संस्मरण : उफ्...! खेरै गयो रगत ! - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

संस्मरण : उफ्…! खेरै गयो रगत !



– निर्मोही व्यास

“के हो व्यासजी, देशको यस्तै दुर्दशा गराउनका लागि हुँदो न खाँदोसित तपाईँले जनआन्दोलनमा होमिएर आफ्नो दुब्लो ज्यानको जो भएको रगत बगाउनु  भएको थियो ?”

अचेल मेरा प्रिय जनहरूले भेटैपिच्छे मसित मायालु पारामा गर्ने गरेको गुनासो हो यो।

उफ्…! खेरै गयो रगत ! त्यसैले के जबाफ दिनु मैले ? यस प्रश्नको जबाफ दिनुपर्ने त हो जनताको रगतको सुरापान गरेर मात्तिन पल्केका तिनै स्वेच्छाचारीहरूले। यसको हिसाबकिताब त एकएक गरी जनतासामु बुझाउनुपर्ने हो तिनै नकच्चराहरूले। तर नकच्चराहरूको ओखती आजसम्म कतै उत्पादन भएको छ र !

म राजनैतिक दलको दलदलदेखि हिजो पनि निकै टाढा थिएँ, आज पनि निकै टाढा छु र भोलिका मितिमा पनि निकै टाढा रहनेछु। म त सत्यको पुजारी हुँ, सत्ताको होइन। सत्ता र सत्यको बीचमा अथाह अन्तराल हुन्छ भन्ने कुरा राम्रो गरी थाहा छ मलाई। म सार्वभौमसत्तासम्पन्न जनता। उन्मुक्त आकाशमा विचरण गरिरहेको चरा। जानाजान कुनै पिँजरामा पसेर आफ्ना पखेटा र पाउ कुँज्याउन कहिल्यै चाहिन मैले ! आफ्ना स्वस्थ मन–मस्तिष्कलाई कुहाउन कहिल्यै चाहिन मैले। देशलाई माया गर्न के कुनै पिँजरामा छिर्नैपर्छ र ? सत्ताको कबाफ र रबाफमा नलट्पटिई, नबिटुलिई स्वतन्त्र रहेर मातृभूमिलाई दिलोज्यानले आफू खुसी सेवा अर्पन सकिँदैन र ? हुँदैन र ? कुनै पनि राजनैतिक दलमा सम्मिलित नभए पनि आखिर यस देशको एउटा अनुभूतिशील र संवेदनशील साधारण नागरिक त हुँ नि म पनि ! त्यसैले बेलाबेला आफ्ना–बिरानाको दुश्चरित्रताले देश दुख्ता अरू देशवासीसरह मेरो पनि दिल दुख्छ नराम्रोसित। यस्तो दिल दुखेको बेला म कलम मात्र समाएर बसिराख्‍न सक्तिन। गतिछाडा र देश–जनतामाराको विरोधमा म विद्रोहको राँको समेत बोकेर निस्कन्छु सडकमा। सत्ता जुनसुकै होस् वा जोसुकैको होस्, त्यसले मेरो सत्लाई कहिल्यै डगाउन सक्तैन। त्यसैले ४६ सालमा जस्तै गरी झ्वाम्म हाम फालेको थिएँ म ६२–६३ को जन आन्दोलनमा र बगेको थियो मेरो पनि दुई–चार माना रगत, झेलेको थिएँ मैले पनि मरणान्त पीडा महिनौँसम्म।

मेरी बास्सै ! जनसमुद्र उर्लेको थियो कलैयाको भरतचोकमा। देशका अरू भागमा जस्तै विभिन्न उमेर र पेसाका असङ्ख्य नरनारी जन आन्दोलन नाउँको त्यस राष्ट्रिय महाअभियान वा महायज्ञमा होमिएका थिए। शिक्षक, प्राध्यापक, विद्यार्थी, डाक्टर, नर्स, वकिल, किसान, व्यापारी, श्रमिक, गृहिणी, समाजसेवी, लेखक, गायक, कलाकार, पत्रकार, कुन चाहिँ वर्ग सम्मिलित थिएन त्यसमा ! वकिलहरूको समूह उर्दीपोसाक लगाएर, किसानहरू हात–हातमा हँसिया र काँध–काँधमा कोदालो लिएर, गृहिणीहरू थाल ठटाउँदै त कुनै समूह हातहातमा लपलपाउँदो राँको नचाउँदै क्रान्तिकारी नारा घन्काइरहेका थिए दश–बाह्र दिनअघिदेखि यसैयसै गरी। त्यस्तै आन्दोलनको प्रतिरोधनिम्ति जताततै छाप्छाप्ती छरिएका थिए प्रहरीहरू पनि। आ–आफ्ना हातहतियार र सुरक्षा सामग्रीले सज्जित सयौँ सयौँको सङ्ख्यामा दङ्गा प्रहरी, जनपद प्रहरी, सशस्त्र प्रहरी अर्थात् भए जति सबै खालका महिला–पुरुष प्रहरीहरू। साथै घुमुवा सैनिक र प्रहरी पनि प्रशस्त सङ्ख्यामा परिचालित थिए र नजिकैको शिविरमा तैनाथ थियो शाही सेनाको ठूलो डफ्फा। चोकको पश्चिमतर्फ वारिपारि सडक ढाकेर परैसम्म लहरै उभिएका थिए प्रहरीहरू परस्पर हातेसाङ्लो पारेर।

हेर्दा हेर्दै निषेधित क्षेत्र तोडेर जिल्ला कार्यालयतर्फ लम्कियो जुलुस अदम्य उत्साहले झन् झन् चर्का नारा लगाउँदै। सडकको उत्तरतर्फ क्रमशः दूर सञ्चार कार्यालय र उद्योग वाणिज्य सङ्घको भवनको अघिल्तिरबाट बढिरहेको थियो जुलुस। त्यसै लाइनमा पश्चिमतिर टाँसिएर रहेको थियो प्रहरी कार्यालय र प्रहरी कार्यालयको ठीक सामुन्ने दक्षिणपट्टि सडकपारि थियो प्रमुख जिल्ला अधिकारीको कार्यालय। यी दुवै कार्यालयको सामुन्ने पुगेपछि आँखा झिमिक्क पनि हुन नपाउँदै अचानक परररर…गर्दै छुट्न थाले कैयौँ बन्दूकबाट गोलीका पर्रा तातो धुवाँ ओकल्दै र बर्सन थाले बाँसका असङ्ख्य लाठा–भाटा पनि ड्यामका ड्याम अन्नधुन्नसित जथाभाबी। अनि मच्चियो भागाभाग पूर्व, पश्चिम, उत्तर, दक्षिण जता जता पायो त्यतै त्यतै र सुरु भयो लखेटालखेट र हानाहान, ठोकाठोक ज–जसलाई पायो त्यसै–त्यसैलाई। जो जो सामुन्ने देखियो त्यसै–त्यसैमाथि लाठोले, भाटाले, बन्दूकका कुन्दाले र बूटले समेत जहाँ जहाँ पायो त्यहीँ त्यहीँ। भागे, सबै भागे, भाग्‍न सक्ने जति। ‘हूलमुलमा जीउ जोगाउनु’ भन्ने उखान थाहा नभएको होइन मलाई तर पनि मैले आफ्नो जीउ जोगाउन सकिन। भाग्‍नेहरूको हूलले घचेडिएर म ढलेँ घोप्टो परेर सडकको उत्तरी किनारमा पिच उप्केर यहाँदेखि उहीँसम्मै गेग्ऱ्यानैगेग्ऱ्यान भएको ठाउँमा घरर्र घिसारिँदै। मलाई कुल्चँदै भागे भाग्‍नेहरू। लडिरहेँ म ढुङ्ग्याने भुइँमा मुख जोतेर लमतन्न परी निश्चेष्ट। कति बेलासम्म ? जति बेलासम्म भाग्‍नेहरू भागिरहे मलाई कुल्चेर, ममाथि टेकेर। थापिरहेँ मैले आफ्नो  निर्धो शरीरमाथि असङ्ख्य खुट्टा र जुत्ताका अविरल प्रहारहरू। जब कोही चरोमुसो बाँकी नै रहेन मलाई कुल्चेर जान, त्यसपछि बल्ल मैले टाउको अलिकति उठाउन पाएँ।

शिरको ढाका टोपी भुइँमा मिल्किएको थियो। घोप्टो परेको पऱ्यै देब्रे हातले उठाएर लगाउनका लागि टाउकामा देब्रेपट्टि हात पुऱ्याउँदा हातका औँलामा तातो लेदो लत्पतियो।  छामिहेर्दा त अगाडिदेखि पछाडिसम्मै डुँड परेको रहेछ दुईतिर अग्लो डिल लिएर र बीचमा कुलो बगिरहेको रहेछ। के होला यो भनी अचम्म मानेर त्यो हातको हत्केला र औँलाको टुप्पामा हेर्दा त मेरी आमै ! रातो र तात्तात्तो रगतको लेदोको कुलो पो रहेछ। अनि अघिल्तिर भुइँमा र लगाइराखेको कमेज पाइन्टमा आँखा पर्दा त झन् मेरो होसहवास नै उड्यो। ओहो ! रगतको आहाल नै जमेको रहेछ भुइँमा। र लुगा त झन् छिपाको रातो रङ्ग घोलिएको भाँडोमा चोबलेर निकाले जस्तो राताम्मे र निथ्रुक्क भएको रहेछ। अब बल्ल पो स्पष्ट भयो मलाई म नराम्रोसित घाइते र रगतपच्छे भएको रहेछु भन्ने कुरा। अस्ति चार दिनअघि मात्र बाबाको श्राद्ध गरेको थिएँ र त्यसका निम्ति खौराएको थिएँ कपाल। त्यसैले पूरै मुडुलो थियो टाउको।

