एमालेभित्र ओली फेरि अल्पमतमा, समानुपातिक कुर्दै इतर समूह - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

एमालेभित्र ओली फेरि अल्पमतमा, समानुपातिक कुर्दै इतर समूह



काठमाडौ- मंसिर ४ मा सकिएको निर्वाचनले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समस्यामा पारेको छ । निर्वाचनको परिणामले नेकपा एमालेको आन्तरिक शक्ति समीकरणमा नै असर गर्ने अवस्था देखिएको छ । चुनावी समीक्षाका लागि पार्टीको आधिकारिक बैठक बसेको छैन । तर बैठकमा असामान्य प्रश्नको साममा गर्नुपर्ने आंकलन भने ओलीले गरेका छन् ।

नेकपा कालमा मनोमानी गरेको भन्दै उनीविरुद्ध बहुमत समूह नै उत्रिएको घटना याद दिलाउनेगरी यसपटक पनि अध्यक्ष केपी ओली अप्ठ्यारोमा पर्ने सम्भावना छ। ओलीले नेतृत्व लिएपछि पार्टी कमजोर हुँदै गएको आवाज समेत पार्टीभित्र उठ्न थालेको छ भने ओली निकटका धेरैजसो नेताहरू पराजित बनेका छन् ।

चुनावको सम्पूर्ण जिम्मा लिएका ओलीले अब पार्टीले हारेको पनि जिम्मा लिनुपर्ने अवस्था छ । पार्टीमा आफ्ना निकट नेताहरू पराजित बनेपछि उनलाई संसदीय दलमा सर्वसम्मत गर्न पनि अन्य समूहका नेताहरूको सर्त मान्नुपर्ने अवस्था आउनेछ । पार्टीमा पछिल्लो समय पेलिएका उपाध्यक्ष विष्णु पौडेल यतिबेला ओलीलाई टक्कर दिने अवस्थामा पुगेका छन् ।

चुनाव अगाडी गरेका विश्लेषण, आश्वासन, उट्पट्याङ र एकलौटी निर्णयको समेत जवाफ दिनुपर्ने अवस्था अध्यक्ष ओलीमाथि आउन सक्ने नेताहरूको आंकलन छ । ओलीको निकट रहेका विस्वास पात्रहरू एकपछि अर्को गर्दै ढलेपछि यत्तिकै पनि ओली तनावमा छन् । त्यसमाथि उनले यसअघि पेलेका नेताहरू चुनाव जितेर आएका छन् ।

कुनै समय ओलीसँग राजनीतिक रूपमा फरकमत राख्ने अधिकांश नेताहरू धेरैले चुनाव जितेर आएका छन् । यसले एमालेको संसदीय दल र पार्टीको आन्तरिक शक्ति सन्तुलनमा समेत फरक पार्नसक्ने देखिन्छ ।

दशौं महाधिवेशनमा ओलीबाट प्रताडित बनेका उपाध्यक्षद्वय सुवास नेम्वाङ र विष्णु पौडेल एमालेमा शक्तिशाली बनेका छन् । अध्यक्ष ओलीका हरेक क्रियाकलापमा साथ दिने वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल र महासचिव शंकर पोख्रेल लगायतका नेताहरू छानीछानी चुनाव हारेका छन्। एमालेमा १० भाई भनेर चिनिएका नेताहरू पनि नेम्वाङ र पौडेल समूहसँग नजिक छन् ।

समानुपातिकको कोटा छोड्नेहो भने एमालेमा ओली अल्पमतमा परिसकेका छन्। वरिष्ठ उपाध्यक्ष पोखरेल, महासचिव पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीसहित नेताहरू राजन भट्टराई, महेश बस्नेत, कर्ण थापा, विशाल भट्टराई, शेरधन राई, अग्नी खरेल, भानुभक्त ढकाल, पद्मा अर्याल, कोमल ओली, शान्ता चौधरीदेखि पूर्व प्रहरी अधिकृत नवराज सिलवाल र सर्वेन्द्र खनालले चुनाव हारे ।

ओली समूहका गोकुल बाँस्कोटा, कृष्णगोपाल श्रेष्ठ र सूर्य थापा लगायत एकाध नेताहरूले चुनाव जितेका छन् । तर ओलीसँग फरकमत राख्ने अधिकांश नेताहरूले चुनाव जित्न सफल भएका छन् । महाधिवेशनमा ओलीकै आशिर्वादका कारण विष्णु पौडेललाई पछि पारेर शंकर पोखरेल र उनको समूहले चुनाव हार्दा विष्णु पौडेल र उनीमाथि सदासयता राख्ने नेताहरूले भेने चुनाव जितेका छन् ।

