ओलीलाई बालेनको जवाफ- ३२ वर्षसम्म सुकुम्वासीको जाडो नदेख्ने, अहिले मेराबिरुद्ध उचाल्ने ? - Himal Post Himal Post
  • ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
Logo

ओलीलाई बालेनको जवाफ- ३२ वर्षसम्म सुकुम्वासीको जाडो नदेख्ने, अहिले मेराबिरुद्ध उचाल्ने ?



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिलाई लिएर तीव्र आक्रोश व्यक्त गरेका छन् ।

ओलीले एक कार्यक्रममा सुकुम्वासी वस्तिमा डोजर चलाउने महानगरपालिकाको आलोचना गरेका थिए ।

सामाजिक सञ्जालमार्फत बालेनले ओलीलाई आक्रोशित जवाफ दिएका हुन् । उनले अधिकार सम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा महानगरले आफ्नो जिम्मेवारी पूरा गरेको बताएका छन् ।

ओलीबाट आएको धारणा सामान्य विषय भएको उनको भनाइ छ । ओलीले मन्त्री र प्रधानमन्त्री हुँदा सुकुम्वासी समस्यालाई सम्बोधन गर्न नसकेको आरोप साहले लगाएका छन् ।

‘२०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाडौँको सुकुम्वासी समस्या समाधान गर्न सक्नु भएन । मन्त्री र पटक–पटक त्यो पनि दुई तिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनुभयो, तर सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नु भएन । सुकुम्वासीहरू तपाईँका लागि भोट बैङ्क मात्रै रहे,’ बालेनले भनेका छन् ।

सुकुम्वासीलाई गुठी आन्दोलनजस्ता आफ्नो स्वार्थ विपरीतका कुराहरूमा प्रयोग गरेको पनि उनको आरोप छ ।

उनी थप्छन्, ‘तपाईँलाई जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए तपाईँको नेतृत्वमा लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर किन ठड्याउनु भयो ? हनुमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडी बढाउनु भयो ? यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदी क्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईँले विरोध गर्नु असामान्य होइन ।

‘अब परिस्थिति फेरिएको छ । यसैले सकेको सहयोग गर्नुहोला, तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला ।’