भागाभाग र लखेटालखेटको आतङ्कपूर्ण ध्वनि अझै तारन्तार आइरहेकै थियो कानमा। तर पनि अत्यधिक रगत बगेका कारणले मेरो उठ्ने सामर्थ्य हराउँदै गएको थियो। त्यसैले देब्रे हातले टाउकोको घाइते भागमा थिच्तै त्यसै अवस्थामा लडिरहेँ खै कति बेरसम्म हो ! अनि “दाजु !” भन्दै कसैले आएर उठायो मलाई अँगालोमा बेरेर। बडो सकसका साथ आँखा उठाएर उत्सुक हुँदै हेरेँ मैले त्यस दैवको अनुहार। ओहो ! ऊ त मेरो छिमेकी भतिजो सन्दीप सिग्देल पो रहेछ। सन्दीपले त्यसपछि लगत्तै लैजान खोज्यो अस्पताल उसैगरी अँगालो हालेर सहारा दिँदै। तर कहाँ पाउनु अस्पताल जान ! सडकमा तैनाथ सयौँ सयौँ बन्दूकवाल र डन्डावालहरूको हूलले बन्दूक र डन्डा सोझ्याउँदै लखेट्न थालिहाल्यो फेरि हामी दुवैलाई र त्यसपछि सन्दीपले प्रहरीहरूबाट कसैगरी मेरो ज्यान जोगाउने हेतुले त्यहीँ नजिकै उत्तरपट्टि रहेको उद्योग वाणिज्य सङ्घको भवनको भुइँतलामा सञ्चालित आफू कार्यरत संस्था ‘महालक्ष्मी फाइनान्स’ तिर मलाई कुदाउन थाल्यो। आँगनमा पुऱ्याएको मात्र के थियो डन्डाधारीहरूले लखेट्तै गएर मलाई त्यहाँबाट खोसेर लैजान खोजे। सन्दीपले अर्को जुक्ति लगाएर मलाई त्यहाँबाट भित्रभित्रै घुमाउँदै कम्पाउन्ड जोरिएको दूर सञ्चारको कार्यालयको आँगनमा पुऱ्यायो। तर त्यहाँ पनि चारैतिरबाट डन्डा सोझ्याउँदै दौडादौड गरेर घेर्न आइपुगे आठ–दस जना उनै डन्डाधारीहरू। सन्दीपले आफ्नो कार्यालयीय परिचय दिँदै “उहाँ मेरो मान्छे हो, इलाज गराउन अस्पताल लैजान दिनोस्” भनेर अनेक बिन्तीभाउ गर्दा पनि उनीहरू पटक्कै मानेनन् र उसको अँगालोबाट झम्टेर मलाई खोस्न खोजे। अनि केही सीप नलागेर मेरो सुरक्षाको लागि उसले मलाई बाहिर सडकमा नै ल्याउनुपऱ्यो। र आइपुगेँ म फेरि उही माझ सडकको घटनास्थलमा। उफ्…! २०६३ साल वैशाख ४ गते सोमवारको अपराह्न ३.३० बजेको अलच्छिना समय थियो त्यो।

कार्यालयको परिसरभित्र त सुरक्षा नपाएको मान्छेले बाहिर घम्साघम्सी मच्चिरहेको मूल सडकमा दमनकारीहरूको माझमा झन् कसरी सुरक्षा पाउनु ? म अझै पनि सन्दीपको अँगालोमा नै थिएँ। रगतको धारो तर्तरी छुटिरहेकै थियो। टाउको हुप्प सुन्निदै गएर र प्रलयकारी रिङटा छुटेर म मूर्च्छित भई ढल्ने अवस्थामा पुगिसकेको थिएँ। सडकमा प्रहरीहरूले मलाई त्यसरी फेरि झाङ्गलझुङ्गल पार्दै र डन्डा उज्याउँदै गरेको स्थितिमा मानवाधिकारकर्मी श्रीकृष्ण सुवेदी नाउँका मित्रको विशेष तत्परतामा प्रहरीबाट मैले बल्ल बल्ल मुक्ति पाएँ। तर हिँडेर अस्पताल पुग्‍न सक्ने त के कुरा, उभिन सक्नेसम्म पनि मेरो अवस्था थिएन। नजिकै सडकको दायाँ पेटीमा एउटा रिक्सा कोल्टे परेर लडिराखेको रहेछ,। त्यसका मुन्तिर माइक, लाउड स्पीकर र ब्याट्री पनि मिल्किराखेका हुँदा अघि जुलुसमा माइकिङ्‌का लागि प्रयोग गरिएकै रिक्सा हो भन्ने प्रस्टै थियो। त्यसलाई ठड्याएर मलाई कसैगरी बसाइयो आसनमा। सन्दीप बस्यो सँगै मलाई अँगालो मारेर। तर अब समस्या थियो चलाउने कसले ? त्यो महामारीमा कहाँ खोज्‍ने र कहाँ फेला पार्ने अघि नै ज्यान हत्केलामा लिएर बेपत्ता भएका सम्बन्धित रिक्साचालकलाई ? त्यसमाथि ओहो…! रिक्साका पाङ्ग्राहरू त झन् पङ्चर पो तुल्याइएका रहेछन्।

‘लुकेश’ नाउँका एक जना भोजपुरीभाषी पातला, अग्ला र आँटिला मेरा छिमेकी युवक खै कताबाट हो वायुवेगले आइपुगे मछेउ, र “म लैजान्छु सरलाई अस्पताल” भन्दै तान्न थाले रिक्सा। पङ्क्चर भएको रिक्सा चढेर चलाउने त कुरै भएन तर पनि चलाएको जस्तै गतिमा बेतोडले गुडाएर कुदाए उनले। रगतको धारो छुटिनै रह्यो मेरो शिरबाट घटनास्थलदेखि अस्पतालको आकस्मिक कक्षको शय्यासम्मै।

अस्पतालमा ठूलो घुइँचो लागिसकेको थियो म पुगुन्जेलमा हल्लीखल्ली भएर मेरा परिचित र आत्मीय जनको। केही एफ.एम.र रेडियोबाट म घाइते भएको र गोलीले मेरो टाउकाको माथि माथि छेडेर गएको खबर प्रसारित भइसकेको रहेछ। मलाई भने गोली, लट्ठी वा भाटा केको चाहिँ प्रहारबाट म त्यसरी घाइते हुन पुगेको हुँ र घाइते भएर ढलेको हुँ अथवा ढलेपछि घाइते भएको हुँ भन्नेबारे केही पनि होसै थिएन। त्यस असमेल घुइँचोमा आफू ढलेको र पचासौँ जना भगुवाहरूबाट कुल्चिएको मात्र थाहा थियो।

कैयौँ सामान्य घाइतेहरू भागेर सोझै अस्पताल पुगी औषधि उपचार गराउँदै रहेछन्। उपचारपछि ती पनि सहानुभूति प्रकट गर्न आइपुगे मेरा वरिपरि।

मेरो टाउकामा १२ वटा टाँका लगाइयो। अनि आँखा, नाक र मुख मात्र बाँकी राखेर शिरको बाँकी सम्पूर्ण भागमा सेतो पट्टी टम्म बाँधियो। त्यसपछि स्लाइनपानी दिएर एक छिन आराम गराइवरी कलैयाको सरकारी अस्पतालबाट वीरगन्जको सरकारी अस्पतालमा पठाइयो। एम्बुलेन्समा चढ्ने बेलामा कलैयाकै सिद्धेश्वर संस्कृत विद्यालयमा पढाउने कान्छो भाइ गौतम र कुमारी बैङ्कको वीरगन्ज ड्राइपोर्ट शाखामा इन्चार्जका रूपमा सेवारत जेठो छोरो शरद पनि त्यति बेलै आइपुगे मोटरसाइकलमा हुरी भएर।

प्रहरीहरूद्वारा चारैतिरबाट परर्र ढुङ्गा–मुढा, लाठी, बाँसका भाटा र गोलीको वर्षा। आँखा चिम्लेर आन्दोलनकारीहरूको भागाभाग। मूलसडकको उत्तरी किनारको गेग्ऱ्यानमाथि ढलेको र रगतले नुहाएको आफ्नो फुकिढले शरीर अनि त्यसैमुनि आफ्नै रगतको तात्तातो आहाल। त्यसै स्थितिमा आफूमाथि फेरि प्रहरीहरूको चौतर्फी आक्रमण उफ्…! यिनै दृश्य मात्र झल्मलाइरहेका थिए मेरा आँखामा।

