ढुक्क भएर बस्नुस्, यो एमालेले बनाएको सरकार हो- केपी ओली - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

ढुक्क भएर बस्नुस्, यो एमालेले बनाएको सरकार हो- केपी ओली



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने बताएका छन् ।

पार्टी जनसङ्गठन समन्वय संयन्त्रले काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको दुई दिने जनसङ्गठन सुदृढीकरण कार्यशाला उद्घाटन गर्दै उनले आउँदो मंगलबार सरकारले विश्वासको मत प्राप्त गर्ने बताउँदै नेता-कार्यकर्तालाई ढुक्क रहन आग्रह गरेका हुन् ।

‘वर्तमान सरकारले सहज तरिकाले विश्वासको मत प्राप्त गर्नेछ, तपाईंहरू ढुक्क भएर बस्नुस्, यो एमालेले बनाएको सरकार हो’, उनले भने । अध्यक्ष ओलीले साङ्केतिकरूपमा सरकारलाई विश्वासको मत नदिलाउन षड्यन्त्र भइरहेको बताए ।

‘बहुमत नपुग्दा तालमेल गरेर एकीकृत भएको बहुमतलाई झण्डै दुई तिहाइको स्थितिमा पुर्‍याउने एमाले हो । एमालेले कसैले नसोचेको अवस्थामा पुर्‍याउन सक्छ’, उनले भने । उनले एमाले सरकारमा वा प्रतिपक्षमा जहाँ रहे पनि देश र नागरिकको हितमा दृढतापूर्वक सक्रिय भइरहने बताए ।

अध्यक्ष ओलीले जनादेशको सही व्याख्या, सही विश्लेषण र सही सदुपयोग गरेको दाबी गर्दै देशको राजनीति अत्यन्तै अनौठो गतिमा परिवर्तन भएकोमा नेपाली राजनीतिमा चासो राख्ने अचम्मित भएको बताए । ‘निर्वाचनअघि भनेझैँ नयाँ जनादेशबाट सरकारअघि बढाउने योजना निर्वाचनपछि सफलतापूर्वक सम्पन्न गरेका छौँ, यसबाट नेपाली जनता खुसी छन्’, उनले भने ।