबैले बुझेका छैनन । बुझाउनु नै ठूलो चुनौती हो । अर्को साधन,स्रोत र बजेटको अभाव पनि प्रदेश सरकार सञ्चालनका चुनौती हुन् ।
मुख्यमन्त्रीको कार्यालय धर्मशाला जस्तो
मुख्यमन्त्रीको कार्यालयमा मुख्यमन्त्रीले कसैलाई नियुक्त नगरेको बताएपनि ६ जना भन्दा बढि व्यक्ति सधैजसो मुख्यमन्त्रीकै कार्यालयमा हुन्छन ।
स्रोतका अनुसार न त उनीहरु मुख्यमन्त्री कार्यालयका कर्मचारी हुन् । न त नियुक्ती नै पाएका व्यक्ति । तर उनले साधन र स्रोत भने मुख्यमन्त्री कार्यालयकै उपभोग गर्ने गरेका छन् । को आउछन्, को जान्छन, कसले टेलिफोन चलाउछ । कसले कम्प्युटर । त्यसको जानकारी कसैलाई हुदैन, स्रोत भन्छ्, प्रदेश नम्बर सातको मुख्यमन्त्रीको कार्यालयको हालत नै धर्मशालाको जस्तो छ । भने अरुको के हालत होला ।
आफ्नै कार्यालयको यस्तो हालत हुदा मुख्यमन्त्री भने अरु कार्यालय र योजनाको अनुगमन र अवलोकनमा जाने गरेका छन् ।- पश्चिम् टुडे बाट