वीरगन्जको सरकारी अस्पतालको आकस्मिक कक्षमा पस्ता डाक्टर र तिनका सहयोगीहरूभन्दा पहिले ग्वार्ग्वार्ती सशस्त्र प्रहरीहरू आइपुगे र अभद्र शैलीमा ‘को ?, कहाँ ?, कसरी ?’ भन्दै केरकार गर्न थाले। तिनको प्रस्तुतिले एकदमै नरमाइलो अनुभूति गरायो। र मेरा कुरुवाहरूको भनाभन नै पनि पऱ्यो तिनीहरूसित। आन्दोलनका क्रममा त्यसै दिन दिउँसो ज्यान गुमाएका निजगढका हीरालाल गौतमको लासलाई त्यहीँ आकस्मिक कक्षको बाहिरपट्टि सुताइराखिएको रहेछ घुम्लुङ्ङ सेतो कात्रो ओढाएर। छाती ढक्क फुल्यो र मन–मुटु कहाल्लियो मेरो त्यो देखेर। मेरो मनको आँखाले त्यस ठाउँमा आफ्नो लास पनि देख्यो त्यसै गरी सेतो कात्रोले छोपेर भुइँमा लडाइराखेको।

कागतपत्रको औपचारिकतापछि कुनातिरको शय्यामा सुताइयो मलाई र थालियो उपचार। स्लाइनपानीले त एम्बुलेन्समा पनि निरन्तरता पाएकै थियो। छिनको छिनमै सहानुभूतिपूर्वक मेरो वरिपरि झुम्मिन आइपुगे म वीरगन्जमा कार्यरत संस्था ठाकुरराम बहुमुखी क्याम्पसका मेरा प्रिय सहकर्मी अनेक महिला–पुरुष प्राध्यापक मित्रहरू। त्यहीँ प्राध्यापनरत मेरो ठूलो भाइ शुकदेव त झन् म त्यहाँ पुग्‍नुभन्दा अघि नै पुगिसकेको रहेछ कान्छो भाइ र छोराद्वारा खबर पाएर। एक छिनपछि पर्सा जिल्लाको रेडक्रसका अध्यक्ष एवम् समाजसेवी श्याम पोखरेलजी र स्थानीय समाजसेवी तथा औषधी व्यवसायी सुरेश अर्याल पनि आउनुभयो।

त्यस सरकारी अस्पतालका डाक्टर, सहायक र नर्सहरू अर्थात् पूरै परिवारले जनआन्दोलनमा ऐक्यबद्धता जनाएका थिए। त्यसैले अस्पतालमा सुरक्षाकर्मी भनिनेहरूद्वारा नजानिँदो पाराले आतङ्क मच्चाइएको थियो। यो स्थिति वीरगन्जको अस्पतालको मात्र नभएर आन्दोलनप्रति समर्थन जनाइरहेका देशभरिका प्रायः सबै अस्पतालको थियो। अस्पतालमा छाप्छाप्ती थिए प्रहरी र सैनिकहरू। आन्दोलनका घाइतेहरू अपहृत तुल्याएर बेपत्ता पारिन्थे उनीहरूबाट। जनआन्दोलनमा घाइते भएकाहरूलाई काठमाडौँको मोडेल अस्पतालमा निःशुल्क उपचारको सुविधा उपलब्ध गराइएको हुँदा त्यो अस्पताल त्यस अवधिभरि सरकारको आँखाको तारो बनेको र त्यहाँ उपचारका क्रममा मरेका घाइतेहरूका शवलाई अस्पतालको मुर्दाघरबाट समेत लुटेर लगेका खबर सञ्चारमाध्यमहरूबाट प्रसारित हुँदै थिए भने त्यस्तो भयावह वातावरणमा अस्पतालबाट घाइते अपहृत हुनु त झन् के कुरा भो र !

त्यसो हुनाले म आन्दोलनमा घाइते भएर उपचार गराउन ल्याइएको थाहा भए मलाई पनि अपहरण गर्लान् भन्ने पीरले मेरा परिवारजन, आत्मीयजन र प्राध्यापक मित्रहरू पनि थर्कमान थिए। म चाहिँ शिरदेखि पाउसम्मै रगतले नुहाएको थिएँ र जीउका लुगाहरू रगतको कुण्डमा चोबलेर निकालेजस्तो देखिन्थे र यतिन्जेलमा ती कक्रक्क पनि परिसकेका थिए। त्यसैले आत्मीय प्राध्यापक मित्र ओम् बरालकी श्रीमती र स्वयम् पनि वीरगन्जमै त्रि.वि.को नर्सिङ क्याम्पसमा प्राध्यापन सेवामा रहेकी शीला मैनालीले मलाई भन्नुभयो— “सर, यो लुगाले अप्ठ्यारो पार्न सक्छ। त्यसैले सरलाई फेर्नका निम्ति म आफ्नो डेराबाट श्रीमान्‌को सर्ट–प्यान्ट लिएर आउँछु, नजिकै छ हाम्रो डेरा।” आहा ! यस्तो निश्छल हार्दिकता र आत्मीयता ! सुनेर त्यस घनघोर पीडाका बीच पनि हर्षाश्रुले आँखा रसाए मेरा। तर पनि मैले उहाँलाई आभार व्यक्त गर्दै विनम्रतापूर्वक भनेँ— “भैगो दुःख नगरौँ मित्र ! मेरै लुगा हो र रगत पनि मेरै हो। मलाई केही फरक परेको छैन। पछि घरबाट मेरै लुगा ल्याइदिहाल्छन् अनि फेरुँला नि। अनि सुरक्षाको के कुरा भो र ? म आन्दोलनको घाइते हुँ भन्ने त त्यसै पनि यहाँ सबैलाई थाहा भएकै छ। लुकाएर लुक्छ र ?”

त्यसपछि पत्रकार मित्रहरू आइपुगे वीरगन्ज र रक्सौल दुवैतिरका। उनीहरूले मलाई आ–आफ्नो भाषामा प्रश्न गरे— “सर, तपाईँ यो आन्दोलनमा नराम्रोसित घाइते हुनुभएछ। निकै रगत बगेछ। अहिले कस्तो अनुभव गर्दै हुनुहुन्छ ?”

मैले सकी नसकी जबाफ दिएँ— “शारीरिक रूपमा त मलाई एकदमै पीडा भइराखेको छ तर भावनात्मक रूपमा भने म प्रायः सामान्य नै अनुभव गर्दै छु। मक्किएर जर्जर भएको र जुनसुकै वेला गर्ल्यामगुर्लुम ढलेर घरभित्रका सारा जहानपरिवारको एकै चिहान हुने स्थितिमा पुगिसकेको घरलाई जगैदेखि भत्काएर पुनर्निमाण गर्नु अनिवार्य आवश्यक हुन्छ। घर बनाउने कर्मीहरूलाई निर्माणका क्रममा कहिले ईँटले लागेर, कहिले फलामे डन्डीले लागेर, कहिले झ्याल–ढोकाको चौकोस र खापाले लागेर त कहिले मचानको बाँस र फल्याक ढलेर चोटपटक लाग्‍न सक्छ। रगतको धारो छुट्न सक्छ। यो त सामान्य कुरा नै हो नि। म यस देशरूपी घरको एउटा प्रबुद्ध बासिन्दा र एउटा कर्मी। त्यसैले आफ्नो दायित्व वहनका क्रममा घाइते भएँ। यो एकदमै सामान्य र स्वाभाविक कुरा हो भन्ने लागेको छ मलाई। अनि म जुन माटोमा जन्मेँ, हुर्के, बढेँ, पढेँ र जीवन धारण गर्दै छु, परेको बखत उही प्यारो मातृभूमिको पवित्र पाउमा आज मैले आफ्नो शिरको दुई—चार माना रगतको अर्घ चढाएँ भन्ने ठानेको छु र त्यसो हुँदा यस घटनालाई मैले विशेष रूपमा नलिएर सामान्य रूपमा नै लिएको छु।”

ठीक यही जबाफ दुई घण्टाअघि कलैया अस्पतालमा मलाई टाँका लगाइँदै गर्दा मेरो शय्याको वरिपरि झुरुम्म झुम्मिएर यस्तै प्रश्न सोध्‍ने स्थानीय पत्रकार मित्रहरूलाई पनि दिएको थिएँ मैले।

उनीहरू विदा भएपछि मेरा केही आफन्तजन र प्राध्यापक मित्रहरूको उपस्थितिमा नै उद्दण्ड र रहस्यमय प्रकृतिका २५–३० को उमेरका चार–पाँच जना युवकहरू ग्वार्ग्वार्ती मेरो शय्याछेउ आए र कुटिल मुस्कान र अभद्र बोलीद्वारा मलाई आतङ्कित तुल्याउन थाले। तिनको अनुहारमा आँखा पर्नासाथ मैले तिनीहरूलाई झ्वाट्टै चिनेँ। ती कलैयाका सादा पोसाकधारी घुमुवा प्रहरी र सैनिक जवानहरू थिए।

