लगातार अर्को जित निकाल्न ओमानविरुद्ध मैदानमा नेपाल - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

लगातार अर्को जित निकाल्न ओमानविरुद्ध मैदानमा नेपाल



काठमाडौं । एसीसी प्रिमियर कपको आफ्नो दोस्रो खेलमा आज (शुक्रबार) ओमानविरुद्ध मैदान उत्रिँदा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ ।

नेपाल घरेलु मैदानमा भएको पछिल्लो नौ खेलमा अपराजित छ । नेपालले एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियालाई हराउनुअघि आईसीसी क्रिकेट विश्वकप लिग–२ को आठ खेलमा जित निकालेको थियो ।

यद्यपि, लिग–२ का सबै खेल आईसीसीबाट एकदिवसीय अन्तर्राष्ट्रिय खेलको रुपमा मान्यता प्राप्त थियो । तर, अहिले जारी एसीसी प्रिमियर कप एकदिवसीय अन्तर्राष्ट्रिय भए नभएको बारेमा भने आईसीसी र नेपाल क्रिकेट संघ (क्यान) दुवैले केही खुलाएका छैनन् ।

प्रतियोगितामा दुवै टिमको यो दोस्रो खेल हो । नेपालले यसअघि प्रतियोगिताको पहिलो खेलमा मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको थियो । यता, ओमानले भने पहिलो खेलमा कतारलाई ४० रनले पराजित गरेको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजेदेखि सुरु हुनेछ ।

यसै वर्ष पाकिस्तानमा हुने तालिका रहेको एसिया कपको छनोट प्रतियोगिताको रूपमा रहेको प्रिमियर कपमा कुल १० टिम सहभागी छन् । सहभागी टिमलाई एक समूहमा पाँच टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।

प्रिमियर कपको समूह ‘ए’ मा नेपालसँगै ओमान, मलेसिया, साउदी अरेबिया र कतार छन् । यस्तै, समूह ‘बी’ मा युनाइटेड अरब इमिरेट्स (यूएई), हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । प्रतियोगिताको विजेताले एसिया कपका स्थान बनाउनेछ ।