दश करोड घुस 'डिल' गर्ने रूद्रप्रसाद केपी ओलीका प्रियपात्र भएको खुलासा - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

दश करोड घुस ‘डिल’ गर्ने रूद्रप्रसाद केपी ओलीका प्रियपात्र भएको खुलासा



काठमाडौं- दश करोडको घुस बार्गेनिङ गर्ने रूद्रप्रसाद पोखरेल एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रियपात्र भएको खुलेको छ । दश करोड रुपैयाँ घुस बार्गेनिङ प्रकरण यतिबेला चर्चामा छ । सहकारी ठगीका अभियुक्त छुटाउन गरिएको बार्गेनिङपछि यससँग कनेक्सन भएकाहरूको पोल खुल्न सुरू भएको छ ।

एमालेका पूर्व सांसद ईच्छाराज तामाङलाई छुटाउन काठमाडौं जिल्ला न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखरेलबीच दश करोड रुपैयाँ घुस बार्गेनिङ भएको अडियो बाहिरिएको थियो । सिभिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्व अध्यक्ष तामाङलाई ठगी मुद्दामा धरौटीमा छुटाउन घुसको अडियो बाहिरिएपछि न्याय परिषदको आकस्मिक वैठकले गत बुधबार छानविन समितिसमेत गठन गरेको छ ।

सर्वसाधारणको आठ अर्ब ठगीको आरोपमा मुद्दा चलाइएका तामाङलाई २०७८ साल पुस १४ गते काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । जिल्ला न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच त्यसअघि नै लेनदेनको कुरा भएको देखिन्छ ।

परिषद सदस्य रामप्रसाद श्रेष्ठको नेतृत्वमा उच्च अदालत पाटनका कामु मुख्य न्यायाधीश महेश पुडासैनी र न्यायाधीश महेश शर्मा पौडेल सदस्य रहने गरी तीन सदस्यीय छानविन समिति गठन भई प्रतिवेदन बुझाउन ४५ दिनको समय तोकेपछि घुस प्रकरणको सत्यतथ्य आउने विश्वास गरिएको छ ।

अहिले घुस प्रकरणमा जोडिएका पात्रको बिषयमा सुक्ष्म निगरानी गरिएको छ । तामाङलाई दश करोड धरौटीमा छाड्ने र जिल्ला न्यायाधीश कोइरालाको भागमा दुई करोड थमाउने गरी परिपञ्च मिलाउन प्रयास गरेका रूद्रप्रसाद पोखरेल नेपाल बारएशोसिएसनका पूर्व कोषाध्यक्ष हुन् । उनी झापा गौरादह स्थायी घर भएका केपी शर्मा ओली निकट कानुन व्यवसायी हुन् ।

पोखरेलले २०५३ सालमा अधिवक्ताको लाइसेन्स लिएर वकालत शुरु गरेका थिए । पोखरेलले अनामनगर हनुमानथानमा ल फर्म खोलेर बिचौलियाको काम गर्दै आएका थिए । पोखरेलले प्रगतिशील समूहकातर्फबाट बारको कोषाध्यक्ष जितेका थिए । उनी २०७०–७३ सम्म पाटन बार एशोसिएसनमा अध्यक्ष थिए ।

गौरादह एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो । यसै कारण ओलीले पोखरेललाई एमाले कानुन विभागका सदस्य मनोनित गरेका थिए । इच्छाराज तामाङ पनि कृष्णगोपाल श्रेष्ठमार्फत दुई करोड चन्दा दिएर एमालेको कोटामा दोस्रो संविधानसभाको चुनावमा एमालेबाट समानुपातिक सांसद चुनिएका थिए ।

केपी शर्मा ओलीले संसद् विघटन गरेपछि बार कोषाध्यक्ष रहेकै बेला पोखरेलले विघटनको पक्षमा बहस गरेका थिए । पोखरेल महाअभियोग लागेका चोलेन्द्रशमशेर राणासँग निकट भएको बताइन्छ ।

जतिबेला नेपाल बार एसोसिएसनले राणालाई पदच्युत गर्न आन्दोलन गरिरहेको थियो, त्यतिबेला पोखरेल राणाको समर्थनमा खुलेर सडकमा उत्रिएका थिए । यतिमात्र नभै राणाविरुद्ध नेपाल बारले प्रेश विज्ञप्ति निकाल्दा त्यस्लाई काउण्टर दिने गरी समर्थनमा पोखरेलले अर्को समानान्तर विज्ञप्ति निकालेका थिए ।

बारले राणाविरुद्ध आन्दोलन थालेपछि र सर्वोच्चका न्यायाधीशहरूले बेन्च बहिष्कार गरे । पोखरेलले त्यसको पनि ठाडै विरोध गरेका थिए । न्यायाधीशहरुबाट चोलेन्द्रलाई हटाउन बेञ्च बहिष्कार भइरहेकै बेला पोखरेल आन्दोलनलाई चुनौती दिँदै सर्वोच्चमा बहस गर्न गएका थिए ।

उक्त अडिओमा अधिवक्ता पोखरेलले न्यायाधीश कोइरालालाई यस्तो अवसर फेरि–फेरि नआउने भन्दै धरौटीमा तामाङलाई छोड्ने आदेश दिन सिकाएका छन् । यो कामका लागि प्रधानन्यायाधीश राणादेखि काठमाडौं जिल्ला अदालतका पहिलो नम्बरका न्यायाधीशलाई पनि भन्ने आश्वासन दिएको अडियोमा सुन्न सकिन्छ ।

तामाङविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अनुसन्धान सकाएर जिल्ला सरकारी वकिलमार्फत अदालतमा मुद्दा दर्ता भएको थियो । तामाङको थुनछेक बहस चलिरहँदा उनीहरुबीच आदेशलाई लिएर डिल भएको देखिन्छ ।