पलायन
रबिन्द्र समिर
‘पुरा हजारको नोट ब्रा भित्र राखिदिन्छु, हिँड् जाऔँ ! ’ एकाबिहानै आफन्तहरुसँग मन्दिर गएकी पार्वतीलाई पुरानो ग्राहकले समय र स्थानको ख्याल नगरी प्रस्ताव राख्यो ।
उसले सुनेको नसुन्नै गरी अगाडि बढी । ‘साली ! स्वाङ पार्छे, मन्दिरमा पाप पखाल्न आएकी होली नि !’ पार्वतीको कानले नमिठो वचनलाई मुटुसम्मा पुर्यायो । ‘बरु भोकै बस्छु, शरीर बेच्ने काम गर्दिन’ – उसले जीविकाको लागि जागिर खोज्न थाली । महिनाको तीन हजार तलब ……………कहिले हाकिमको आदेशयुक्त प्रस्ताव ………..कहिले कर्मचारीहरुको गिद्देदृष्टि ……………..।
पार्वतीले पुनः अर्को ठाउँमा जागर खोजी । त्यहाँ पनि उसको सीप र श्रमको मूल्याङ्कन भएन । आज नगरकोट जाने …………आज फलानो लजमा सुत्ने …………..आज ढिस्कानो डान्सबारमा जाने ………….। उ निराश भई, थकित भई र भासिएको जमिनमा उभिएर निर्णय गरी – काम उही, बाटो फरक । आजभोलि उसलाई महिनाको तीन हजारको जागिर दिनेहरु एक रातको तीन हजार तिरिरहेका छन् ।