नेकपाको शक्ति सङ्घर्ष : बामदेव ओलीका भिलेन बनेपछि... - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

नेकपाको शक्ति सङ्घर्ष : बामदेव ओलीका भिलेन बनेपछि…



हिमालपोस्ट/काठमाडौँ-

नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेता बामदेव गौतमले प्रधानमन्त्री के.पी. शर्मा ओलीविरुद्ध मोर्चा खडा गरेका छन्। बामदेवको पहलमा ओलीलाई एक्ल्याउने गरी प्रभावशाली नेताहरूलाई एकताबद्ध गराउने तयारी हुँदैछ। यस कार्यका लागि अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपालदेखि पूर्वअध्यक्ष समेतलाई एकै ठाउँमा ल्याउन बामदेवले  अलग अलग बैठक गरेका थिए। उनले ती नेताहरूलाई एउटै ठाउँमा राखेर भेटघाट तथा छलफलको वातावरण मिलाएको बुझिएको छ।

बामदेवले एक हप्तादेखि एक्लाएक्लै र सामूहिक बैठकहरूको आयोजना गरेका थिए। नेकपाका नेताहरूले सरकारको अहिलेको कार्यशैलीले पार्टीलाई दूरगामी असर पार्ने भन्दै छिट्टै निष्कर्षमा पुग्नुपर्ने सहमति बनाएको बुझिएको छ।

छलफलमा भविष्यमा पार्टीको नेतृत्व कसले गर्ने भन्ने कुरामाथि पनि छलफल भएका छन्। स्रोतअनुसार भविष्यमा प्रचण्ड, नेपाल र खनालमध्ये एक जनाले पार्टी र सरकार सञ्चालन गर्ने सम्मका विषयहरूमा छलफल केन्द्रित भएको छ। ओलीको पछिल्लो कार्यशैलीप्रति असन्तुष्ट रहेका नेपाल, खनाल र गौतमले प्रचण्डलाई मनाएर नयाँ सहमति बनाउन खोजेका हुन्।

ओली र प्रचण्डले सरकारको नेतृत्व आधाआदा गर्ने चर्चा-परिचर्चा भइरहँदा बामदेव भने नयाँ रणनीतिमा लागेका हुन्। नेताहरू प्रचण्ड, नेपाल र खनाललाई पार्टी र सरकारको जिम्मेवारीलगायतका विषयमा सहमत गराउन उनले भूमिका खेल्दै आएका छन्।

ओलीलाई पार्टी अध्यक्ष बनाउन कुनै समयमा गौतमले निर्णायक भूमिका खेलेका थिए। बामदेवकै समर्थनमा ओली तत्कालीन नेकपा(एमाले) अध्यक्ष बने। अघिल्लो चुनावपछि ओलीसँग बामदेवको दूरी बढ्यो। बर्दियामा चुनाव हारेपछि गौतम ओलीप्रति असन्तुष्ट भए। वामदेवलाई चुनाव हराउन ओली निकटहरू लागि परेको विषय चर्चामा आएको थियो।

अध्यक्ष जिताउन त्यत्रो भूमिका खेल्दा पनि धोका पाएको भन्दै गौतम रुष्ट भएका हुन्। त्यसैले उनी ओलीसँग दूरी बढाएर प्रचण्डसँग निकटता राख्दैछन्। उनी अहिले प्रचण्डलाई माधव नेपाल र झलनाथ खनालको समर्थन दिलाउन लागिपरेका छन्। नेकपाभित्रको शक्ति सङ्घर्षमा निर्णायक बन्दै गएका बामदेव गौतम विगतमा आफैँ सफल नभए पनि अरूलाई सफल बनाउन सक्ने नेता हुन्। तर यसपटक उनी सफल हुन्छन् हुँदैनन् समयले बताउला।