संस्मरण : “........ ज्यान प्यारो ?” - Himal Post Himal Post
  • २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
Logo

संस्मरण : “…….. ज्यान प्यारो ?”



~निर्मोही व्यास~

‘अपूतोलाई धन प्यारो कोरीलाई ज्यान प्यारो’ भत्रे भनाइ निकै अघिदेखि प्रचलित रहँदै आएको छ हाम्रो समाजमा। त्यस्तो किन भनिएको हो मलाई थाहा छैन। अरू अरू समाजमा पनि यस्ता नियतिपीडित  व्यक्ति पक्कै हुँदा हुन्, नहुने त कुरै छैन तर तिनका बारेमा ती ती समाजमा के–कस्ता लोकोक्ति प्रचलित छन् वा छैनन् त्यो पनि मलाई ठ्याम्मै थाहा छैन। आज यहाँ म मेरो समाज र मेरै छरछिमेकसित सम्बन्धित एउटा पुरानो सम्झना कोट्याउँदै छु धन प्यारो हुने भनिएकाहरूका बारेमा नभएर ज्यान प्यारो हुने भनिएकाहरूका बारेमा।

कोरी, कोढी वा महारोगी अर्थात् कुष्ठरोगी।

यस्ता कुष्ठरोगले पीडित व्यक्ति मेरो जन्मथलो र २०६३ सालसम्मको बासथलो कलैया भवानीपुरमा पनि थिए र एक होइन, अनेक थिए। ती विभिन्न धर्म, जात, लिङ्ग, भाषा तथा सामाजिक–आर्थिक स्तरका थिए। रोगले पनि कतै जात, धर्म, लिङ्ग, भाषा र सामाजिक–आर्थिक स्तर भनेर छुट्याउँछ र ? अँ त, त्यस्ता रोगीहरूमध्ये फाटफुट रूपमा कोही कोही नेपाली भाषाभाषी सामान्य र सम्भ्रान्त दुवैखाले परिवारका ब्राह्मणजातीय महिला–पुरुष पनि थिए। गाउँका त्यस्ता अरू रोगीहरूसित चाहिँ खासै सम्पर्क थिएन मेरो तर आफ्ना सजातीय र समभाषीहरूलाई भने म राम्रैगरी चिन्थेँ। आक्कलझुक्कल तिनका घरमा पनि जान्थेँ किनभने मिलनसार छरछिमेकीका नाताले  तीसित राम्रै सम्बन्ध थियो मेरो।

तिनीहरू कुष्ठरोगी वा महारोगी भएको कुरा ‘खुला गोप्य’  थियो गाउँ–समाजमा। सबैलाई थाहा थियो तर केही पनि थाहा नभएझैँ गर्थे सबै। त्यस्तै सम्बन्धित व्यक्ति र तिनका परिवारका सदस्यहरू पनि कतै केही पनि हुँदै नभएजस्तो देखाउन खोज्थे हामी बाहिरियाहरूसित। छोप्न–लुकाउन मिल्ने अङ्गमा त्यस रोगले गाँजेकाहरू बाह्रै महिना जुनसुकै बेला पनि ती अङ्गलाई छोपि नै राख्थे। झुक्किएर पनि बाहिर देखापर्न दिँदैनथे। जस्तै — खुट्टाको तल्लो भागमा रोग लागेका पुरुषहरू मोजा लगाइराख्थे आफ्नै घरभित्र बस्ता पनि भने महिलाहरू सदाकाल फरियाको फेरले खुट्टा ढाकिराख्थे। समाजले थाहा पायो भने घृणा गर्छ, उपेक्षा र अपमान गर्छ भत्रे पीरले। सबैलाई थाहा भएकै कुरा हो—अज्ञानवश यस रोगलाई पूर्वजन्मको डरलाग्दो पापको परिणामका रूपमा परम्परादेखि लिँदै आएको छ हाम्रो रूढिवादी एवम्‌ अन्धविश्वासी समाजले। तर जे भए पनि मेरो गाउँघरमा ब्राह्मणलगायत उपल्लो जातका र अलि सम्पत्र परिवारका कुष्ठरोगीलाई घरपरिवारकाले माया नै गर्थे। उपेक्षापूर्ण बोली–व्यवहार गर्दैनथे, घरबाट निकाला गर्दैनथे र बाहिरियाहरूले पनि मनमा जे–जस्तो लागिराखे पनि तिनलाई र तिनका परिवारजनलाई हेप्ने–होच्याउने, उपेक्षा गर्ने र रोगीलाई घरनिकाला गर्न दबाब दिने आदि अमानवीय र संवेदनाहीन काम गरेको मलाई थाहा छैन। रोगी र रोगीका परिवारजन भने निश्चय नै हीनताबोधले प्रबल रूपमा गाँजिएका हुन्थे र चुपचाप गोप्य रूपले औषधि–उपचारमा लागिराखको हुन्थे। अँ त, यस्तो थियो घरानियाँ र ठूलो जातका कुष्ठरोगीहरूको र तिनका परिवारजनको भित्री–बाहिरी अवस्था।

तर अनेपालीभाषी र विपन्न वर्गका कुष्ठरोगीहरूको अवस्था भने  त्यस्तो थिएन। ती घनघोर उपेक्षित हुन्थे आफ्नो घरपरिवारका व्यक्तिहरूबाटै पनि। आफन्तहरूबाटै पनि। ती हजुरबा–हजुरामा होऊन्, बाबु–आमा होऊन्, दिदी–बहिनी होऊन्, दाजु–भाइ होऊन्, पति–पत्नी होऊन् वा छोरा–छोरी होऊन्, चरम उपेक्षा र घृणाको पात्र भएर घरबाट निकालिन्थे। कतै एकान्तवासमा गएर भीक मागी जीवनयापन गर्न बाध्य हुन्थे। औषधि–उपचार त सपनाकै कुरा हुन्थ्यो तिनका लागि। कसले गराइदिने र किन गराइदिने ? सन्चो–बिसन्चो सोध्‍न र अनुहार हेर्न समेत तिनका घरबाट कहिल्यै कोही पनि जाँदै जाँदैनथ्यो भने अरूको त झन् के कुरा ! त्यस्ता, घरबाट बहिष्कृत कुष्ठरोगीहरूको एउटा आफ्नै समाज बन्थ्यो  विभित्र जात, लिङ्ग, धर्म, भाषा र संस्कृतिको सुन्दर समन्वय भएको एउटा विशुद्ध मानवीय समाज। घोर असहिष्णु, क्रूर र कठोर समाजभन्दा  एकदमै फरक सहिष्णुता, सौहार्दता, संवेद्यता र सहयोगिता जस्ता उदात्त मानवीय गुणहरूले सम्पत्र समाज र समग्रमा अप्रत्यक्षतः विश्वबन्धुत्ववादी समाज। म आज कलैयाको  त्यस्तै सरल, निष्पाप, चरम दरिद्र र परम दुःखी कुष्ठरोगी समाजसित सम्बन्धित आफ्नो चार–पाँच दशक पुरानो सम्झना पोख्तै छु।

