ओली र प्रचण्डलाई सुरक्षा पुगेन, जंगी अड्डा भित्र बस्नुस - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

ओली र प्रचण्डलाई सुरक्षा पुगेन, जंगी अड्डा भित्र बस्नुस



काठमाडौं – नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुरक्षाको कमी भएकाले भद्रकालीको जंगी अड्डामा गएर शासन चलाउन सुझाव दिएका छन् ।

उनले सरकार फाँसीवादी बाटोमा हिडेको पनि आरोप लगाएका छन् । शनिवार काठमाडौंमा भएको हिन्द प्रशान्त रणनीति र नेपाल विषयक कार्यक्रममा नेता गजुरेलले सरकारले केही गर्न नसकेपछि चौतर्फी आरोपको सामना गर्नुपरेको बताए ।

सिपी गजुरेलले पार्टीबाहिर र पार्टीभित्रै पनि विरोध हुन थालेपछि त्यसलाई दमन गर्न सरकार लागिपरेको उनको अरोप छ । नेता गजुरेलले विरोध सामना गर्न नसकेपछि सरकारले आफ्ना अरिङ्गाल परिचालन गरेको बताए । उनले अहिले जनताले चुनावमा सरकारको दललाई भोट हालेकोमा पछुतो मान्न लागेको बताए ।

उनले भने, ‘डबल नेकपा भित्रैबाट कामको विरोध हुन थालेपछि विरोध सहन नसकेर सरकार फासीवादी बाटोमा हिंडेको छ । एउटा पार्टीलाई त प्रतिबन्द्ध नै लगाइसक्यो । उनीहरुले प्रतिबन्ध लगाउनुको कुतर्क विप्लवले मलाई मार्न मान्छे पठाए भनेर पनि भने । प्रधानमन्त्रीलाई सुरक्षा नपुगेको भए भद्रकालीको जंगी अड्डामा गएर शासन चलाए हुन्छ । सिंगापुरबाट पनि चलाएकै हो । प्रचण्डसँग अहिले १ कम्पनी सुरक्षाकर्मी छन् । त्यसले पनि नपुगेको अर्को कम्पनी थपे हुन्छ ।’

नेता गजुरेलले सरकारले संविधान दिवस मनाउन उर्दी जारी गरेर पञ्चायतको शैलीको अभ्यास गरेको आरोप लगाए । उनले प्रधानमन्त्री ओली ‘अरिङ्गाल इन चिफ’ बनेको बताउदै टिभीमा सरकारलाई गाली ग¥यो भनेर जिल्ला प्रवेश रोक लगाउने काम फाँसीवादको अभ्यास गरेको बताए ।

उनले जनताले विकास गर्न भनेर सरकारमा पठाएपनि सरकारले भने अरिङ्गाल पठाउन थालेको बताउँदै अब सडक आन्दोलनको आवश्यकता रहेको बताए ।