दुई दिनअघि वैशाख २ गते शनिवारका दिन आन्दोलनलाई बल पुऱ्याउने हेतुले भरतचोकमा मेरो अध्यक्षतामा कविगोष्ठी सञ्चालन भएको थियो। त्यसमा स्थानीय थुप्रै कवि–कवयित्रीहरूले आगो ओकल्ने कविता सुनाएका थिए। म आफैँले पनि उस्तै प्रकृतिका दुइवटा कविता वाचन गरेको थिएँ। त्यस कविगोष्ठीलाई बिथोल्ने दुष्प्रयास गर्ने पनि तिनीहरू नै थिए।

अँ, केही छिनपछि ती निस्किए र त्यसको लगत्तै मित्र श्याम पोखरेलजीको मोबाइल बज्यो। एक छिन उताको संवाद सुनेपछि मित्रमण्डलीको सामुन्ने श्यामजीले भन्नुभयो— “ल ल ल ल, दाजुलाई अब यहाँ राख्‍नु ठीक छैन। उहाँलाई अपहरण गर्ने सम्भावना छ रे। त्यो थाहा पाएर हाम्रा एक जना हितैषीले आत्तिँदै भर्खरै मलाई फोन गर्नुभयो। त्यसैले जतिसक्तो चाँडो यहाँबाट निकालिहालौँ।”

उफ्… सबैका मुख सुके। नौ नाडी गले। मेरो त झन् कुरै भएन, ढक्क फुल्यो मुटु र सर्वाङ्ग काँप्यो थरर्र। त्यसपछि चढाइराखेको स्लाइनपानीको बोतल र तुर्ल्याङतुर्लुङ झुन्डेको नली हतारहतार झिकेर एकातिर मिल्काइयो र नाडीमा घोचेको त्यसको सियो चाहिँ यथावत् नाडीमै रहन दिएर कुदाइयो मलाई तर जाने पो कहाँ चाहिँ र कसरी ? कलैयाको घरमा जान भएन, त्यो सानो ठाउँमा लुक्न खोज्‍नु झन् आपत्तिजनक हुन्छ। वीरगन्जमै पनि भाइको घर शङ्काको घेरामा परेर असुरक्षित हुन सक्छ। लौन, कहाँ पो जाने त ?  खै कहाँ जाने, कहाँ जाने ! तर जतिसुकै फिटिफिटि परे पनि यसरी सोचविचार गरिराख्‍ने बेला थिएन। त्यसैले ‘जे त होला’ भनेर भाइकै घरमा डेरा गरी बस्ने प्राध्यापक मित्र ललन द्विवेदीको मोटरसाइकलमा चालक र भाइको बीचमा बसाएर कुदाइयो मलाई रानीघाटटोलतिर। पालोमा बसेका डाक्टर र उनका सहयोगीहरूलाई समेत जानकारी नै भएन अस्पतालको आकस्मिक कक्षमा भर्ना भएर उपचाररत एउटा रोगी यसरी थाहा न पत्तोसित बेडबाटै भागेको। अस्पतालको शय्याबाट भागेको यो मेरो दोस्रो घटना थियो। पहिलोचोटि २०५८ सालको साउनमा भागेको थिएँ म काठमाडौँको ओम् अस्पतालबाट। त्यसको बयान मैले पहिले नै कतै गरिसकेको छु त्यसैले यहाँ त्यसको सम्झना पोख्‍नतिर नलागूँ।

झमक्कै साँझ परिसकेको थियो र बाहिर वीरगन्ज सहरका घरघर र सडकका खम्बाहरूमा समेत लहरै बिजुलीबत्ती बलिसकेको थियो। सिमसिम पानी परिरहेको थियो। सडकभरि यत्रतत्र छाप्छाप्ती छरिएका सैनिक र प्रहरीहरूको बाक्लो गस्तीलाई छल्दै अनेक गल्ली–गल्छेडाको बाटो गरी मलाई पुऱ्याइयो रानीघाटटोलमा रहेको भाइको घरमा र डङ्रङ्ङ पल्टेँ म ओछ्यानमा।

बिहान दसबजेतिर भात खाएपछि देखि त्यति वेलासम्म मेरो पेटमा कुनै चारो त के पानीसम्म पनि परेको थिएन र पर्न पनि हुँदै हुँदैनथ्यो। अत्यन्त हानिकारक हुन्छ रे त्यस्तो अवस्थामा भोजन। डाक्टरबाट यस्तै कडा चेतावनी पाइएको थियो अघि अस्पतालमा। बरु चढाइनुपर्थ्यो अटूट रूपले स्लाइन पानी। त्यस्तो विषम परिस्थितिमा घरमा त्यो सम्भव हुने कुरै थिएन। म अर्धबेहोसीको स्थितिमा लडिरहेँ ओछ्यानमै विना औषधी, विना उपचार।

मध्यरातमा कैयौँ रेक्टर स्केलको भुइँचालो गयो। एक्कासी चिच्याएँ म त्यही अर्धबेहोसीमा नै — “ए…! भुइँचालो आयो…! भुइँचालो आयो…! ! भुइँचालो आयो भनेको ! ! !” तर सुतेका परिवारजनमा कुनै प्रतिक्रिया भएन मेरो त्यस चिच्याहटको। मेरो टाउकोका साथै सम्पूर्ण जीउ नै बेतोडले रिङिरहेको थियो फनफनी र उसै गरी जीउका साथसाथै ओछ्यान, खाट, कोठा र सिङ्गै घरै पनि रिङिरहेको थियो। यति हुँदा हुँदै पनि घरमा मबाहेक अरू कसैलाई पनि कुनै अनुभूति नै भएन। कसैबाट कुनै प्रतिक्रिया नै आएन। सबै मस्त निद्रामा थिए क्यारे। त्यस्तै अवस्थामा बिहानको चार बजेछ। मेरो अर्धबेहोसीपन हटेर म पूरै ब्यूँझिएँ। शरीरको अवस्था झन् भयावह भएको रहेछ र अब बल्ल थाहा पाएँ — भुइँचालो त मेरो शरीर र मनमा मात्र पो गएको रहेछ।

त्यसै बेला सिरानछेउमै रहेको ल्यान्डलाइन फोनको घन्टी बज्यो। मैले हात लम्काएर रिसिभर उठाएँ। चितवन भरतपुरबाट साहित्यिक मित्र केदार खनालज्यूको स्नेहले लफ्रक्कै भिजेको स्वर गुन्जियो — “अहिले कस्तो छ निर्मोहीजी ? … बान्ता त आएको छैन नि …? ए, बान्ता नआएको भए आत्तिनुपर्दैन, घाउ त बिस्तारै निको भइहाल्छ नि … केही परे खबर पाऊँ है !… लौ त शीघ्र स्वास्थ्यलाभको कामना !”  मैले सकी नसकी उहाँसित दुई–चार संवाद आदान–प्रदान गरेँ, आफूलाई अरू जे जे भए पनि अहिलेसम्म बान्ता चाहिँ नआएको बताउँदै। र रिसिभर बिसाउन नपाउँदै लगत्तै उत्तिखेरै अचानक ओछ्यानमै ह्वालालल बान्ता भयो आन्द्राभुँडी नै निस्केला जस्तोगरी शृङ्खलाबद्ध रूपले।

अब घरका सबै उठे जऱ्याकजुरुक र हस्याङफस्याङ गर्दै आइपुगे मलाई अँगालो हाल्न। यता म भने शिरको भयानक पीडाका साथसाथै एकाबिहानैदेखि लगातारको बान्ताको प्रकोपले समेत मरणान्त अवस्थामा पुगेँ। भाइ–बुहारी र छोरा–छोरीले अत्तालिँदै भएभरिका आफन्तलाई फोन गरेर बोलाइरहेका थिए। आन्दोलनका कारण यातायात दस–बाह्र दिनदेखि ठप्पै थियो। म त्यसै लल्याकलुलुक भइसकेको थिएँ तर बान्ता भने रोकिने कुनै लक्षणै थिएन। पूरै उज्यालो भएपछि वीरगन्जको प्रतिष्ठित दैनिक समाचारपत्र ‘प्रतीक’ का प्रधानसम्पादक दाजु जगदीशप्रसाद शर्मालगायत केही पत्रकार मित्र र क्याम्पसका प्राध्यापक मित्रहरू समेत आउनुभयो। भक्कानिनुभयो सबै जना मेरो मर्मान्तक अवस्थाले। एउटा मरन्च्याँसेको जीउबाट दुई–चार माना रगत बगेको थियो पन्ध्र–सोह्र घण्टाअगाडि। उपचारको नाउँमा भने प्राथमिक उपचारबाहेक कुनै गम्भीर उपचारको थालनी नै हुन पाएको छैन। अझ उल्टै, चढाइराखेको स्लाइनपानीको सिसी र नली समेत बाह्र घण्टाअघि नै झिकेर फाली अस्पतालको शय्याबाट कुलेलम ठोक्नुपरेको छ ज्यान जोगाउन। हरे…कस्तो विडम्बना !