अँ, मेरो घरदेखि पाँचै मिनेटजतिको पैदल दूरीमा दक्षिणतिर ‘मोतीबाग’ नाउँको बस्ती छ। अहिले नगरविस्तार भएर बसेको नयाँ बस्ती हो यो। पहिले त्यहाँ  ठूलो उपवन थियो जातजातका आँपैआँपको। ‘मोती’ नाउँ गरेका कुनै व्यक्तिविशेषको बाग अर्थात् बगैँचा भएको हुनाले त्यसको नाउँ मोतीबाग रहेको हो भत्रे कुरा मैले केटाकेटीबेलादेखि नै सुन्न पाएको हुँ। केटाकेटी छँदा म आफ्नो टोल–छिमेककी सिग्देल्नीहजुरामा र आमा, दिदी वा अन्य महिला र बालमण्डलीको साथ लागेर अघिपछि बाख्रा चराउन र आँपको मौसममा काँचाकचिला वा पाकेका आँप बटुल्न जान्थेँ त्यस बगैँचामा दिनभरि। घना झाडीकै रूपमा थियो मोतीबाग त्यसताका, दिउँसै पनि स्याल कराउने। र त्यही मोतीबागभित्र पश्चिम–उत्तर सीमान्त क्षेत्रमा थियो बढीमा आठ–दशवटा छाप्राछाप्री भएको र पानी खानलाई पक्की इनार समेत भएको एउटा स–सानो बस्ती। सानो बस्ती भए पनि त्यो एउटा सानो संसार नै थियो घर–परिवारबाट उपेक्षित, अपहेलित र बहिष्कृत  कुष्ठरोगीहरूको। हामीले नदेखेका, नचिनेका कुन्नि कताकताको गाउँठाउँका विभित्र जात, लिङ्ग र उमेरका अनेक महिला–पुरुष नियमित बसोबास गर्थे त्यहाँ र त्यसरी त्यस बस्तीले नाउँ पाएको थियो ‘कोरियाटोला’ अर्थात् कोरीटोल।

कहिलेदेखि कुष्ठरोगीहरूले बास गर्न थालेका हुन् त्यहाँ, त्यो त मलाई थाहा छैन, मैले त होस सँगालेदेखि नै त्यो बस्ती र ती मानिसहरूलाई देख्‍न थालेको हुँ। त्यस्तै त्यहाँ बिहान–बेलुका चुलो धुँवाएको र रातीराती कहिलेकाहीँ खैलाबैला चलेको अनि कहिले चाहिँ धिमिकधिमिक…ठुमुकठुमुक…र छमकछमक…गर्दै ढोलक, झ्याली र मुजुराहरू बजेको पनि देख्‍न–सुत्र पाएको हुँ। त्यो क्रम त्यहाँ २०४३–२०४४ सालसम्म चलिरह्यो। कुनै धनी व्यक्तिविशेषको निजी जग्गामा त्यो बस्ती रहेको भए पनि ती दुखियाहरूलाई जग्गाधनीले उठीबास लगाउन खोजेको कहिल्यै थाहा भएन मलाई। बरु कलैयामा बिजुलीबत्तीले प्रवेश पाएपछि  त्यस टोलमा पनि  सरकारी खर्चमा तार तानेर लगी दुई–तीनवटा शक्तिशाली चीम बाल्ने व्यवस्था गरिदिएर अँध्यारो जीवन बाँचिरहेकाहरूको त्यस बस्तीलाई पनि झलमल्ल तुल्याइएको प्रसङ्गको चाहिँ राम्रै हेक्का छ।

मलाई सम्झना भएसम्म त्यस बस्तीमा प्रायः सबैजसो तराईमूलका र स्थानीय भोजपुरी र थारूभाषाभाषी परिवारका रोगीहरू नै बस्थे । पछि एकजना पर्वतीय मूलका र अझ पहाडतिरका नै पुरुष पनि आई बसेको सम्झन्छु म। भन्टाङ्भुन्टुङ् समेत गरी त्यहाँ बस्नेहरूको सङ्ख्या बीस–बाईस जति हुँदो हो। जातको कुरा गर्ने हो भने त्यहाँ थारू, मुलमान र अरू दुई–तीनथरी जातका पनि थिए। मैले थाहा पाउँदा त्यहाँ पहिले एउटी होचीहोची थरुनी बूढीआमै र एकजना अग्ला, दाह्री–लुङ्गीवाल मुसलमान बूढाबा थिए अनि साथमा थिए काला, गोरा र गहुँगोरो वर्णका अन्य दुई–चार जना अधबैँसे र तन्नेरी–तरुनीहरू पनि। ती सबैले आफ्नो जातीय पोसाक लगाएका हुन्थे र अरू पोसाकलाई पनि आफ्नै पाराले लगाउने गर्थे ती। जस्तै— थरुनी बूढीआमै फरिया–चोलो नै लगाउँथिन् तर उनको फरियाको फेर फर्काएर घुँडासम्म आउनेगरी कम्मरमा  घुसारिएको हुन्थ्यो खाँटी थरुहटतिरका थरुनीहरूको जस्तो।

