परवल खेतीबाट राम्रो आम्दानी - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

परवल खेतीबाट राम्रो आम्दानी



कपिलवस्तु । जिल्लाको बुद्धभूमि नगरपालिका–१० धनकौलीको गगनी गाउँका कृषकहरू परवल खेतीबाट राम्रो आम्दानी गर्दै आएका छन् ।
बाणगंगा नदी अन्तर्गत बिजगौरी पुलको दक्षिणतर्फ बगर र आसपास परवल खेती गर्दै एक दर्जन कृषकहरूले सिजनमा ५० हजारदेखि एक लाख आम्दानी गर्दै आएका हुन् । लहरे जातिकारूपमा रहेका परवल खेतीमा बिगत २ दशकदेखि हात हालेका ७० बर्षे कृषक तालेश्वर पासीले ३ बिघा कच्चीमा परवल लगाएका छन् ।

हप्ताको दुई पटक चार क्वीन्टलका दरले परवल बचेर अहिलेसम्म ४० हजार आम्दानी गरेको उनले बताए । तौलिहवा बजारमा मंगलवार र शनिवार लाग्ने हाटबजारमा परवल बेच्दै आएका उनले उप्पादन बढी भएको र भारतीय परवल समेत भित्रिएकाले यस बर्ष अली सस्तोमा माल बिक्री गर्नु परेको गुनसो गरे ।
बिउ मलखाद सिंचाईमा गरी १० हजार लगानी गरेका उनले सरकारले आफूहरूलाई नरहेको गुनासो गरे । ‘ हामी आफ्नै लगानी र बलबुताले परवललगातयका तरकारी उत्पादन गर्दै आएका छौं, सरकारले हाम्रो लागि एक पैसा पनि अनुदान दिएको छैन ’ बृद्ध कृषक पासीले भने । पासीको पूरै परिवार त्यही परवललगायतका तरकारी खेतीमा लागिपरेका छन् । परवल टिपेर बजारमा पठाउने चटारोमा रहेकी तौलेश्वरकी श्रीमति अनाराले यस बर्ष परवलले भाउ नपाएको गुनासो गरिन् । ‘डेढ महिना अघिसम्म ५० देखि ८० सम्म प्रतिकिलो परवल बिक्री हुन्थ्यो अहिले त थोकमा १० देखि १२ रूपैयाँमा बेच्न बाध्य छौं ’ उनले निराश हुँदै भनिन् । परवलसहित खेतमा करेला, लौका, काँक्रो, तिरईसमेत उत्पादन गरी उनीहरूले आम्दानी गर्दै आएका छन् ।
गगनीका अर्का कृषक सिवड मल्लाहले भने अहिलेसम्म २० हजारको मात्र परवल बेचेको बताए । गत बर्ष यही ससमयमा ४० हजारको परवल बचेको उनले यस बर्ष भाउले गर्दा मार खाएको गुनासो गरे । ‘हामीले उत्पादन गरको परवल जिल्ला बाहिर निकासी गर्न पाएका छैनौ, यसका लागि कसैले पहलसमेत गरेका छैन’ खेतमा उत्पादन भएको परवल टिप्दै उनले भने ‘ हामीहरूको समस्या कसैले बुझ्दैनन्’ ।
‘बिउ भारतबाट किनेर ल्याउनु पर्छ सिंचाईका लागि पनि कसैले सहयोग गरेको छैन, हामी भगवानको भरोसामा छौं’ निधारमा आएको पसिना गम्छाले पुछ्दै उनले भने । गगनीका सर्दशन मल्लाहले अहिलेसम्म १० हजारको परवल माि बिक्री नर्ग सकेको बताए । ‘जोताई बिउ, सिंचाई, बिषादीमा धेरै लगानी गर्नु पर्छ, परवलको भाउ सस्तिएमा लगानी अनुसार यस बर्ष भने राम्रो आम्दानी गर्न नसकेको उनले बताए । सरकारले कृषकलाई पेन्सन, अनुदान लगायका विभिन्न योजनाहरू घोषण गरे पनि गगनीका कृषकहरूलाई भने त्यसले नछाएको तालेश्वर पासीले गुनासो गरे । ‘हाम्रो गाउँले परवललगायतका तरकारी उत्पादनमा नाम कमाएको छ तर सरकारले नजर भने यहाँ अझै सम्म परको छैन’ उनले आक्रोशित हँुदै भने । गगनीमा स्थानीय जातको परवल लगाइने गरिएको छ ।
जिल्लामा गगनी खोरिया, बासखोर तिलौरी बलरमवापुरलगायतका गाउँको बगरका परवल खेती हुने गरेको कृषि कार्यालयले जनाएको छ । कृषि कार्यालय अनुसार जिल्लामा ३५ हेक्टरमा परवल खेतीबाट २ सय मेट्रिक टन उत्पादन हुने गरेको छ । कृषि कार्यालयका प्रमुख राकेश ओझाले गगनी परवल खेतीका लागि नमुना रहेको बताए । ‘गगनीमा सिंचाईको ठूलो समस्या छ, अब त्यसको समाधान हुन्छ’ उनले भने । तरकारी जानेको कार्यक्रम लागू भइसकेकाले अब तरकारी उत्पादन, बजारीकरणलगायतका कृषकहरूको धेरै समस्या समाधान हुने उनले बताए ।