‘ढल मिसाएको पानी वितरण’ - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

‘ढल मिसाएको पानी वितरण’



बुटवल । तिलोत्तमा नगरपालिका वडा नं. ५ स्थित ड्राईभर टोलमा रहेको आनन्दवन शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले ढल मिसाएको खानेपानी वितरण गरेको उपभोक्ताहरूले गुनासो गरेका छन् ।

चेम्बरको राम्रो व्यवस्थापन नगर्दा उपभोक्ताहरूले ढलको पानी खानु परेको उनीहरूले गुनासो गरे । बुटवल बेलहिया व्यापारिक आयोजनाले बनाएको नालीको पानी चेम्बरमा गएकाले उक्त पानी चेम्बरबाट उपभोक्ताको घर घरमा पुगेको उपभोक्ता भिमलाल पाण्डेले बताए ।

खानेपानी संस्थालाई बारम्बार यसको मर्मत गर्न आग्रह गरे पनि अटेर गर्दा उपभोक्ताको स्वास्थ्यमाथि संस्थाले लापरबाही गरेको उनले बताए । संस्थाको ठिक अगाडि पश्चिम तर्फ रहेको चेम्बरमा नालीको पानी जाँदा किटाणुहरू समेत पानीमा मिसिएर गएको हुन सक्ने उपभोक्ताको आशंका छ । उक्त पानी १ लाखभन्दा बढी उपभोक्ताले खाने गर्दछन् ।

पूर्वतर्फको चेम्बर सफा भए पनि पश्चिम तर्फको चेम्बरमा लिकेज रहेको र ढलको पानी उक्त पाईपबाट गएको अर्का उपभोक्ता कृष्ण खरेलले बताए ।
यता संस्थाले भने चेम्बरमा नालीको पानी गएको तर पाईपबाट ढलको पानी उपभोक्ता सामु नगएको बताएको छ ।

सडक विस्तार आयोजनाले चेम्बर बनाउनुपर्ने भए पनि नबनाएपछि पछि चेम्बर आफैले बनाएकाले नालीको पानी त्यसमा पर्न गएको संस्थाको भनाई छ । संस्थाका अध्यक्ष केशव न्यौपानेले नालीमा पानी आउँदा चेम्बरमा गएको भन्दै चेम्बरमा कुनै जडान नरहेकाले पानी सत प्रतिशत पाईपमा नगएको बताए ।

उनले चेम्बरमा पानी आउन सक्ने भएकाले प्लाष्टर गरेको भए पनि नरोकिएकाले अब नाली भित्रैबाट चेम्बर साईडमा प्लाष्टर गरेर समस्याको समाधान गर्ने बताए ।