ती थरुनी बूढीआमै र मुसलमान बूढाबालगायत धेरै जनाका दुइटै हात–खुट्टाका कैयौँ औँलाहरू फतक्क गलेर झरेका थिए, ठुटिएका थिए र डुँडिएका थिए। त्यस्तै नाक नेप्टिए–चेप्टिएका थिए। तिनका ती अङ्गहरूमा जताततै घाउ नै घाउ थिए। ती घाउहरूबाट रगत–पीप बगिरहेको हुन्थ्यो र त्यहाँ जहिलेसुकै झिँगा भन्किराखेका हुन्थे। त्यस्तै ती सबैले खुट्टामा थाङ्नाथरा वा प्लास्टिक बाँधिराखेका हुन्थे, कसैले औँलाका जरैदेखि लिएर गोलीगाँठासम्म, कसैले घुँडासम्म र अझ कसैले त तिघ्रासम्मै पनि। कसैको त एउटा वा दुइटै खुट्टाको घुँडाभन्दा मुनिको भाग  कुहिएर झरिसकेको थियो। कसैका दुवै हातका औँला झरेर हत्केला मात्र बाँकी थियो भने कसैको हात चाहिँ कुहिनासम्म झरिसकेको थियो। तीमध्ये एउटै मात्र खुट्टा हुनेहरू पनि थिए र दुइटै खुट्टा नहुने पनि थिए। एउटा खुट्टा सद्दे हुनेहरू वा दुइटै खुट्टा गलेको भए पनि लौरो टेकेर कसैगरी हिंड्न सक्नेहरू एक हातमा लौरो र अर्को हातमा माग्ने भाँडो बोकेर हिँड्थे। औँला–हत्केला झरेकाहरू भिक्षापात्र कुहिनामा झुन्ड्याएर हिँड्थे। दुइटै खुट्टा घुँडासम्म वा तिघ्रासम्म नहुनेहरू पीँधमा टायर बाँधेर टायरको चप्पल वा काठका ठेउकाको भरमा हातले टेकेर पीँधको टायर घिसार्दै र घस्रीपस्री गर्दै भीक माग्न हिँड्थे। तीमध्ये कोहीकोही एक्लै नभएर दोक्लै पनि हुन्थे अर्थात् उही रोगले गाँजेका पतिपत्नी, दाजुभाइ, अथवा अन्य कुनै नातादार वा मन मिल्ने साथी। त्यस्तामध्ये बढी अशक्त व्यक्ति काठको बाकसजस्तो सानो चारपाङ्ग्रे गाडामा बस्थे हातमा भिक्षापात्रका रूपमा सिलेबरको कुच्चिएको ठूलो कचौरा वा हातले समात्न सजिलोका लागि फलामे मोटो तारको उझिन्डो लगाइएको टिनको ठूलो बट्टा झुन्ड्याएर। खुट्टामा टायरको मोटो चप्पल बाँधेर खोच्याङ्खोच्याङ् गर्दै भएपनि अलिअलि हिँड्न सक्ने तिनका महिला वा पुरुष साथीले पछिल्तिरबाट ठेलागाडालाई आफ्ना दुवै डुँडे हातले घचेड्दै गुडाएर लैजान्थे। त्यतिबेला उनीहरू दुवै जना पालैपालो सक्दो कारुणिक पाराले भाका हालेर र लेब्रो तानेर फलाक्तै पनि हुन्थे दाताहरूको ध्यान आफूतिर आकर्षित गर्न र मन पगाल्न। एउटाले भन्थ्यो— ‘दे राम ….!.’  अर्को भन्थ्यो ‘दिलादे राम ….!’ अनि फेरि उसैगरी ‘देनेवाला..!.!.!..’, ‘सीताराम.. ! ! !’। उनीहरूमध्ये धेरै जनाको भिक्षापात्र सिलेबरको कचौरा नभएर त्यही टिनको ठूलो बट्टा हुन्थ्यो कुच्चिएको।

एकान्त परिवेशमा रहेको ती उपेक्षित मानवहरूको त्यो सानो टोल पहिलेपहिले पूरै चकमन्न हुन्थ्यो दिनभरि पनि, रातीको त झन् कुरै भएन, किनभने त्यसको छेउछाउमा कुनै पनि गृहस्थको घरै थिएन। पछि रूखहरू मासिँदै गए, घरहरू बन्दै गए र मानव बसोबास बढ्दै गयो। उपेक्षा र घृणा गरेर उनीहरूसित अन्य छिमेकी गृहस्थपरिवारले कुनै पनि किसिमको सम्पर्क नराखे पनि पहिलेजस्तो बस्नै डर लाग्ने वातावरण पछि रहेन। त्यस्तै पहिले त्यहाँ एक्कल–दोक्कल रोगीहरू बस्तै आएका थिए भने कालान्तरमा समाजमा कुष्ठरोगीको सङ्ख्या बढ्दै गएको हुँदा र सामाजिक चेतनाको स्तर चाहिँ यथावत् नै रहेको हुँदा नयाँ नयाँ रोगी युवक–युवतीहरू पनि आश्रयका लागि त्यही टोलमा शरण पर्न आउन लागे। त्यति मात्र नभएर उनीहरूले त्यहीँकासित बिहे पनि गर्न थाले र सन्तान पनि जन्माउन थाले। यसका साथै अलि पछिपछि कुष्ठरोगले नछोएका एकदमै सद्दे जीउका तन्नेरी–तरुनीहरू पनि त्यहाँ आएका आफ्ना जोडा वा जोडीको मायाले र सामाजिक आर्थिक पीडाका कारणले पनि उनीहरूलाई खोज्दै त्यहीँ आइपुगेर फेरि सँगै बस्न थाले। यसरी त्यस बस्तीमा छाप्राको सङ्ख्या थपिँदै जान थाल्यो।

