नगर शिक्षा समिति अपारदर्शी बनेको आरोप - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

नगर शिक्षा समिति अपारदर्शी बनेको आरोप



पाल्पा । तानसेन नगरपालिका कार्यालयले भर्ना अभियान सकिएपछि सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई सामुदायिक विद्यालयमा अध्ययन गराउन अनुरोध गरेको छ ।

तानसेन नगरपालिका शिक्षा समितिको २०७४ साल चैत ३० गते बसेको बैठकमा भएको निर्णय कार्यान्वयनका लागि भर्ना अभियान सकिने दिन वैशाख मसान्तमा सबै विद्यालयको नाममा पत्र काटेको हो ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा शाखा प्रमुख रेशमलाल न्यौपानेले औपचारिकताका लागि पत्र काटेको सरोकारवालाहरूको आरोप छ । पत्रमा उल्लेख भएको व्यहोराप्रति सरोकारवालाहरूले गुनासो गर्दै विद्यालयलाई नियमन गर्ने निकायबाट अनुरोध गर्दै लेखिएको पत्रको कुनै अर्थ नभएको बताए ।

नगरपालिकाको शिक्षा समितिको बैठकमा सामुदायिक विद्यालयमा अध्ययन गराउने विषयमा छलफल गर्दा संस्थागत विद्यालयको तर्फबाट समितिमा सहभागीहरूले असहमति राखेका थिए । नेपाल शिक्षक महासंघ तानसेन नगर कमिटिका अध्यक्ष हरिप्रसाद घिमिरेले तत्काल कार्यान्वयका लागि निर्णय भए पनि प्रधानाध्यापकहरूको बैठकमा समेत कुनै कुरा नउठाएकोमा चिन्ता व्यक्त गरे ।

एक सामुदायिक विद्यालयका प्रधानाध्यापकले नाम उल्लेख नगर्ने सर्तमा स्थानीय सरकारले गरेको निर्णय कार्यान्वयनमा भएको ढिलाई शंकास्पद रहेको आरोप लगाए । उनले निर्णय गर्ने तर कार्यान्वयका लागि सम्बन्धित निकायलाई कुनै खबर नगरी बस्नु निर्णय कार्यान्वयभन्दा पनि औपचारिकता केन्द्रित भएको दाबी गरे ।

निर्णय कार्यान्वयनको विषयमा किन ढिला भनेर बुझ्दा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले स्रोत व्यक्तिले खबर गर्नुभयो होला भनेर बसेको तर नगरेकोले ढिला भएको बताए । उनले निर्णयको कार्यान्वयमा चासो नदिएको गुनासो आएपछि पत्र पठाइदिएको जानकारी दिए ।

अध्ययन गर्ने सबै विद्यार्थीहरू भर्ना भैसकेको अवस्थामा छ । समितिको निर्णय कार्यान्वयनका लागि भर्ना अभियान सकिएको दिन पत्रचार गरेपछि यसको कार्यान्वय र नियमनमा नगरपालिकाको भूमिका कस्तो हुन्छ भन्ने विषय पर्ख र हेरको अवस्थामा रहेको सरोकारवालाहरूको बुझाई छ ।

यसैबीच, तानसेन नगरपालिकाले सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षक तथा कर्मचारीले आफ्ना छोराछोरी अनिवार्य रूपमा सामुदायिक विद्यालयमा नपढाए तलब रोक्ने चेतावनी दिएको छ ।
चैत महिनामा गरेको निर्णयलाई कार्यान्वयन गराउन पुनः पत्राचार गर्दै नगर शिक्षा समितिको बैठकमा भएको निर्णय अनुसार नै कार्यान्वयन गराउन पुनः पत्रचार गरेको छ ।

विद्यालयमा विद्यालय व्यवस्थापन समितिबाट समेत यस विषयमा निर्णय गराई कार्यान्वयन गराउन तानसेन नगरपालिका शिक्षा शाखाले पत्रचार गरेको हो । तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीले यस निर्णयलाई अक्षरस पालना नगरे जेठ महिनाबाटै तलब रोक्न सुरु हुने बताए ।