फेरि अस्पताल जाने ? कसरी जाने  ? त्यहाँ सुरक्षित हुने भएको भए यस्तो अवस्थाको घाइते मान्छे अस्पतालबाट भागेर घरमा आई किन लुक्नुपर्थ्यो र ? नजाऊँ भने घरमै प्राण जाने अवस्था आइसक्यो। खै के गर्ने, के गर्ने !

म अब मर्ने नै स्थितिमा पुगेँ र छट्पटाइरहेँ। मेरो पीरले छट्पटाइरहे परिवारजन र प्रियजनहरू पनि। घरमा उपचार नपाएर मरिन्छ र अस्पतालमा चाहिँ सुरक्षाकर्मी भनिएका अपराधीहरूबाट अपहरणमा परेर मरिन्छ। मर्नु त अब पक्कापक्की छँदै छ। तर जानाजान कसरी गर्ने मृत्युवरण ? छ जोगिने केही उपाय ?

केही छिनको आपसी छलफलपछि मलाई फेरि त्यही अस्पतालमा लैजाने नै निधो गरे सबैले। ‘घरमा मर्नुभन्दा अस्पतालमा मर्नु नै कता हो कता बढी सन्तोषजनक हुन्छ, लौ  लैजाऔँ जे त होला’  भन्दै।

अनि फेरि उही मोटर साइकलमा उसै गरी कुदाइयो मलाई सरकारी अस्पतालको उही आकस्मिक कक्षमा। हिजो बेलुका देखिएको निजगढका हीरालाल गौतमको लास अहिले त्यहाँ थिएन। आफन्तलाई बुझाइयो होला कि, खै कुन्नि ! म आफैँ लास हुने अवस्थातर्फ घिसारिँदै थिएँ परिस्थितिद्वारा प्रतिपल, अनि मैले अरू लासको बारेमा के चासो लिनु !

मलाई हाते स्ट्रेचरमा सुताएर आकस्मिक विभागबाट सडकपारिको भवनमा सञ्चालित एक्स रे कोठामा लगे दुई जनाले सिमसिमे पानीमा झ्याइँकुटी पार्दै खुला आकाशमुनि। विना छाता। सिटि स्क्यान पनि अनिवार्य ठानियो मस्तिष्कमा आघात परे–नपरेको पत्तो लगाउन तर त्यसको सुविधा वीरगन्जमा उपलब्ध नहुने भएकाले त्यो पछि गर्ने गरी अरू उपचार थालियो फेरि। स्वास्थ्य स्थितिको गम्भीरताले गर्दा अस्पतालमा भर्ना नै भएर केही दिनसम्म बस्नुपर्ने अवस्था देखियो रिपोर्टका आधारमा। म चाहन्थेँ दिनभरि अस्पतालमा आएर उपचार गराऊँ र साँझ फर्केर फेरि घरै जाऊँ। अस्पतालको रातसित मलाई एकदमै डर लाग्थ्यो देशको भयावह परिस्थितिले गर्दा र मैले डाक्टरलाई त्यस निम्ति अनुरोध गरेँ पनि अघिल्लो रात त्यही डरले गर्दा आफू आकस्मिक कक्षको शय्याबाट भाग्नुपरेको घटनाको बेलिबिस्तार लगाउँदै। तर डाक्टरले भने — “तपाईँको उपचार त एक सातासम्म अस्पतालमा भर्ना भएरै गर्नुपर्ने खालको हो अनि डराएर उपचार कसरी हुन्छ ? डर त हामीलाई पनि त कम्ती छ र ? तर के हामी ड्युटी छाडेर घरै बसिदिने त ? त्यसैले मन दह्रो पारेर हुनोस् भर्ना, जे त होला।” र बसेँ म ‘इन डोर प्यासेन्ट’ भएर आठ दिन, आठ रात  सडकको वारिपारि दुवैतर्फ विस्तारित नारायणी उप क्षेत्रीय अस्पतालको पूर्वपट्टि रहेको नयाँ भवनको तेस्रो तलाको एउटा प्राइवेट कक्षमा।

भर्ना भएर शय्यामा लम्पसार पर्नासाथ स्लाइनपानी चढाउन थालियो लगातार र अनेक थरी खाने औषधी पनि सेवन गराउन थालियो दिनको तीन–तीन, चार–चारपल्ट। प्रतिदिन घाउ सफा गरेर पट्टी फेर्ने काम गरिन्थ्यो बिहानै बिहानै। शारीरिक पीडाको उपचार त चल्दै थियो गम्भीरतापूर्वक नै। तर त्यसभन्दा ठूलो मानसिक पीडा थपिँदै थियो दिनदिनै। अस्पतालका सबै डाक्टर र सहयोगी समेत आन्दोलनका पक्षधर भएकाले अस्पताल पूरै घेरामा थियो सैनिक र प्रहरीहरूको। परिसरबाहिरको स्थिति त जे थियो छँदै थियो। परिसरभित्र पनि छाप्छाप्ती छरिएका थिए ती। कति वेला तिनले आन्दोलनका घाइतेहरूका कोठामा वा डाक्टर नर्सकै कोठामा ग्वार्ग्वार्ती पसेर छानी छानी उनीहरूलाई लछारपछार पार्ने हो  अथवा अपहरण गरेर बेपत्ता पार्ने हो अनि त्यस किचाघानमा अरू पनि कैयौँ रोगीको कुन दुर्गति हुने हो भनेर जति वेला पनि त्राहिमाम् हुन्थ्यो सबैको मन र अतिरिक्त चालले मुटु भट्याकभट्याक गरिरहन्थ्यो। ओहो…! त्यस आठदिने अस्पतालबसाइमा मैले झेल्नुपरेको शारीरिक र मानसिक पीडाको बयान कसरी गर्न सक्नु खै ! साध्य भए पो !

दिनभरि कलैया र वीरगन्जका अनेक नातादार, आत्मीय मित्र र स्नेही परिचित महिला–पुरुषहरू पालैपालो भेट्न आइरहन्थे कुनै न कुनै उपायले। उसैगरी टाढाटाढाका साहित्यकार मित्रहरूको मायालु फोन आइरहन्थ्यो र त्यसले पनि ठूलो सञ्जीवनीको काम गरेको थियो मेरो निम्ति।

घाइते भएको नवौँ दिन र अस्पतालमा भर्ना भएर उपचार पाउन थालेको आठौँ दिन वैशाख १२ गते दिउँसो दसवटा टाँका काटियो र बाँकी दुइवटा टाँका चाहिँ पाँच दिनपछि कटाउन आउने निर्देशनसहित अस्पतालबाट डिस्चार्ज गरियो मलाई। औषधीचाहिँ अझै केही दिनसम्मै खाइराख्‍नुपर्ने भयो। टाउकामा अझ पनि पट्टी रहिरहेकाले कलैयाको आफ्नो मूलघरमा आउने अवस्था नभएको हुँदा वीरगन्जमै ठूलो भाइ शुकदेवको घरमा आराम गराउन लगिएँ म। अनि १७ गतेका दिन दिउँसो फेरि अस्पतालमा गएर बाँकी टाँका पनि कटाएपछि आफू बस्ने गरेको मूलथलो कलैयाको घरमा ल्याइपुऱ्याए मलाई भाइ–छोराले मिलेर। तीन महिनाअघि काठमाडौँ जाँदा गजुरीमा बसले किचेर घाइते भएकी मेरी श्रीमती वीणा अझै थला परिराखेकै थिइन्। घाइतेमाथि अब झन् अर्को पनि घाइते थपियो घरमा।

अस्पतालबाट डिस्चार्ज भएर आएको भए पनि मेरो अवस्था भने अझै ठीक थिएन। मलाई रिङटा लागि नै रहन्थ्यो चौबीसै घण्टा। बान्ता भइरहन्थ्यो घण्टाघण्टामा। दुवै आँखा भत्भती पोलिराखेर उघार्नै हुँदैनथ्यो। साथै अक्सिजनको कमी अर्को डरलाग्दो समस्या भएर थपिएको थियो मेरो शरीरमा। जतिसुकै खुला र स्वच्छ ठाउँमा पनि जुनसुकै वेला निसासिइरहन्थेँ। त्यसैले अब फेरि दिनदिनैजसो कलैयाको सरकारी अस्पतालमा लगिन थालेँ म। डाक्टरबाट सल्लाह पाइयो — ‘एकचोटि सिटि स्क्यान गरिहेरौँ न त, कहीँ मस्तिष्कमा पो क्षति पुगेको छ कि ? नत्र त यस्तो नहुनुपर्ने !’ सल्लाह तर्कसम्मत थियो किनभने यो कुरा वीरगन्जको अस्पतालमा भर्नाको वेलामा पनि भनिएकै थियो र त्यो काम टाउकाको टाँका काटेर जीउ अलि हिँडडुल गर्नलायक भएपछि मात्र गराउने सल्लाह थियो डाक्टरको। त्यस ताकासम्म वीरगन्जमा सिटि स्क्यानको सुविधा उपलब्ध थिएन। त्यसैले अब मलाई काठमाडौँ नै लैजाने सल्लाह भयो सबैको र वैशाख २५ गते मित्र अच्युत मैनालीले मलाई हवाईजहाज चढाएर लग्‍नुभयो काठमाडौँ।