अँ त, ती निरीह प्राणीहरू गाउँघरमा बाँडिएर भीक माग्न निस्कन्थे। सबको आफ्नो निश्चित टोल र घर हुन्थ्यो माग्ने। ती धेरै रोगीहरूमध्ये कलैयाको हाम्रो भवानीपुरटोलमा अझ त्यसमाथि पनि मेरो घर भएको टोलमा चाहिँ प्रायः बूढापुराना र हात–खुट्टा, नाक गुमाएकाहरू खोच्याङ्खोच्याङ् गर्दै वा उही बाकसजस्तो ठेलागाडामा बसेर गुड्दै–गुडाउँदै आउँथे। कहिले ती एक्लाएक्लै हुन्थे र कहिलेचाहिँ चार–पाँच जनाको समूह भएर पनि आउँथे। तर त्यसरी समूहमा भए पनि भीक चाहिँ सबैले आ–आफ्ना भाँडामा बेग्लाबेग्लै माग्थे। यो काम प्रायः बिहान सूर्योदयको लगत्तै पछिदेखि लिएर हामीले भात खानुअघिसम्मका समयमा सम्पन्न हुन्थ्यो। ‘भात खाएपछि के भीक दिनु ! दान त खानुभन्दा पहले पो दिनु पर्छ भन्ने संस्कारले गर्दा नै हाम्रा अभिभावकहरू उनीहरूलाई बिहान आउन भन्थे। तदनुसार उनीहरू त्यसरी एकाबिहानै आउँथे र आउँदा कोही कुनै देवी–देवताको नाउँ जोडतोडले उच्चारण गर्थे लेब्रो तानेर। कोही हिन्दी वा भोजपुरी भाषाको कुनै भजनका टुक्रा लगातार गाइरहेका हुन्थे। धेरैजसो चाहिँ घर–घरको मूलदैलोछेउ उभिएर “हई लोथ–लाचार के माया करीँ” (यो अपाङ्ग–असहायलाई माया गर्नुहोस्)  वा “ए माई, चाउर दिऊ” (ए आमा, चामल दिनुहोस्) र “ए बबी, चाउर दन” (ए नानी, चामल देउन) भन्दै  सबै आ–आफ्नै तरिकाले कराइरहेका हुन्थे। हामीकहाँ आउने थरुनी आमै, भोजपुरीभाषी एउटी कालीकालीआमै, मुसलमानबूढाबाबा र अन्य एक–दुई महिला–पुरुषलाई त त्यस टोलभित्रका कुनकुन घरका बच्चा–बच्चीको नाउँ के, के हो भन्ने सम्म पनि कन्ठै थियो। लामो समयदेखिको प्रायः दिनदिनैको भेटका कारणले ती हामीसित पूरै झ्याम्मिसकेका थिए। त्यस्तै अनौपचारिक र ढीठ पनि भइसकेका थिए भने हाम्रो निम्ति पनि ती पक्कै केही आत्मीय भइसकेका थिए। त्यसैले होला, तिनले घरघरमा गएर कराई कराई भीक माग्दा रिसाएर कुनै कुनै घरका दुच्छर बाबुआमा र तिनका पुल्पुलिएका केटाकेटीले ‘तोहर बापके कमाई बा ? जा नादियाई भीख’ (तेरा बाबूको कमाइ छ र ! जा, दिइँदैन भीकसीक)  भनेर तिनको घोर अपमान गर्ने गरेजस्तो क्षुद्रता हामीबाट कहिले पनि हुने गर्दैनथ्यो। कहिलेकाहीं अरू कामको अल्झोले गर्दा हामीलाई चामल ल्याउन ढिलो पनि हुन्थ्यो र त्यसरी कुर्नुपर्दा उहीे मोटो फलामे तारको उझिन्डो लगाइएको टिनको ठूलो बट्टा देब्रे कुहिनामा झुन्ड्याएकी थरुनीआमै मेरो घरको मूलढोकाछेउ बाटोमा बसेर ढोका ढक्ढक्याउँदै कहिले मलाई र कहिले मेरा दिदी, भाइ र बहिनीलाई सम्बोधन गर्दै गुनासाको भावमा एक सुरले कराउँथिन् —“हो, बेयास बौवा (व्यासबाबू), चाउर दन हो….!’ हे सबितरीबबी (सावित्रीनानी), चाउर द न हो !”, ‘हो, शुकदेवबौवा, चाउर दन हो….!’ “हे, मनोरमाबबी, चाउर दन हो…..!,’ केतना देरसे बाहर ठडुवा के चिचियाइतारी, आ…”(कतिका बेरदेखि बाहिर उभिएर चिच्याउँदै छु, र…..)। कहाँसम्म भने दिदी–बहिनीको बिहे भएर उनीहरू टाढा आ–आफ्ना घरमा गइसकेपछि पनि अनभिज्ञताका कारणले ती थरुनी बूढी आमै र एउटी अर्की अधबैँसे आमै पहिलेपहिले जस्तैगरी उनीहरूलाई सम्बोधन गरेर भीक माग्दै हुन्थे— “हे सबितरीबबी, हे मनोरमाबबी, जल्दी चाउर दन हो !… केतना देर से बाहर ठडुवाके चिचियारतारी, आ….”।

यी कुष्ठरोगी भिक्षुकहरूको भीक माग्ने शैली सम्बन्धी सम्झना पोख्‍ने यस क्रममा मलाई यीबाहेकका अरूअरू भिक्षुकहरूको याचन–शैलीको पनि झल्झली सम्झना आउँदै छ अहिले। हो, हामीकहाँ यी कुष्ठरोगीहरू मात्र नभई अरू अरू प्रकारका अर्थात् सामान्यखाले भिखारी वा मगन्तेहरू पनि बाह्रै महिना दिनहुँजसो आइरहन्थे। तिनको पनि भीक माग्ने कला आफ्नै प्रकारको हुन्थ्यो। त्यस्ता भिक्षुकमध्ये एक जना भिक्षुकको छवि मेरा आँखामा अहिलेसम्म पनि झल्मलाइरहेकै छ। ती भिक्षुक हाम्रो टोलमा बराबर आइरहन्थे। ती मुस्लिम धर्मावलम्बी त थिए नै र सम्भवतः सुफी सम्प्रदायका फकीर पनि थिए। अग्लो कदका र पचहत्तर वर्षजतिको उमेरका ती वृद्ध फकीर सेतो लामो कुर्ता र कोठे रङ्गीन लुङ्गी लगाउँथें भने शिरमा टोपी पनि लगाउँथे मुस्लिम धर्मगुरुहरूले लगाउने पाराको र तिनको गलामा स्फटिकका दुई तीनवटा माला पनि झुन्डिराखेका हुन्थे। चिउँडोमा सेताम्मै लामो दाह्री त झन् हुन्थ्यो नै। ती भीक माग्न झोलीतुम्बा बोकेर आउँथे तर अरूहरूजस्तो कसैलाई सम्बोधन गरेर माग्दैनथे। ती त टाढैदेखि मजाले उच्च स्वर र मीठो लयमा जीवन र जगत्‌को नश्वरताको भाव र मानवतावादी सन्देशले भरिएको निर्गुण भजन गाउँदै आउँथे सबैलाई बैराग्य रसमा डुबाउँदै—

“ना…. घर तेरा… ना…. घर मे…रा…
दुनियाँ… रै….नबसे…रा….जी……
मा….टी… ओढन, मा….टी पेन्हन,
मा…टी…मे… मिल जा…ना….जी……
तिनका… चुनी चुनी महल बनायो…
एक दिन छोडके जा…ना… जी…….”

