नाइजरमा सैनिकद्वारा सत्ता कब्जा, राष्ट्रपति पक्राउ, संविधान भंग - Himal Post Himal Post
  • १६ मंसिर २०८०, शनिबार
  •      Sat Dec 2 2023
Logo

नाइजरमा सैनिकद्वारा सत्ता कब्जा, राष्ट्रपति पक्राउ, संविधान भंग



काठमाडौं : पश्चिम अफ्रिकी देश नाइजरमा सैनिकको एक समूहले सत्ता कब्जा गरेको घोषणा गरेको छ।

राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै उक्त समूहले राष्ट्रपतिलाई अपदस्थ गरिएको, संविधान भंग गरिएको र देशका सबै संस्थाहरु निलम्बित गरिएको घोषणा गरेको हो।

देशभर कर्फ्यू लगाइएको छ भने हवाई तथा स्थल सीमा बन्द गरिएको छ। सेनाका कर्नेल मेजर अमादु अब्द्रामेनले टेलिभिजनमार्फत लिखित वक्तव्य पढ्दै खस्कँदो सुरक्षा अवस्था र कुशासनका कारण वर्तमान सत्तालाई अन्त्य गरिएको घोषणा गरेका हुन्।

अब्द्रामेनले कुर्सीमा बसेर सम्बोधन गरेका थिए भने सैन्य पोशाकमा रहेका अन्य नौ जना सैनिकहरु उनको पछाडि उभिइरहेका थिए। आफ्नो सम्बोधनमा बाजुमले कुनै प्रकारको हस्तक्षेप नगर्न सबै अन्तर्राष्ट्रिय साझेदारलाई आग्रह गरेका थिए।

सेनाले बुधबार बिहानै राष्ट्रपति मोहमेद बजुमलाई उनको निवासभित्रै आफ्नो नियन्त्रणमा लिएको थियो।

यसैबीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कन र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अपदस्थ राष्ट्रपति बजुमसँग टेलिफोन वार्ता गरेको जनाइएको छ। अमेरिकी विदेशमन्त्री ब्लिन्कनले बजुमलाई उनीप्रति वासिङ्गटनको समर्थन रहेको सन्देश दिएका थिए भने महासचिव गुटेरेसले पनि उनीप्रति राष्ट्रसंघको पूर्ण समर्थन रहेको बताएका थिए।

अपदस्थ राष्ट्रपति बजुम इस्लामिक जिहादीविरुद्धको लडाईमा पश्चिमा देशका एक प्रमुख सहयोगीका रुपमा रहँदै आएका थिए। नाइजर सब सहारन क्षेत्रबाट हुने अवैध आप्रवासन विरुद्धको लडाईमा युरोपेली संघको एक मुख्य सहयोगी राष्ट्रसमेत हो ।

पश्चिम तथा मध्य अफ्रिकी क्षेत्रमा सन् २०२० यता भएको यो सातौ कू हो भने सन् १९६० मा फ्रासेन्सी उपनिवेशबाट स्वतन्त्र भएयता भूपरिवेष्ठित देश नाइजरमा भएको यो चौथो सैन्य कू हो ।