हामी सरासर पुग्यौँ भृकुटीमण्डप छेउको ‘मोडेल अस्पताल’ मा। काठमाडौँमा पढ्न बसेको कान्छो छोरा आकाश अघि नै अस्पतालमा  भेट्न आइसकेको रहेछ। त्यस अस्पतालका संस्थापक,वरिष्ठ सर्जन एवम् मेरा आदरणीय कवि मित्र डाक्टर सरोज धितालजीको सौजन्यमा उतिखेरै सिटि स्क्यानका साथै केही अन्य प्रकारले पनि स्वास्थ्य परीक्षण गरियो मेरो ‘जनआन्दोलनका घाइतेहरूको निःशुल्क उपचार गर्ने’ उहाँहरूको नीतिअनुसार पूर्णतया निःशुल्क रूपमा नै।

भोलिपल्ट दिउँसो रिपोर्ट हेरेर केही औषधीको नाउँ लेखिदिँदै सम्बन्धित विभागका विशेषज्ञ वसन्त पन्तले भने,   “सिटि स्क्यान र अन्य परीक्षणको पनि रिपोर्ट राम्रो आएको छ। शिरमा ठूलै घाउ लागेको र त्यो घाउ अझै आलै भएकोले स्वास्थ्य स्थितिमा केही अप्ठ्यारो देखिएको हो, दुईवटा औषधि थपिदिएको छु। पहिलेका औषधीका साथसाथै यी औषधिलाई पनि केही दिन निरन्तरता दिइराख्‍नोस्, सबै समस्या क्रमशः बिस्तारै हराउँदै जान्छ। आत्तिनु पर्दैन।”

त्यो सुनेर खुसी हुँदै थप औषधी किनिवरी उसै दिन घर कलैया फर्केँ म हवाईजहाजबाटै।

काठमाडौँबाट त्यसरी फुर्फुरिँदै घर फर्केँको भए पनि रिङटा, वाकवाकी र अक्सिजनको कमीको समस्याले भने मलाई फेरि पनि पिरोल्न छाडेन। झन्डै महिना दिन नै हुन थालिसकेको थियो घाइते भएको। स्वास्थ्यस्थिति भने सुध्रँदै जानुका साटो झन् उल्टै दिनदिनै एकपछि एक गर्दै नयाँ नयाँ समस्याले जेलिँदै जान थालेकोले अब त आजितआजित नै भएँ म तर जति जे जे भए पनि निको हुने अर्को उपाय नै पनि थिएन अस्पतालको शरण पर्नुबाहेक र उनै आत्मीयहरूलाई पिरोल्नुबाहेक। त्यसैले फेरि धाउन थालेँ म दिनका दिन कलैया अस्पताल कहिले त एकै दिनमा तारन्तार दुई–तीनपल्ट पनि कान्छो भाइ गौतम र जेठो छोरा शरदको सहारा लिएर मोटरसाइकलमा। डाक्टर  र तिनका सहयोगीहरू पनि छक्कै परिरहेका थिए तर रोगको निदान भने हुन सकिरहेकै थिएन।

बाहिर खाटा बस्तै गएको भए पनि भित्र भने शिरको चोटको पीडा आफ्नो ठाउँमा प्रायः छँदै थियो र शिरको त्यो भाग चौबीसै घण्टा एकोहोरोसित झन्झनाइरहन्थ्यो। बान्ता रोक्ने औषधी दिनको तीन–चारचोटि पनि खुवाइन्थ्यो मलाई तर पनि बान्ता चाहिँ कहिल्यै रोकिँदैनथ्यो। त्यसमाथि प्राणवायुको कमी, आँखाको जलनको पीडा अनि साथमा रिङटाको निरन्तर आक्रमण पनि उत्तिकै डरलाग्दो थियो। झन् वैशाखको तीस गतेदेखि मलाई अर्को अज्ञात रोगले अलिअलि गर्दै क्रमिकरूपमा गाँज्दै गएको थियो। मेरो चिउँडो वा च्यापु छिनछिनमा फररर फररर गर्दै दाहिने काननेर पुग्‍न थाल्यो र मुख अररो हुन थाल्यो। दाहिनेतिरका तलमाथि दुवैतर्फका बङ्गाराले तारन्तार गालाको भित्री भागलाई किचकाच पारेर छियाछिया तुल्याउनथाले। असह्य पीडाले गर्दा अर्धबेहोस भएँ र निद्राको नाउँमा आँखा झिम्मसम्म पनि हुन छाड्यो।

मेरो कुनै दिन र रात अस्पतालको शय्यामा बित्थ्यो स्लाइनपानी चढाएर भने लगत्तै फेरि अर्को दिन र रात घरको शय्यामा उसै गरी पानी चढाएरै बित्थ्यो रुवाबासीको स्थितिमा। मकवानपुरको भीमफेदी नजिक घर भई जागिरका क्रममा कलैया अस्पतालमा नर्सिङ सेवामा रहेर उच्च शिक्षारत हुँदै गजल, निबन्ध र संस्मरण लेखनमा चिल्लापातका रूपमा उदाउँदै गरेका मेरा नाताका नातिनीहरू शान्ति ठकुरी, स्मृति ठकुरी र नानुमैयाँ लामा ‘मधुमल्लिका’ लगातार तीन महिनादेखि वीणाको दैनिक मलम–पट्टी र स्याहारसुसारमा जुटिरहेका थिए स्नेहसाथ। र, अब फेरि उसै गरी मेरो सेवामा पनि दिनरात खटेर बिर्सिनसक्नु गुन लगाइरहेका थिए उनीहरू।

मैले यसै गरी वैशाखका बाँकी दिन काटेँ। अनि जेठको एक गते चाहिँ दिन अस्पतालको शय्यामा र रात आफ्नो घरको छानामाथि शान्तिको रेखदेखमा स्लाइनपानी चढाएरै काटेँ। ‘रात काटेँ’ के भन्नु ? उफ्…, कालरात्रीको पूर्वानुभव गर्दै बिताएँ।

भोलिपल्ट जेठ दुई गते बिहान सूर्योदयसँगै म प्राणान्तको स्थितिमा पुगेँ र खै कस्तो कस्तो वर्णनातीत पीडाको अनुभूतिले गाँजिएर डाँको छाड्दै रुन थालेँ। मेरो रुवाइसँगै घरमा रुवाबासी चल्न थाल्यो। पूरै टोलभरि हल्लीखल्ली मच्चियो। मेरा परिवारजन र आत्मीय मित्रहरू रामकृष्ण काफ्ले, अच्युत मैनाली र नारायण देवकोटाको संयुक्त तत्परतामा मलाई फेरि एम्बुलेन्समा राखेर वीरगन्ज अस्पतालमा लगियो। त्यहाँको सम्बन्धित विभागका एक जना वरिष्ठ चिकित्सकले उपचारका क्रममा स्पष्ट घोषणा गरे–“उहाँलाई मुखको र अन्य दाहिनेतर्फका पूरै अङ्गहरूको समेत प्यारालाइसिस (पक्षाघात) भयो, यहाँ यसको उपचार सम्भव छैन, काठमाडौँ लगिहाल्नोस्।”

त्यस महापीडाका बीच पनि म अझै सम्पूर्ण बेहोस भइसकेको थिइनँ, त्यसैले चिकित्सकको त्यो घोषणा सुनेर म त्यस क्षण अर्धबेहोसी अवस्थामै सम्हालिनै नसक्ने गरी क्वाँ…क्वाँ…डाँको छोडेर रोएँ। मैले अब आफ्नो जीवनका आफूले होस सँगालेदेखिका सबै दिनहरू सरर्र चलचित्रमा झैँ झल्झली देखेँ र तत्कालीन क्षणलाई आफ्नो जीवनको मीठो अध्यायको अवसान र तीतो अध्यायको आरम्भका रूपमा देखेँ र अस्पतालको त्यस शय्यामा म एउटै पीरले कङ्कला शब्द गरेर धर्ती नै उचालिने गरी आकाश नै फुटालिने गरी बर्बरी आँसु झारेर धर्धरी रोएँ, कोक्किँदै र भक्कानिँदै एकोहोरो रुँदै गएँ।

मेरो त्यस दुर्दान्त पीरको कारण के थियो त ! आजीवन अपाङ्गताको भय ? जीवनका सहजता, सुख र शान्तिको समाप्तिको भय ? अथवा मृत्युभय ? अहँ, यी तीनमध्ये एउटै पनि होइन। सत्ते, मलाई उपर्युक्तमध्ये कुनै पनि भयले गाँजेको थिएन। मेरो त्यस पीरको मूल कारण त माथिका यी सबैखाले भयभन्दा पनि डरलाग्दो, कहालीलाग्दो र अत्यासलाग्दो पो थियो र त्यस कालो, कुटिल र कठोर अवस्थाको सामना गर्नैपर्ने हो भने बरु सहज मृत्युवरणको कामना गरिरहेको थियो मेरो अन्तरात्मा। किन त भन्दा अब मलाई मुखको र दाहिनेतर्फका सबै अङ्गको समेत पक्षाघात भयो। अब मेरो मस्तिष्कदेखि पाउसम्मका ती सबै अङ्गहरू पूर्णतया निष्क्रिय हुने भए ! अब म वाणीहीन हुने भएँ ! लिपिहीन हुने भएँ र अब म सम्पूर्णरूपमा अभिव्यक्तिहीन हुने भएँ ! हिजोसम्मका दिन र छिनमा मैले आफूलाई जे–जति अभिव्यक्त गरेँ–गरेँ, आफ्ना मनोभावनाहरूलाई जे–जति पोखेँ–पोखेँ, अब आजको यस अलच्छिना दिन र छिनदेखि मेरो मौखिक र लिखित दुवै प्रकारका अभिव्यक्तिको दारुण अवसान हुने भयो ! उफ्…नियतिको कस्तो निर्मम प्रहार ! उफ….कस्तो प्रलयङ्कारी वेदनाको मार खप्नुपर्ने भयो मैले !