करुणाद्र स्वरमा उनको यो भजन सुन्दा संसारदेखि मन विरक्तिएर आउँथ्यो मेरो। त्यसबेला मलाई झलक्क सम्झना हुन्थ्यो आफूले पढेको लेखनाथ पौड्यालको गौँथलीको चिरिबिरी कविताका पङ्क्तिहरूको —

“तिमीले भन्छौ यो घर मेरो
म पनि कहन्छू यै घर मेरो
…अघि कति भन्थे यै घर मेरो
कति कति घस्थे रङ्ग कमेरो
…पछि कति कतिको यो हुन जाला
कति कति जीवन यसले खाला
…ईंट–काठको बटुली रास
यो घर ठाडो पार्ने खास
सकल बिलाए कर्मी ज्यामी
ओत बसेका छौँ अब हामी”

र बालकृष्ण समको अभिव्यक्ति पनि म झलक्क सम्झन्थें—

“यो कुनै बास हो नित्य मेरो जीवनमार्गको
कतैतिर म हिँडनेछु स्वप्‍न पूरा भएपछि”

त्यसो हुनाले मलाई ती फकीरप्रति साह्रै श्रद्धा जाग्थ्यो। म उनलाई अरू भिक्षुकको हाराहारीमा राख्‍नै सक्तिनथेँ,  राख्तै राख्दिनथेँ। म त तिनलाई लोककल्याणको कामनाले भिक्षुक रूप धारण गरी सबैलाई आध्यात्मिक ज्ञान बाँड्दै हिँडेका कुनै सिद्धपुरुष नै ठान्थेँ  र अरूलाई भन्दा बढी चामल दिन्थेँ।

मेरो बाबा बिहान नित्यपूजाका क्रममा भिक्षुकहरूको भाग भनेर प्रतिदिन आठ–दश मुठी चामल छुट्याउनुहुन्थ्यो। हामी केटाकेटीहरू दिनकादिन त्यही छुट्याइएको चामल उत्साहपूर्वक लगेर भिक्षुकहरूका भिक्षापात्रमा दामासाहीले बाँडचुँड गरेर खन्याइदिन्थ्यौँ। ‘म दिन्छु’,  ‘नाइँ म दिन्छु’ भन्दै त्यस कामका निम्ति कहिलेकाहीँ  आपसमा हानथाप समेत गर्थ्यौँ हामी। कथम्‌कदाचित् कुनै दिन कारणवश कुनै पनि भिखारी दैलामा आएनन् भने त्यस दिन छुट्ट्याइएको चामल र अघिल्लो दिनको सञ्चित चामल समेत उनीहरूलाई भोलिपल्ट दिन्थ्यौँ एक भन्दा बढी भिखारी आए सबैलाई उसैगरी दामासाहीले र एकजना मात्र आए भाँडामा भएजति सबै एउटैलाई। त्यसरी कुनै कुनै दिन एक जनामात्र आउँदा र आफू एक्लैले एकै दिन एउटै घरबाट निकै चामल थाप्‍न पाउँदा त्यस्ता भिक्षुक साह्रै खुसी हुन्थे र ती अरू दिनभन्दा बढी नै जयजयकार मनाएर जान्थे।

हामीपछि हाम्रा छोराछोरीले पनि उसैगरी हानथाप गरीगरी भीक दिन थाले ।

त्यसताका विभिन्न ठाउँमा गरी हाम्रो पाँच–छ बिगाहा मज्जाको धान खेत थियो र साथमा थियो पुर्खौली पेसा जजमानी पनि। त्यसैले हामीकहाँ अन्नपातको  अभाव थिएन। पछि खोलाले जम्मै खेत खाइदियो र हामीले अलिअलि पढे–लेखेर सानोतिनो जागिर खान थालेपछि जजमानी पेसा पनि छोडियो राजीखुसीले। तर पनि ऋषितुल्य  बाबाको सत्‌ले र तिनै भिक्षुकहरूको आशीर्वादले समेत होला हामीलाई ‘के खाऊँ, के लगाऊँ’ को चिन्ताले  कहिल्यै पिरोल्न पाएन, पुगिसरी नआएपनि। त्यसैले हाम्रो परिवार दुईचार जना भिक्षुकलाई दैनिक दुईचार मुठी भिक्षा दिन र अभ्यागत–अतिथिको हार्दिक स्वागत–सत्कार गर्न कहिल्यै पछि परेन।

अब फेरि फर्कौँ कुष्ठरोगी भिक्षुकहरूको प्रसङ्गतर्फ नै।

अँ, मोतीबागको त्यस सानो टोलमा बस्ने ती कुष्ठरोगीहरू बिसन्चो भएको दिन वा बढ्ता झरी परेको दिनमा बाहेक अरू दिन प्रायः नबिराईकन आउँथे र त्यसरी बिहानभरि गाउँतिर दश–पन्ध्र घरदेखि बीस–पचीस घरसम्म चाहारेर चामल र कहिलेकाहीँ कुनैकुनै घरबाट जडाउरी लुगाफाटा समेत बटुली आ–आफ्ना गुँडमा फर्कन्थे। चुलो धुवाँएर जो जुरेको खोलेफाँडो खान्थे। त्यसपछि उनीहरूको दिनचर्याको दोस्रो चरण हुन्थ्यो दिनभरि बजारतिर गएर फेरि पनि भीकै माग्नु। अनि दिउँसभरि कलैयाबजारका किरानापसल, कपडापसल, हार्डबेयरपसल, खुद्रादालचामलपसल, तरकारी–पसल, खुर्सानीपसल, चिउरा–भुजापसल, सख्खरपसल, फलफूलपसल, दहीपसल, सुर्तीपसल र  भान्सापसललगायतका ठूला साना प्रत्येक पसलतिर छरिएर आफ्नो भिक्षापात्र तेर्स्याउँदै चहारिरहन्थे बिहान गाउँटोलका घरघर चहारेजस्तै।  कपडा, किराना र हार्डवेयरका पसलेहरू र होटलेहरू बाहेक अरू पसलेहरूले आफ्नो बेच्‍न राखेका सामान अर्थात् तरकारी, चामल, दाल, चिउरा, सख्खर, सुर्ती, खुर्सानी आदि चीजबीज नै एक–एक चिम्टी ती सबै भिक्षुकका भाँडाभाँडामा हालिदिन्थे प्रायः झर्कोफर्को नगरीकन। अरू ठूला पसलेले भने पाँचपैसे वा दशपैसे ढ्याक हुर्याइदिन्थे उनीहरूतिर। यसैगरी सबैको दिनचर्या चलेको थियो।

त्यसरी बिहानभरि कैयौँ घरको कुकुर भुकाएर र  दिनभरि लखतरान हुनेगरी लखर्किएर कमाएको चामल, चीजबीज र पैसाले उनीहरूको पेट दुवैछाक मजाले भरिन्थ्यो। भरिन्थ्यो मात्र होइन, चामल त निकै उब्रिन्थ्यो पनि। जुन उनीहरू बेच्थे  र त्यसबाट आफ्ना अरूअरू गर्जो  टार्नुका साथै भ्याएसम्म घरका आशामुखीहरूको गर्जो समेत  टारिदिन्थे। त्यसका साथै आफ्नो त्यस उपेक्षित टोलका सबै जना मिलेर त्यही चामल बेचेको पैसाबाट वर्षमा एक–दुई पल्ट सामूहिक रूपमा बडो भक्तिभावले त्यहाँ धुमधामसित अठजाम (अष्टयाम) अर्थात् एक अहोरात्र अखण्ड हरिकीर्तन लगाउँथे र भोलिपल्ट कीर्तनको समाप्तिपछि पूजित देवप्रतिमालाई खटमा सजाएर राखी बाजागाजा र नाचगानसहितको शोभायात्रा निकालेर नगरपरिक्रमा गरी विसर्जन गर्थे।