‘आफ्ना छोराछोरी निजी विद्यालयमा लगेर छाडेर आफू सामुदायिक विद्यालयमा पढाउन जाने र अर्काको छोराछोरीको भविष्यमाथि खेलवाड गर्न अब पाइँदैन,’ उनले भने, ‘यो निर्णय नमान्ने जो सुकैको जेठ महिनाबाटै तलब निकासा हु“दैन ।’

मेयर शाहीले तानसेन नगरपालिका क्षेत्रभित्र अध्ययापन गराउने सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीले यस निर्णयलाई पालना गराउन सबै विद्यालयलाई पत्राचार गरिसकेको बताए । जेठ ७ गतेभित्र विद्यालयको भर्ना अभियान र को के कसरी कहा“ भर्ना भए भन्ने विषयमा तथ्यांक आउने र त्यसपछि पुनः यस विषयमा छलफल हुने उनले बताए ।

‘कानुनी वाधा अडचन बाहेक अन्य हिसाबको दबावलाई सहन सकिँदैन,’ उनले भने, ‘सामुदायिक विद्यालयको गुणस्तर खस्क“दै गएको अवस्थामा यस्तो निर्णय गर्नु पर्ने बाध्यता आएको हो ।’ तानसेन भन्दा बाहिर लगेर पढाउनेको हकमा भने यो निर्णय लागु भएको छैन ।

तानसेन नगरभित्र जहा“ र जुनसुकै सामुदायिक विद्यालयमा पढाउन सक्नेछन् । यहा“ अधिकांश शिक्षकले निजी विद्यालयमा छोराछोरी पढाउने र आफूले सरकारी विद्यालयमा जागिर खाने गर्छन । जसले गर्दा सामुदायिक विद्यालयमा ‘जागिरे’ प्रवृत्ति मौलाएको छ ।

शिक्षा समितिको निर्णय समितिका कुनै पनि सदस्यहरूबाट बाहिर आएन । शिक्षक महासंघका नगर संयोजक हरि घिमिरेले आइतवार सामाजिक सञ्जाल फेसबुकमा शिक्षा समितिको निर्णय प्रधानाध्यापकको भेलामा समेत जानकारी नगराएको उल्लेख गरे । निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा शाखा प्रमुख रेशमलाल न्यौपाने र स्रोत ब्यक्ति मीन प्रसाद ढकालसँग सञ्चारकर्मीले शिक्षा समितिको बैठकको निर्णय प्रतिलिपि माग गरेका थिए ।

स्रोत ब्यक्ति ढकालले सोमबार सूचना उपलब्ध गराउने बताएको सञ्चारकर्मी यज्ञमूर्ति तिमिल्सेनाले बताए । निमित्त प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले हस्ताक्षर गरी नगरभित्रका विद्यालयहरूलाई निर्णयबारे जानकारी गराउँदै कार्यान्वयन गर्न गराउन निर्देशन दिएका छन् ।

सामाजिक सञ्जालमा तानसेन नगरपालिकाका मेयर अशोककुमार शाही नै तानसेनका दुई वटा नीजि विद्यालयमा अध्यक्षका रूपमा रहेको उल्लेख गरेका छन् ।

तर मेयर शाहीले भने पदीय दायित्व नलिएको बताए । बैठकमा शिक्षक, कर्मचारीका मात्रै नभएर निजामती कर्मचारी र जनप्रतिनिधिका बालबच्चा पनि सामुदायिक विद्यालयमै पठाउनुपर्ने विषयमा छलफल भएको थियो । तर समितिमा नीजि विद्यालयका संचालकहरूको सहमति नभएपछि निर्णय हुन नसकेको स्रोतले जनायो ।
तर मेयर शाहीले भने सर्वसम्मत निर्णय भएको बताए । निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन (प्याब्सन) का अध्यक्ष भरतप्रसाद न्यौपानेले निर्णय भएको कुरा आफूलाई थाहा नभएको बताए । ‘हाम्रो सहमति भएको हैन,’ उनले भने, ‘हामी बैठकबाट उठेर हिंडेको हो ।’ आफूहरूले लगानीमैत्री वातावरण निर्माण गरिदिन आग्रह गरेको प्याब्सन अध्यक्ष न्यौपानेले बताए ।