प्रधानमन्‍त्रीको सपनामा स्वास्थ्य बाधक - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

प्रधानमन्‍त्रीको सपनामा स्वास्थ्य बाधक



काठमाडौं । प्रधानमन्‍त्री केपी शर्मा ओलीको स्वास्थ्यमा फेरी पनि एक्कासी समस्या देखिएको छ । तर, यो समस्या उनको पुरानो रोग नभई नयाँ हो । 

ओलीको स्वास्थ्यमा मंगलबार एक्कासी समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालअन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरियो ।

चेकजाँचका क्रममा उनको उपचारमा संलग्‍न चिकित्सकको टोलीले एपेन्डिक्स भएको निश्कर्ष निकाल्यो । उक्त निश्कर्षपछि प्रधानमन्त्री ओलीको अप्रेशन भयो । अहिले उनको स्वास्थ्यवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।

अप्रेशनपछि अप्रेशन थिएटरबाट भिभिआइपी क्याबिनमा सारिएका प्रधानमन्त्री ओलीको उपचार विशेष निगरानीमा भइरहेको बताइएको छ । 
अस्पतालका निर्देशक डा.अरुण सायमीका अनुसार प्रधानमन्त्री ओलीले अब केही दिन अस्पतालमै बस्नु पर्नेछ ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)देखि मन्त्री लगायत नेकपाका नेताहरू शिक्षण अस्पताल पुगेका छन् ।

केही दिन पहिले मिर्गोलामा समस्या देखिएपछि थलिएको प्रधानमन्‍त्री शरीर यतिवेला एपेन्डिक्सको अप्रेशनले थप कमजोर बन्न पुगेको छ । 

विकासमा स्वास्थ बाधक

पाँच वर्षीय कार्यकालको करिव आधा समय विताइसकेका प्रधानमन्‍त्री ओलीले केही दिन पहिले आफ्नो सचिवालयका केही पदाधिकारीलाई हटाए । त्यसको केही दिनमै मन्‍त्रिमण्डल पनि हेरफेर गरे । 

योसँगै ओलीले काम मन नपराएका मन्त्री र सचिवालयका कर्मचारीलाई हटाएर बाँकी समय उपलब्धी मूलक बनाउन खोजेको चर्चा भयो । उनले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई कार्यकारी जिम्मा दिनु र नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग सम्बन्ध सुधार्नुले पनि ओलीले आफ्नो बाँकी कार्यकाललाई उपलब्धिमूलक र विवाद रहित बनाउन खोजेको पुष्टि हुन्छ ।

मिर्गौलामा पटक-पटक देखिएको समस्याकै कारण ओलीले सबैसँगको सम्बन्ध सुधारेर आगाडि बढ्दै आफ्नो कार्यकाल स्मरण योग्य बनाउन खोजेको चर्चा चलिरहेको समयमा फेरी स्वास्थ्यमा समस्या देखिएको छ । उनको विकासप्रेमी सोचलाई पटक-पटक स्वास्थ्यले धोका दिइरहेको छ । ओलीलाई शिघ्र स्वास्थ्य लाभको कामना ।