मेरो छिमेकमा उनीहरूको बसोबासको त्यो क्रम माथि उल्लेख गरिएझैँ झन्डै त्रिचालीस–चवालीस सालसम्मै रह्यो। त्यसपछि खै कुनचाहिँ व्यक्ति वा निकायको तत्परतामा र कुनचाहिँ दाता वा दातृसंस्थाको लगानीमा हो कुनि मेरो घरदेखि दुई किलोमिटरजति पूर्व, कलैया बजारदेखि पूर्वोत्तर र बारा जिल्ला अदालत, जिल्ला विकास समिति र मालपोत कार्यालय रहेको ठाउँभन्दा उत्तरतिर टेङ्डहर नदीको किनारमा सुव्यवस्थित र सुविधायुक्त भवनहरूको निर्माण गरेर निःशुल्क आवास, भोजन र औषधोपचारको समेत समुचित चाँजोपाँजो मिलाई उनीहरूलार्ई त्यहाँ सारियो।  त्यसपछिको उनीहरूको अवस्थाबारे भने मलाई केही थाहा छैन, किनभने त्यसपछि उनीहरू मेरा छिमेकी पनि रहेनन् र उनीहरूले भीक मागेर पेट पाल्नुपर्ने स्थिति पनि रहेन।

उनीहरू त्यसरी मेरो छिमेकबाट स्थानान्तरित हुनुभन्दा केही वर्षअघिको, उनीहरूको मण्डलीकै एक निरीह सदस्यसित सम्बन्धित र  मैले देखे–सुनेर राम्रैगरी  थाहा पाएको एउटा मार्मिक प्रसङ्ग म अब यहाँ पोख्तै छु,जसले मेरो मन, मस्तिष्क, चेतना, बुद्धि, स्मृति, भावना र संवेदनालाई चिरकालसम्म रन्थन्याइदियो।

त्यो प्रसङ्ग यस्तो छ :

अँ, त्यस टोलका तीस–पैँतीस वर्षीय एकजना एकल युवक अरूभन्दा निकै बढी गलेका थिए त्यस रोगले। बर्सौँवर्षदेखि पारिवारिक उपेक्षा र बहिष्कार, सामाजिक घृणा, सधैँको विरक्तलाग्दो एक्लो जीवन, कुष्ठरोगले सर्वाङ्ग गलेर–कुहिएर पृथ्वीका निम्ति मात्र नभई आफ्नै निम्ति समेत ठूलो भार बनेको शरीर, त्यसमाथि पनि भीक माग्न जानसमेत नसकेर आफूजस्तै कुष्ठरोगले गलित छिमेकी मगन्तेहरूको आश्रित हुनुपर्ने जस्तो अत्यन्त करुण र अत्यन्त दारुण अवस्था आदि आदि कारणले आफ्नो जीवनप्रति अपार घृणा जागेर आएछ उनलाई। त्यसैले त्यस भित्री–बाहिरी असह्य पीडाबाट एकैचोटि सदाका लागि मुक्त हुने बलियो अठोट र मसक्क आँट गरेछन् उनले। अनि आफ्नो त्यस अठोट र आँटलाई कार्यरूप दिनका लागि एकदिन दिउँसो मध्यानीपख टोलका सक्नेजति अरू सबै नारीपुरुष भीक माग्न बजारतिर छरिएपछि सलाईको एउटा भरी बट्टा कमिजको खल्तीमा राखी आफ्नो छाप्राको छेवैबाट देवकीलालको पोखरी र मीलको बीच भएर गङ्गापुरगाउँतिर सोझिएको कच्ची सडकैसडक पाँचसय मीटर जति पश्चिमतिर खौराहा नाउँको खोल्सोको पुलपारि सडकको उत्तरपट्टि रहेको काभ्रोको अजङको रुखमुनि खण्डहर बनिसकेको देवीथानमा घस्रीपस्री पुगे उनी वैशाख–जेठ महीनाको मध्याह्न बेलाको तराईको टन्टलापुर घामले सेकिँदै र खल्खलाएको पसिनाले निथ्रुक्किँदै। अरूका लागि पाँच मिनेटजति लाग्ने त्यस ठाउँमा एक घण्टा जति लगाएर बल्ल बल्ल पुगेका उनले त्यसपछि त्यस जनशून्य थलोमा अरू दुई घण्टा जति लगाएर कसैगरी छेउमै सडकको दक्षिणपट्टि रहेको आँपको ठूलो बगैँचाका प्रचण्ड गर्मीले खरिएका भएभरिका पत्कर र  काभ्रोको रूखमुनि छरिएका पत्कर समेत सोहोरेर त्यसै काभ्रोको रुखमुनि देवीथानको छेउमा थुपारी डङ्गुर लगाए उनले। अनि चुलिएको त्यस पत्करको रासमाथि बसेर खल्तीबाट सलाई झिकेर सर्र कोरी आफ्नो वरिपरि आगो सल्काए। चारैतिरबाट आगाको मुस्लो उठ्यो एकछिन, तर त्यो त सुकेर खङ्ग्रङ्ङ भएका पत्करहरूको आगो मात्र थियो परालको आगो जस्तै। दाउरा–मुढाको आगो जस्तो ठोस वा निकै बेर राम्रैगरी बलिराख्ने आगो त थिएन। त्यसैले त्यो आगो एकैछिन बेतोडले ह्वाह्र्वार्ती मुस्लो फालेर बल्यो अनि फेरि जुन वेगले बलेको हो त्यसै वेगले स्वात्तै निभेर सेताम्मे खरानी भयो छिनको छिनमै, त्यसरी त्यस एकान्त ठाउँमा आफ्नो वरिपरि चारैतिरबाट आगाको ज्वाला दनदन दन्काएर आत्मदाह गरी घृणित जीवनबाट सदाका लागि छुटकारा पाउने उनको सपनालाई लोप्पा ख्वाइदिएर। अब त उनलाई झन् सकस बढ्यो।  एकछिन अघिसम्म त उनको जीउ कुष्ठरोगले मात्र गलेको थियो। उनलाई त्यसैको मात्र पीडा थियो। त्यो पीडा त जुन थियो त्यो आफ्नो ठाउँमा शतप्रतिशत यथावत् छँदै थियो। अब त त्यसमाथि पनि झन् अर्को भयानक पीडा समेत थपिएको थियो सर्वाङ्गभरि आगाको असह्य जलनको । घाउ नै घाउले फतक्कै कुहिएको–गलेको जीउभरि झन् आगाले पोलेको फोकैफोका, कत्लैकत्ला र अझ त्यसमाथि दुर्दान्त जलनको मरणान्त छट्पटी र वेदना छुट्टै। आत्मदाह गरेर प्राणविसर्जन गरी चिरशान्ति र चिरसुख प्राप्त गर्ने तीव्र चाहनाको वशीभूत भएर र त्यसका निम्ति लालायित भएर जसरी सहजै उनी त्यस अकल्पनीय दुष्कार्यमा लागिपरेका थिए, त्यो त्यसरी नै पूर्णतया निष्फल भएको थियो। चकनाचूर भएको थियो। यसरी उनको त्यो अथक प्रयास एकदमै निरर्थक साबित भएको थियो। पूरै हास्यास्पद भएको थियो। जीवनले त उनलाई पूरै धोका दिएको थियो थियो, मृत्युले झन् त्यसभन्दा पनि ठूलो धोका दिएको थियो। आत्मदाह गरेर कहाँ त्यस घोर दुर्गन्धी नारकीय शरीरलाई खरानी पार्ने उत्कट कामना थियो उनको, तर यहाँ भने त्यो शरीर खरानी हुने कुरा त परै रहोस् जाबो एक मुठीको प्राणपखेरु समेत पनि भुर्र उड्न सकेन। कठै !