म भाका हालेर कति कति गीत गाउँथेँ, छन्दका कविताहरू गाएर घर–आँगन र कार्यक्रमस्थलहरूलाई गुन्जाउथेँ, आफूले अनेक साहित्यिक समारोहको आयोजन गरेर वा अरूहरूद्वारा आयोजित त्यस्ता समारोहहरूमा डाकिएर गई घण्टौँ उद्घोषण र प्रवचन गर्थेँ, आफ्ना कार्यस्थल महाविद्यालयहरूमा गएर सहकर्मी–सहधर्मीहरूसित गम्भीर विषयहरूमा कति–कति छलफल गर्थेँ, मनमिल्दा साथीभाइहरूसित कतिकति हाँसख्याल गर्थेँ, कक्षामा हात हल्लाईहल्लाई, रमाईरमाई र छात्रछात्राहरूलाई हँसाईहँसाई उच्चस्वरमा पढाउथेँ अर्को घण्टी लागेको समेत पत्तै नहुने गरी। त्यस्तै आफ्नो प्रतिभाले भ्याएसम्म गीत, कविता, संस्मरण, नियात्रा, र निबन्ध आदि लेख्थेँ फुर्फुरिँदै। हो, ‘लेख्थेँ’ नै त भन्नुपर्ने भयो अब, ‘लेख्छु’ भन्ने दिन त अब सदासर्वदाका लागि जाने भए ! उफ्….अब ती सबै इतिहास हुने भए ! साँच्चै मेरा मौखिक र लिखित दुवैथरी अभिव्यक्ति अब सम्पूर्णतः इतिहास हुने भए ! सम्झनामा साँचिनुबाहेक अब वर्तमानमा ती फेरि कहिल्यै नझुल्किने भए ! अब भविष्यमा ती फेरि कहिल्यै नझल्मलाउने भए ! त्यस्तै लेख्तालेख्तै विभिन्न व्यावहारिक अल्झोका कारणले त्यतिकै थन्किएर अपूर्ण अवस्थामा रहेका मेरा कैयौँ रचनाहरू पनि अब फेरि कहिल्यै कहिल्यै पूरा नहुने भए ! हो, अब ती सबै सधैँसधैँका लागि अधूरा अपूरा नै रहने भए ! उफ् ……! र यो उफ्…..गर्नुबाहेक यस मामिलामा म अब अरू केही पनि गर्नै नसक्ने हुने भएँ ! हरे ! कत्रो रहरले थालेर आधा पारेको मेरो ‘पीएच.डी.’ पनि अब कहिल्यै पूरा नहुने भयो !

मैले सानै उमेरदेखि त्यत्तिकै लहडमा देब्रे हातले पनि लेख्‍ने अभ्यास गर्न खोजेको थिएँ। मलाई बिछट्ट रहर थियो दाहिने–देब्रे दुवै हातले सरर्र लेख्‍नसक्ने तुल्याउन आफूलाई र केही समयसम्म त्यसको अभ्यासमा मनोयोगले लागेको पनि थिएँ म। फेरि के भयो भयो, मेरो त्यस अभ्यासको क्रम केही दिनपछि त्यत्तिकै सेलायो। त्यो प्रसङ्ग पनि अहिले मैले झल्झली सम्झेँ र त्यसरी देब्रे हातले लेख्‍ने अभ्यास नछाडेको भए मुख र दाहिने हात नचल्ने भए पनि कमसेकम देब्रे हातले लेखेर त मनको भावना पोख्‍न सकिन्थ्यो नि, अब ? त्यो सम्झीसम्झी मलाई अब निकै पश्चात्ताप भयो र झन् झन् भक्कानिएँ म, डाँको छाडीछाडी रोएँ म र क्वाँ….क्वाँ….रुँदै गएँ म।

अब म अघिअघिको जस्तो ज्यूँदो मान्छे थिइनँ, अब त म प्रतिक्षण ज्यूँदोमुर्दा हुनेतर्फ उन्मुख थिएँ चेतनासहित र अभिव्यक्तिरहित हाड र मासुको एउटा थुप्रो मात्र हुने क्रममा थिएँ। त्यसदिन बिहानैदेखि बेलुकासम्म म वीरगन्जको सरकारी अस्पतालको आकस्मिक कक्षको त्यस शय्यामा निठुरी नियतिलाई हजारबार धिक्कार्दै त्यसै निरीह स्थितिमा दारुण पीडा झेल्दै रहेँ। छिनछिन गर्दै रोगको आक्रमण घनीभूत हुँदै गएर मेरो अवस्था झन् झन् बिग्रँदै गयो र आजलाई प्लेनमा सिट मिल्दै नमिल्नाको कारणले मैले त्यहीँ रात काट्नुपर्ने भयो। भोलिको काठमाडौँ यात्राका निम्ति प्लेनको टिकट बुक गराए परिवारजन र आत्मीयजनहरूले। म ‘पिँजराको सुगा’ कविताको पङ्क्ति ‘खेल्नु–डुल्नु नित्य रमाई, सपनामय भो हाय मलाई’ मा परिवर्तन गरी ‘बोल्नु–लेख्‍नु नित्य रमाई, सपनामय भो हाय मलाई’ को विरक्तिलो मनोदशामा रन्थनिइरहेँ उही मर्मान्तक शारीरिक पीडा र उही अर्धबेहोसी अवस्थामा नै।

राति आठ बजेतिर अकस्मात् एउटा चमत्कार भयो। अनौठो जादूसरह नै भयो मेरो लागि। दन्त्यकथाको एकादेशको राजकुमार वा राजकुमारीझैँ जादूको छडीले छोइएँ म। अँ, रात्रिकालीन राउन्डको क्रममा मलाई हेरेर घर फर्केका त्यस अस्पतालको सम्बन्धित विभागका अर्का एक जना वरिष्ठतम डाक्टरको मन–मस्तिष्क अस्पतालदेखि घरसम्मको बाटोभरि मेरो रोग र मरणान्त अवस्थाप्रतिको विचित्रको उत्सुकताले एकनाससित झन्झनाउन थालेछ र उनी दैलोमै पुगिसकेर पनि घरभित्र नपसी फरक्क फर्केर तुरुन्ताको तुरुन्तै फेरि अस्पतालमा मलाई हेर्न आए। उनको नेतृत्वमा अब त्यस अस्पताल र स्थानीय अन्य अस्पतालका समेत कतिपय चिकित्सकहरूको एउटा टोलीले नै मेरो गम्भीर जाँच गऱ्यो र यस टोलीले निर्धक्कसित घोषणा गऱ्यो– ‘यो प्यारालाइसिस हुँदै होइन, यो त वाकवाकी रोक्न खाएको औषधिको कडा प्रतिक्रिया (रिएक्सन) हो। निको हुन केही समय लाग्छ तर चिन्ता नगर्नोस् यो यहीँ नै निको हुन्छ, अन्त लैजानु पर्दैन।’ अहा ! यो घोषणा, घोषणा मात्र कहाँ थियो र ? यो त दिव्यवाणी थियो, देववाणी थियो, वेदवाणी थियो र अमृतवाणी थियो मेरो लागि ! साँच्चै अमृतवर्षा नै थियो मेरो लागि !

