मिडियामा विदेशी लगानी अस्वीकार्य - मन्त्री बाँस्कोटा - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

मिडियामा विदेशी लगानी अस्वीकार्य – मन्त्री बाँस्कोटा



हिमालपोस्ट/काठमाडौँ

मिडिया लोकतन्त्र छाडेर ‘भाँडतन्त्र’तर्फ उन्मुख भएको आरोप सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लगाएका छन् । वर्तमान कार्यशैलीले काम गरेर नहुने भन्दै मन्त्री बाँस्कोटाले सामाजिक उत्तरदायित्व पूरा गर्नेखालको कार्यशैली अपनाउनुपर्नेमा जोड दिए ।

काठमाडौँमा सोमबार आयोजित श्रमजीवि पत्रकार ऐन र न्यूनतम पारिश्रमिकमा पुनरावलोकन कार्यान्वयनको अवस्था र चुनौती विषयक अन्तरक्रियामा उनले मिडियाले स्वनियमन गरे मिडिया काउन्सिलको आवश्यकता नै नपर्ने बताए । उनले नेपाल पत्रकार महासङ्घ अलमलिएको भन्दै पत्रकारहरूको न्यूनतम मापदन्ड तोकिनुपर्नेमा जोड दिए ।

मिडियाले आफ्नो कमी–कमजोरी भने बेवास्ता गर्दै राजनीतितर्फमात्र औँला ठड्याउने गरेको उनको भनाइ थियो ।

नेपाली मिडियामा विदेशी लगानी कुनै पनि हालतमा स्वीकार्य नहुने मन्त्री बाँस्कोटाले स्पस्ट पारे । सो कार्यक्रममा नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशङ्कर कँडेलले नेपाली मिडिया व्यावसायीकरणको चरणमा रहेकाले सबैखाले मिडियालाई समान ऐन लागू नगर्न सुझाव दिए ।

कँडेलले मिडियामा कामदार र पत्रकारको वर्गीकरण गर्नु आवश्यक रहेको भन्दै पत्रकारलाई सरकारले तोकेबमोजिमको पारिश्रमिक मिडियाले दिनुपर्ने बताए ।