अब ? अब त उनी अघिको भन्दा पनि महाको डरलाग्दो र महाको घीनलाग्दो ज्यूँदो मुर्दा भए। न बोली छ, न त कुनै हलचल नै। छ त केवल उही चर्को घीन र कुरूपतामाथि अझ चर्को घीन र कुरूपता थपिएको मसान जस्तो कालो र अधमरो ठुटो शरीर। पखेटा जति कुहिएको, भुत्ला जति सबै भुत्लिएको–झरेको, मासुजति सबै गलेको–पिल्सिएको जम्मा मुठीभरिको प्राणपखेरु। त्यसपछि उनी चेतनाशून्य भएर, निश्चेष्ट भएर अर्धमूर्च्छित अवस्थामा दिनभरि त्यही चीसो र सेताम्मे खरानीको थुप्रोमाथि त्यतिकै मिल्किरहे।

घाम अस्ताएपछि अलि शीतल भएर आयो वातावरण र अलिकति बौरियो उनको प्राण। अनि फेरि फर्किए उनी कसैगरी घस्रीपस्री कोरियाटोलको आफ्नो त्यही अभिशप्त गुँडमा अघि जाँदाको भन्दा दोब्बर–तेब्बर समय लगाएर। तर अब सुङ्गुरको खोरजस्तो त्यस गुँडमा छिर्ने र भित्र–बाहिर गर्ने सामर्थ्य रती पनि बाँकी थिएन उनमा। त्यसैले बजारतिरबाट लखतरान भएर भर्खरै मात्र फर्केका छिमेकीहरूले त्यस आँपको बगैँचामा उनको दैलोको छेउमै अघिल्तिर भित्रबाट फ्याङ्लो सुकुल र झ्याङ्प्वाले थाङ्ना ल्याएर ओछ्याई लडाइदिए उनलाई र माथिबाट ओढाइदिए  एउटा पातलो, मैलोले काती परेको र पीप–रगत कट्कटिएको ओढ्ने नाउँको ठसठसी गन्हाउने थाङ्नो। ती बिचराबिचरीहरूको आफ्नै अवस्था ‘आफैँ त महादेव उत्तानो पर् कल्ले देला बर्’ भत्रे पाराकै भएपनि तिनीहरूले आफ्नो हविगतले भ्याएसम्म स्नेहपूर्वक उनको सेवा गरे। छिमेकी–धर्मको पालना गरे, गरिरहे मनोयोगले। बिरामीले बिरामीको सेवाटहल ! सुन्दै अचम्म लाग्ने कुरा।

रात बित्यो, बिहान भयो अनि सूर्योदयसँगै फेरि प्रारम्भ भयो उनका छिमेकीहरूको उही चिरन्तन भिक्षायाचनको दैनन्दिन समयसारिणी। छाप्रा–छाप्राबाट निस्के वृद्ध–वृद्धादेखि बालक–बालिकासम्म सबैसबै जना उही रीतिले र छरिए यत्रतत्र।

उनी भने निश्चेष्ट लडिनै रहे त्यहीँ एक्लै। घन्टौँपछि छिमेकीहरू फर्केर आए झोला भरेर र चूलो धुवाँएर थाले पेट भर्न। उनको मुखमा पनि माड लगाइदिन खोजे तिनीहरूले मायाले, तर उनले सकेनन् त्यो निल्नै  र पूर्ववत् लडिरहे निश्चेष्ट। दिउँसो फेरि छिमेकीहरू समूहबद्ध भएर छिरे कलैयाबजारमा र छरिए पसलपसलमा। उनी फेरि एक्लिए, लडिरहे, मिल्किरहे। सूर्यको गतिसँगै कहिले छाया पर्थ्यो जीउमा र कहिले सर्वाङ्ग भत्भती पोल्थ्यो टन्टलापुर घामले। तर छेकिने–छलिने उपाय हुँदैनथ्यो। उनी ठाउँ सर्न र ओल्टेकोल्टे फर्कन त के चल्न–चटपटाउन समेत सक्तैनथे। त्यसमाथि झन् कागले आएर उनको खुट्टामा, हातमा, टाउकामा, जीउमा जताततै ठुङ्थ्यो र रगतपच्छे हुन्थ्यो उनको जीउ।  घाउमाथिको घाउमाथि घाउ थपिन्थ्यो। उनी स्वयम् धपाउन नितान्त असमर्थ थिए। धपाइदिने अर्को कोही पनि हुँदैनथ्यो। कहिलेकाहीँ कुनै बेला त्यही बाटो गरी हिँड्ने घाँसी–घँसिनीले देखे भने धपाइदिन्थे। तर त्यो जुनसुकै बेला पनि सम्भव थिएन।