हो, लामो समयदेखि उपचारका क्रममा चल्दै आएको दुर्दम्य वाकवाकीबाट मुक्तिका लागि सम्बन्धित डाक्टरले सिफारिस गरेअनुसार मलाई केही दिनअघिदेखि दिनमा तीनपल्ट नियमितरूपले ‘पेरिनम’ नाउँको चक्की औषधि सेवन गराइँदै आएको थियो। त्यो मेरो दोष छँदै थिएन तर त्यही नै दोष सिद्ध भइदियो र त्यसको त्यस्तो घातक परिणाम भोग्‍नुपऱ्यो मैले अनाहकमै। जे होस् त्यसपछि भने मेरो निम्ति धन्वन्तरीका नवअवतार बनेर उदाएका उनै डाक्टरहरूको टोलीको सिफारिसबमोजिम मलाई ‘पेरिनम’ को प्रतिक्रियालाई काट्ने ‘ओन्डेम’ (Ondem) नाम गरेको सेतो रङको स–सानो चक्की औषधि खुवाइयो। त्यस सञ्जीवनीबुटीको पहिलो मात्राको सेवनपछि एक घण्टाजति मस्त निद्रा पऱ्यो र ब्यूँझेपछिदेखि नै अलि छ्याङ्ङ हुँदै आयो मलाई अनि केही मात्रा सेवनपछि म उसै दिन मध्यरातिदेखि भोलिपल्ट बिहानसम्ममा त्यस घनघोर शारीरिक–मानसिक, अतिरिक्त पीडा र प्रवञ्चनाको प्रपञ्चबाट हठात् मुक्त भएँ। ‘ओहो…! उसो भए अब फेरि म बोल्न–लेख्‍न सक्ने भएँ हगि !’ भन्ने सुखद अनुभूतिको गम्लङ्ग आलिङ्गनबाट त्यसैत्यसै पुलकित भएँ म, हुनसम्म गद्‌गद भएँ म र हर्षाश्रुले लफ्रक्कै भिजेँ म त्यसरी नवजीवन पाएर। आफैँमा धन्यधन्य भएँ म। मेरो नियति मप्रति बेइमान नभएकोमा परितृप्त भएँ म र लाखलाख कृतज्ञता अर्पण गरेँ मैले, कोटिकोटि नमन गरेँ मैले डाक्टर रूपधारी मेरा ती दैवहरूप्रति। लाग्यो, पुनर्जन्म यस्तैलाई भन्छन् क्यारे !

राम्ररी निको हुन त छ महिनै लाग्यो। त्यसको तुस भने अझै मेटिइसकेको छैन। मेरो टाउको अझै पनि झनन्न झनन्न गरिराख्छ र आलो घाउ चर्केझैँ चर्किराख्छ बेलाबेला।

केही समयपछि मेरो जिल्लाको जनआन्दोलनका सूत्रधार मित्रहरूले त्यस जनआन्दोलनमा दिवङ्गत र घाइते हुनेहरूको सम्मानको कार्यक्रम राखे र त्यसमा सहभागी भएर सम्मान ग्रहण गर्न हार्दिक अनुरोध गरे मलाई पनि। तर, उनीहरूको त्यस अनुरोधलाई ससम्मान अस्वीकार गरेँ मैले। त्यस्तै प्रमाणपत्र र जनआन्दोलनका घाइतेको परिचयपत्र लिने प्रस्ताव पनि स्वीकार गरिन मैले। बाबु, आमा, गुरुजन र मातृभूमिप्रतिको स्नेह–श्रद्धा र कर्तव्यपालन वा स्वजनप्रतिको प्रगाढ प्रेम त नितान्त संवेदनात्मक र भावनात्मक कुरा पो हो त। अनि फेरि त्यसको विज्ञापनको के आवश्यकता ? त्यसबापत अभिनन्दनपत्र, प्रमाणपत्र र परिचयपत्र आदान–प्रदान जस्तो औपचारिकता र देखावटीपनको के आवश्यकता ? यो बाह्य आडम्बरको के आवश्यकता ? छलछाम र व्यक्तिगत स्वार्थदेखि माथि उठेर मायाँ गर्ने कसैलाई पनि यस्ता कुराको के आवश्यकता ? यो मेरो मान्यता हो। यसमा अरू सहमत हुनै पर्छ भन्ने छैन।

जनआन्दोलनका कतिपय सक्कली–नक्कली घाइतेहरूका त्यस्ता सक्कली–नक्कली अभिनन्दनपत्र, प्रमाणपत्र र परिचयपत्र कतिपय ठाउँमा तर्साउने धम्काउने र स्वार्थसिद्धि गर्ने लाइसेन्सका रूपमा निर्धक्कसित प्रयोग हुने गरेको मनग्गे देखेको छु मैले र आफूले त्यो नलिएकोमा अचेल झन् झन् गौरवबोध हुने गरेको छ मलाई। फेरि मेरो त दुई–चार माना रगत मात्र बगेको हो र केही कालसम्म मात्र मरणान्त शारीरिक–मानसिक पीडा खपेको हुँ मैले। ज्यानै उत्सर्ग गर्ने वा आजीवन अपाङ्गता वरण गर्ने अरू असङ्ख्य देशभक्त वीरहरूको पीडाको दाँजोमा मेरो घाइतेपनको पीडा त झन् के नै पो हो र ?

म निको भएर घरमा बस्न आएपछिका दिनमा दुई जना साहित्यिक मित्रहरूले पालैपालो पहिले एक दिन चितौने कवि पोषराज पौडेलले आफ्नो ‘लोकतान्त्रिक घाउ’ शीर्षक कविताको र अर्को दिन गोरखाली मोदनाथ मरहट्टाले ‘सडकमा स्रष्टा ढलेको सुन्दा’ संस्मरणको प्रकाशित प्रति मलाई मेरो घरमै आएर स्नेहपूर्वक दिनुभयो। साथै चितवनकै अर्का कवि मित्र चेतकान्त चापागाईँले पनि मेरो बारेमा निकै संवेदित भएर कविता लेखी छपाउनुभएको रहेछ। उहाँ त म घाइते भएको खबर रेडियोबाट सुनेको भोलिपल्टै त्यस्तो रण–सङ्ग्राम मच्चिएको र यातायात बन्द भएको बेलामा पनि अनेक हन्डर–सास्ती झेल्दै धाएर वीरगन्ज अस्पतालमै पनि भेट्न आउनु भएको थियो। त्यस्तै अन्य कतिपय स्रष्टा मित्रहरूले पनि विभिन्न पत्र–पत्रिकामार्फत शीघ्र स्वास्थ्यलाभको कामना गरेर मप्रति अगाध स्नेह र सद्भाव प्रकट गर्नुभयो। आफूप्रतिको उहाँहरूको यो असीम आत्मीय भाव अनुभूत गर्न पाएर अभिभूत हुन पुगेँ म। मजस्ताका निम्ति यसभन्दा अर्को ठूलो सम्मानपत्र, परिचयपत्र र प्रमाणपत्र केही हुन्छ जस्तो नै लागेन मलाई।

यो २०७६ सालको जेठ महिना हो। ठ्याम्मै साढे ११ वर्ष बितिसकेको छ आज त्यस घटनाको। यस बीचमा, त्यत्रो लामो इतिहास बोकेको राजतन्त्र गयो र कथित गणतन्त्र आयो तर युग परिवर्तनका महान् संवाहक र सूत्रधार नेपाली जनताका सपनाको सम्मान र जनआन्दोलनमा वीरगति वरण गर्ने र अपाङ्ग भएर ज्यूँदो मुर्दाको स्थितिमा सास फेर्न विवश देशका असङ्ख्य बलिदानी वीरहरूको अतुलनीय, अविस्मरणीय योगदानको सम्मान ‘नेपालीका नव भाग्यविधाता’ भनाउँदा यी गणतान्त्रिक बहुरूपी नयाँ राजाहरूले जनआन्दोलनपछिका यी ११ वर्षमा के कति र कस्तो प्रकारले गरे र गर्दै छन् भन्ने कुरा सबैका सामु छर्लङ्ग नै छ। त्यसको लेखाजोखा पनि आफ्ना विदीर्ण मनका बही–खातामा एक–एक गरी लेखेर राखेकै छन् सरल नेपाली जनताले आफ्नो आँसु र रगतको गाढा मसीले। देशको विकास–निर्माणका अरू कुरा त भर्सेलामा परे परे, तर ‘भो बाबा ! देखि–भोगिसक्यौँ हामीले तिम्रो नयाँ नेपाल, हामीलाई अब अरू केही चाहिएन, शान्तिपूर्वक बाँच्‍न मात्रै पाए पनि धन्यधन्य भइन्थ्यो, यतिसम्म त हुन देओ ! लौ न, जनी गर’ भन्ने नेपाली जनताको करुण चीत्कारलाई समेत ‘निरो’ बनेर मस्तसित बाँसुरीको तानले छोपिदिने र तिनको अति सामान्य सपनालाई समेत तुहाइदिने यी नकच्चराहरूको कुरै के र ?

उफ्…! खेरै गयो रगत !

त्यसैले म के जबाफ दिऊँ मेरा आत्मीय जनको मीठो गुनासोलाई ? मलाई थाहा छैन। सत्ते सत्ते ! म केही पनि सोच्‍न सकिरहेकै छैन। शून्य छु म। रित्तो छु म। नितान्त शून्य। नितान्त रित्तो। देशको वर्तमान बेहोर्दा त्यसैत्यसै कहाली लाग्छ मलाई तर फेरि पनि किनकिन मेरो ज्याद्रो मन भने अझै पनि पूर्ण आशावादी छ। केही समय दुर्नियतिको बाक्लो कुहिरोले मेरो देशको आकाशलाई ढपक्क ढाक्तैमा निराश कसरी भइहालूँ म ! अवश्य नै कुनै न कुनै दिन त कोही न कोही उद्धारक जन्मिएला नै र सौभाग्यको सूर्योदय होला नै ! त्यो पारिलो घाम मेरो जीवनले ताप्‍न पाउला वा नपाउला त्यो चाहिँ बेग्लै कुरा हो  !

०००