प्र.म.ओली बीबीसी वर्ल्ड टिभीमा - सगरमाथाको ट्राफिक जाम प्रोपोगान्डा हो - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

प्र.म.ओली बीबीसी वर्ल्ड टिभीमा – सगरमाथाको ट्राफिक जाम प्रोपोगान्डा हो



काठमाडौँ –  प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायत भ्रमणको क्रममा बीबीसी वर्ल्ड टिभीलाई अन्तर्वार्ता दिएका छन्। सो अन्तर्वार्ताका क्रममा सगरमाथामा आरोहीको जामले गर्दा समस्या सिर्जना भएको कुरा अस्वीकार गरेका छन्। सगरमाथा आरोहणका क्रममा देखिएका समस्या, बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मार्फत चीनको ऋण र विकास निर्माणको क्रममा रूख काट्न दिइएको अनुमतिको प्रसङ्गगमा  सो अन्तर्वार्ता केन्द्रित थियो। अन्तर्वार्ता अघि बीबीसीका नेपाली पत्रकार नवीनसिंह खड्काले तयार पारेको सगरमाथा आरोहणसम्बन्धी एउटा रिपोर्ट देखाइएको थियो।

यस वर्ष अहिले सम्मकै सबैभन्दा धेरै ३८१ जनालाई आरोहणको अनुमति दिइएको प्रसङ्गमा ओलीलाई प्रश्न सोधिएको थियो। धेरैलाई अनुमति दिएको भन्ने कुरा हल्लामात्रै भएको प्रधानमन्त्री ओलीले बताए। धेरैलाई अनुमति दिएर सगरमाथामा समस्या आएको भन्ने हल्ला प्रोपोगान्माडा भएको उनले दाबी गरे।

३८१ जनालाई अनुमति दिइएकामा ६०० जनासम्म पुगेको र  ट्राफिक जाम भएको तथा आरोहीको मृत्युसमेत भएको कुरालाई प्रोपोगाण्डामात्रै भन्न नमिल्ने जनाउँदै प्रस्तोताले आरोहणको नीति  पुनर्विचार गर्ने सम्भावनाका बारेमा  प्रश्न सोधेका थिए।  त्यसको जबाफमा प्रधानमन्त्रीले पुनर्विचार गरिने बताउँदै ट्राफिक जाम लगायतका कुराले सगरमाथामा समस्या आएको भन्ने कुरालाई चाहिँ अस्वीकार गरेका थिए। लियाजो अफिसर ६० जना खटाइएकोमा जम्मा ५ जनामात्रै जाने गरेको र त्यसले समस्या ल्याएको कुरा ध्यानाकर्षण गराइएकोमा प्रधानमन्त्रीले सो सम्बन्धमा ध्यान दिइने समेत जनाएका थिए।

चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ मार्फत् दिइने ऋणले श्रीलङ्कामा जस्तै समस्या ल्याउन सक्ने बारेमा प्रधानमन्त्रीलाई राखेको जिज्ञासामा प्रधानमन्त्रीले नेपाल राजनीतिक परिवर्तन टुङ्गो लगाएर विकासको काममा लागेको चर्चा गर्दै चीनको ऋण नेपालको प्राथमिकता र आवश्यकताअनुसार लिइने जनाएका थिए। नेपालले चीनको ऋण धान्न सक्ने र नेपालको  आवश्यकताअनुसार हुने तथा आफूहरूले त्यसको व्यवस्थापन गर्ने उनले स्पष्ट पारे।

नेपालमा रेलमार्ग, फास्ट ट्रयाक, सडक जस्ता पूर्वाधार निर्माण गर्दा लाखौँ रूख काट्न लागिएको र त्यसले वातावरण बिगार्ने सम्भावनातर्फ बीबीसीले ध्यानाकर्षण गराउँदा प्रधानमन्त्रीले काटिनेभन्दा बढी रूख रोपिने जनाउँदै नेपालको ४५ प्रतिशत भूभाग जङ्गलले ढाकिएको र वातावरणको कुरा गर्दा नेपालले त्यसलाई जोगाउन धेरै योगदान गरेको चर्चा गरे। विकासको काम गर्दा वातावरणमा पर्न सक्ने प्रभावका बारेमा आफूहरू सचेत रहेको समेत प्रधानमन्त्री ओलीले बताएका छन्।