साँझ छिमेकीहरू गुँडमा नफर्कुन्जेल कोही हुँदैनथ्यो उनको कुरुवा।  कुरुवा बसेर साध्य पनि त थिएन छिमेकीहरूलार्ई। बिहानभरि गाउँका कुकुर भुकाउँदै र पचास थरीका सयथरी भनाइ खाँदै घरघर नचहारे र दिनभरि उसैगरी बजारका पसलपसल नचहारे तिनका मुखमा माड लाग्दैनथ्यो भने ती विचरा गलितहरू चौबीसै घण्टा उनको कुरुवा बस्न कसरी सकून् ? तै राति भने स्याल–कुकुरको दैया चल्न दिँदैनथे पालैपालो पालो पहरा बसिदिएर। त, यसै–यसैगरी एकसाता जति बित्यो।

मैले पहिलै दिन साँझसाँझपख घाँस काटेर घर फर्कँदै गरेकी एउटी छिमेकी महिलासित सिद्धेश्वर विद्यालयको चउरमा भेट हुँदा उनले लगाएको बेलिबिस्तारबाट थाहा पाई मगज रन्थनिएर उतिबेलै दौडँदै मोतीबागको त्यस टोलमा गएर उनलाई हेरेको थिएँ। आत्मदाहको प्रयासको घनघोर असफलतापछि भर्खरैजसो त्यहाँ आइपुगेर लडिराखेका थिए उनी त्यतिबेला।

त्यसपछि पनि एक–दुई दिन दिउँसो गएको थिएँ म फुर्सतको मौका पारेर र एकेकछिन हेरेर फर्केको थिएँ। त्यसो त म मात्र किन र, थाहा पाउनेजति अरूअरू पनि धेरै जना गएका थिए, जाने गर्थे। तर त्यसले के हुन्थ्यो र ! मूक हेराइ मात्र थियो, रमिते हेराइ मात्र थियो त्यो हाम्रो। जस्तासुकै निठुरीको पनि मन–मुटु हल्लाइदिने घटना–प्रसङ्गबाट जन्मेको महाकारुणिक दृश्य थियो त्यो। त्यसैले हेर्नै पनि कम्ती कठिन थिएन र हेरिरहनु मात्रको कुनै औचित्य पनि थिएन। सहयोग नगर्ने भएपछि सहानुभूति मात्रको अर्थ नै के ! तर उनको कुष्ठरोगले सर्वाङ्ग गलित र त्यसमाथि झन् थपिएको सर्वाङ्ग पोलाइका कारणले अतिशय रूपमा दुर्गन्धित त्यस जीवितावस्थामा नै मृतवत् बीभत्स शरीरको छेउमा गएर एकछिन उभिनु मात्र पनि ठूलो दुस्साहसको कुरा थियो भने तिनको सेवा– शुश्रूषा र औषधि–उपचारका निम्ति को अघि सर्ने ? फेरि उनको शारीरिक अवस्था त्यसैपनि मृतप्रायः भइसकेको थियो र अब उनलाई जीवनतिर फर्काउनु नितान्त असम्भव थियो। त्यसो हुनाले नै समाज पनि नियति जस्तै निठुरी भएको थियो उनीप्रति र त्यसै समाजको अङ्ग भएकाले म पनि त्यस्तै हुन पुगेको थिएँ। त, उनको अवस्था दिन–प्रतिदिन र छिन–प्रतिछिन हीनतर हुँदै गयो। मान्छेहरूले हेर्न जान छोडे,  घाँसी–घँसिनीहरू त्यस बाटोबाट तर्किएर हिँड्न थाले। हिँड्नै पर्ने बाध्यता आइलागे उनीहरू त्यता आँखा पर्दै नपर्ने गरी अन्तअन्तै हेरेर परैदेखि नाक–मुख थुन्दै हिँड्न थाले। यो त भयो हामी सद्दे र सुकिला बाहिरिया गाउँलेहरूको कुरा, तर त्यस टोलका बासिन्दा र झन्डै उनकै जस्तो नियति भोग्न विवश रहँदै आएका ती निरीह छिमेकी त कहाँ जाऊन् र के गरून् बिचरा !

त्यसपछि साताको अन्त्यतिरको कुनै दिन म कामविशेषले हुलाकमा गएको थिएँ। कलैयाबजारदेखि त्यस्तै एक किलोमिटरजति पश्चिमतिर कलैया—वीरगन्ज सडकको छेउमै मोतीबागदेखि थोरै दक्षिण–पश्चिमतिर, ‘खौराहा’ खोल्सोको तल्लो चाहिँ पुलको पारिपट्टि नजिकै छ कलैया हुलाक। काम सिध्याएर घर फर्कंदा पीचबाटोबाट नभएर बाटो छोट्याउने हिसाबले गहुँबाली काटिसकिएर खाली भएको खेतैखेतको बीच भएर हिँड्ने तर्खरमा पानी सुकेको खौराहा खोल्सोको वारिडिलमा उक्लेँ म। र देखेँ मैले त्यहाँ नजीकै डिलैमाथि रहेको बयरको एक्ले ठूलो बोटमुनि आलो माटोको एउटा सात–आठ फिट लाम्चो र डेढ–दुई फिट अग्लो ढिस्को। त्यहींनेर मेरा छिमेकी भैँसीगोठालाहरू पनि वल्लो खेतको आलीमा उभिएर छाता ओढी भोजपुरीमा गफ गर्दै भैसी चराउँदै थिए। म तिनीहरूको नजीकै पुगेँ र तिनीहरूको “पर्नाम, दाजु !” को जबाफ “खुस रह !” भनेर दिँदै मैले छेउको त्यस आलो ढिस्कोतिर आँल्याउँदै तिनीहरूलाई “त्यो के होला हँ ?” भनेर सोधेँ। त्यसको उत्तरमा तिनीहरूले कुरा बाँडचुँड गरी भने “दाजु, यो ढिस्को एउटा कोरियाको चिहान हो। त्यै क्या अस्तिन उ…त्यै परको देवीथानको छेउमा आफ्नो जीउमा आगो लगाएर मर्न खोजेको थिएन कोरियाटोलको एउटा कोरी जबान ! जसलाई दिनभरि कागले पनि ठुँगिराख्थे नि। हो, एकसाता थला परेर त्यो हिजो दिउँसो मरेछ र त्यसलाई हिजै बेलुका यहाँ ल्याएर गाडेछन् कोरियाहरूले।”

सुनेर झसङ्ग भएँ म।  एकाएक टोलाए मेरा आँखा र ती अनायास एकफेर सरर्र रसाउन पुगे त्यता फर्केर, जहाँ अब उनी माटोमुनि समाधिस्थ भई त्यस चिरप्रतीक्षित महाआनन्दको अक्षय अनुभूतिमा लीन भएका थिए।

(गरिमा  पूर्णाङ्क ३३९, फागुन २०६७)