टोपबहादुरलाई कारबाही गर्न एमाले नेताहरूको दवाव, ओली भन्छन्- त्यो पर्दैन - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

टोपबहादुरलाई कारबाही गर्न एमाले नेताहरूको दवाव, ओली भन्छन्- त्यो पर्दैन



नेकपा एमालेभित्र सचिव टोपबहादुर रायमाझीलाई कारबाही गर्नुपर्ने आवाज चर्कोगरी उठ्दापनि पार्टी अध्यक्ष केपी ओलीले ढाकछोप गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएदेखि फरार भएका रायमाझीलाई सुरुदेखि नै ओलीले बचाउन प्रयासरत छन् ।

एमालेभित्र रायमाझीलाई कारबाही गरेर पार्टीको साख जोगाउन माग गरिएको छ । नेताहरूले रायमाझीले गल्ती नगरेको भए किन भागेको भन्ने प्रश्न पनि गरेका थिए । उनलाई निलम्बन गरेर अनुसन्धानमा सहयोग गर्नुपर्नेमात्र होइन, पार्टीको छवि सुधारका लागि पनि रायमाझीलाई कारबाही गर्नुपर्ने माग एमालेभित्र उठेको थियो ।

पार्टीमा रायमाझीलाई कारबाही गर्नुपर्ने आवाज चर्किंदै जान थालेपछि ओलीले बैठक बोलाएका थिए । आफूमाथि दवाव बढेपछि ओलीले पार्टी पदाधिकारीलाई बोलाएर मथ्थर पार्ने प्रयास गरेका थिए ।

अध्यक्ष निवास बालकोटमा बसेको उक्त अनौपचारिक बैठकमा पनि रायमाझीमाथि कारबाही गर्नुपर्ने विषय उठेको थियो । तर ओलीले भने उनको बचाउमै उत्रिएका थिए ।

साथै, सोमबारको पदाधिकारी र मंगलबारको सचिवालय बैठकमा समेत नेताहरूले यहि कारण पार्टीमाथि सामाजिक सञ्जालमा आक्रमण बढेको बताएका थिए । रायमाझी भागेर गल्ति गरेको विषयले पनि बैठकमा प्रवेश पाएको थियो ।

रायमाझीलाई कारबाही गर्नसक्ने हो भने पार्टीको छबी समेत जोगिने नेताहरूको तर्क थियो । तर ओलीले भने कारबाही वा निलम्बन गर्न नहुने भन्दै नेताहरूलाई सम्झाएका थिए ।

बैठकमा ओलीले रायमाझीको पक्राउ पुर्जीपछि अस्वाभाविक रूपमा प्रधानमन्त्री र कांग्रेस सभापनिलाई भेटेको विषय पनि चर्चाको विषय बनेको थियो । आरोपीलाई बचाउन लाग्दा पार्टीलाई क्षति भएको नेताहरूको सुझाब थियो ।

कारबाही वा निलम्बन त फरक कुरा अध्यक्ष ओलीले उल्टै रायमाझीलाई बचाउन प्रधानमन्त्री र गठबन्धनमाथि दवाव बढाएको बुझाई एमालेका केहि नेताहरूको छ । आरोपित रायमाझीलाई निलम्बन गर्न एमालेलाई केले रोकेको छ भन्दै एमालेभित्र प्रश्न उठ्न थालेपछि ओलीले नेताहरूलाई बोलाएर सम्झाउन थालेका छन् ।

अध्यक्ष ओलीले ढाकछोप गरेपनि एमालेका नेताहरूले आगामी केन्द्रीय कमिटी बैठकमा रायमाझीको विषय जोडले उठाउने तयारी गरेका छन् ।

प्रहरीले अनुसन्धानका लागि पक्राउ गर्ने तयारी गरेपछि रायमाझी फरार भएका थिए । गत शनिबार अर्घाखाँचीमा सभामुख देवप्रसाद घिमिरेसँगै कार्यक्रममा सहभागी रायमाझी आइतबारदेखि फरार भएका हुन् ।

प्रहरीलाईलाई फोन गरेर आफू आउने तर पक्राउ नगर्न भनेका रायमाझी त्यसपछि सम्पर्कविहीन भएका हुन् । प्रहरीको भनाइमा उनी भारतको लखनऊ पुगेको आंशका छ । यो प्रकरण पार्टी सचिवविरुद्ध पक्राउ पुर्जी जारी भएपछि पनि एमालेले रायमाझीलाई कारबाहीको दायरामा ल्याएको छैन ।