ओलीको प्रश्न- गरिब सुकुम्बासीमाथि डोजर किन चलाएको ? - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

ओलीको प्रश्न- गरिब सुकुम्बासीमाथि डोजर किन चलाएको ?



काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुकुम्बासीलाई शत्रु घोषणा गरेको टिप्पणी गरेका छन्। बागमती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन सोमबार काठमाडौं महानगर डोजर लिएर पुगेपछि त्यसको विरोधमा मुडभेड भएको थियो।

अध्यक्ष ओलीले मंगलबार पार्टी कार्यालयमा पार्टी निकट राष्ट्रिय जनसांस्कृतिक महासंघले आयोजित गरेको बधाई तथा शुभकामना कार्यक्रममा उक्त घटनाप्रति लक्षित गर्दै आफ्ना धारणा राखेका हुन्।

उनले आफू नेतृत्वको सरकारले सुकुम्बासी समस्या समाधान गर्ने तयारी गरिरहेकोमा हट्नु परेकोले यो समस्याको निदान हुन नसकेको पछि टिप्पणी गरे।

‘सुकुम्बासी हाम्रा दाजुभाइ-दिदीबहिनी हुन्। अलि गरिब भए, त्यसकारण शत्रु घोषणा गरेर गोद्नु, ठोक्नु पर्ने, मार्नु पर्ने भन्ने हैन। पराजित गर्नु पर्ने हैन। समस्याको समाधान गर्नुपर्छ,’ ओलीले भने, ‘सुकुम्बासी समस्या समाधान गर्न आयोग बनाएर काम तयार गरेको अवस्थामा सरकार फेर्नुपर्ने, आयोग भङ्ग गर्नुपर्ने अनि कार्यकर्ता भर्ती गरेर आयोग बनाउनुपर्ने। त्यो आयोग कहाँ गयो?’

ओलीले समस्या समाधान गर्न डोजर प्रयोग गर्ने हो भने आयोगको औचित्य नरहेको पनि बताएका छन्। उनले भने, ‘एकातिर समस्या समाधन गर्न आयोग छ। अर्कोतिर डोजर लगेर पेलेको छ। डोजर लगेर भत्काउने हो भने आयोग किन चाहियो।’