ठिक छु, अब छिट्टै काममा फर्कन्छु: प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

ठिक छु, अब छिट्टै काममा फर्कन्छु: प्रधानमन्त्री ओली



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले उपचारमा संलग्न चिकित्सकहरुसँग केहीबेर कुराकानी गरेका छन् । बुधबार विहान उनले केहीबेर कुराकानी गरेको उपचारमा संलग्न डा. अरुण सायमीले जानकारी दिए ।

‘उहाँले उच्च मनोबलका साथ छिट्टै काममा फर्कनसक्ने बताउनुभयो,’ डा. सायमीले भने । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको सायमीको भनाई थियो ।

मंगलबार साँझ ओलीको स्वास्थ्यमा जोखिम बढेको थियो । उनको धेरै अङ्गमा संक्रमण बढेपछि चिकित्सकहरुले रोगप्रतिरोधका लागि औषधीहरु चलाएर भेन्टिलेटरमा राखेका थिए । स्वास्थ्यमा सुधार भएपछि भ्यान्टिलेटर हटाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् ।

संक्रमणको खतरालाई ध्यानमा राखेर ओलीलाई केही दिन अझै अस्पतालमा राखिने भएको छ । पेट दुख्ने समस्याका कारण प्रधानमन्त्री ओलीलाई मंगलबार विहान आकस्मिक रुपमा महाराजगञ्जस्थित मनमोहन कार्डियोभास्कुलर ट्रान्स्प्लान्ट सेन्टरको भेन्टिलेटरमा राखिएको थियो । ओलीको हिजै एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । शल्यक्रिया सफल भएपनि अन्य अङ्गमा संक्रमण भएपछि भेन्टिलेटरमा राखिएको थियो ।