प्रदेशमा उठेर मुख्यमन्त्री बन्ने तयारी गरेका पृथ्वी सुब्बा गुरुङलाई ओलीले जबर्जस्ती प्रतिनिधिसभामा पठाएका थिए तर उनले पनि चुनाव जित्न सफल भए । ओलीका कदमबाट असन्तुष्ट रहेका सुवास नेम्वाङदेखि १० बुँदे समूहमा रहेका सचिव गोकर्ण बिष्ट, भीम आचार्य र योगेश भट्टराईले पनि चुनाव जितेका छन् ।

पाल्पामा ठाकुर गैरे, रुपन्देहीमा वासुदेव घिमिरेदेखि कपिलवस्तुमा बलराम अधिकारीसम्मले चुनाव जितेका छन् । लुम्बिनीमा पनि चुनाव जित्ने अधिकांश विष्णु पौडेल निकटका छन् । रुपन्देही पाँचमा टिकट पाएका घिमिरेलाई अन्तिममा फिर्ता गराउन ठूलो मेहनत गरिएको थियो, तर ओली सफल भएनन ।

घिमिरेलाई हटाउने कसरतमा उपाध्यक्ष पौडेल र महासचिव पोखरेलबीच ठूलै द्वन्द्व भयो । पोखरेलकै जोडबलमा खिमलाल भट्टराईलाई अन्तिम समयमा टिकट दिइयो ।तर, दुवैले मनोनयन भापानी घिमिरेको सदर भयो । उनले फराकिलो मतान्तरले चुनाव पनि जितेपछि पोखरेल थप कमजोर बने ।

एकातिर घिमिरेले चुनाव जिते भने अर्कातिर भट्टराईको राष्ट्रियसभा सदस्य पदसमेत गुम्यो । एमालेको दशौं महाधिवेनमा ओली निकट नेताहरू हाबी भएको त्यो दृश्य र अहिले चुनावले देखाएको दृश्य ठ्याक्कै उल्टो छ । जसलाई ओलीले रोजेका थिए उनीहरूलाई मतदाताले बहिस्कार गरिदिए । यसमानेमा पनि ओलीको चयन र कार्यशैली ठिक छैन भन्न सकिन्छ ।

महासचिव शंकर पोखरेल पार्टीमा हाबी हुँदा चुनावको टिकट वितरणमा पनि असन्तुष्टि बढेको थियो । महाधिवेशनमा देखिएको पोखरेलको सक्रियता चुनावसम्म सकिएको छ । अध्यक्ष ओली र महासचिव पोखरेल दुबै जनाको अवस्था पार्टीमा कमजोर बनेको छ ।

तर ओली राजनीतिमा चतुर खेलाडी हुन्, उनले समानुपातिक संसद चयनमा भने संख्या पुर्याउने रणनीति लिएका छन् । त्यसमाथि ओलीले फेरि कम्युनिस्ट एकता र वामगठबन्धनको नाममा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई समेत गुहार्न थालेका छन्।

ओलीले सरकार बनाउने अनेक प्रयत्न गरिरहँदा उपाध्यक्ष पौडेलले भने अहिलेको जनादेशले एमालेलाई प्रतिपक्षमा बस्न भनेको भन्दै सरकारमा नजाने बताइरहेका छन् । यसले पनि ओलीलाई समस्यामा पार्ने देखिन्छ । समानुपातिकबाट आउने सांसदले भने औलीलाई सहयोग पुर्‍याउन सक्छ ।

ओली इतरको समूह अहिले पार्टीको बैठक बोलाउन हर्तार गरेको छैन । त्यही अंकगणित पर्खिएर बसेको छ । अहिले एमालेमा भित्रभित्रै शीर्ष नेतृत्वप्रतिको असन्तुष्टि बढ्दै गएको छ । कार्यकर्ता तहबाट सामाजिक सञ्जालमा त खुलेरै नेतृत्वको आलोचना भइरहेको छ । अध्यक्ष ओली र उनीनिकट नेतामाथि प्रश्नका प्रश्न तेर्सिन थालेका छन्।