संस्मरण : कठै मेरा बाबा !!! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

संस्मरण : कठै मेरा बाबा !!!



—निर्मोही व्यास

मैले आफ्ना बाबा नरनाथ उपाध्याय न्यौपानेलाई अग्नि–अर्पण गरेको अब उन्नाईस वर्ष पुग्दै छ तर मेरो स्मृतिको आकाशमा बाबाको दिव्य स्वरूप झन्‌झन् भल्झलाकार भएर झल्मलाइरहेको छ। आज म उहाँप्रति श्रद्धाञ्जलिरूप आफ्नो केही विशिष्ट सम्झनाका झिल्काझिल्की पस्तुत गर्दैछु।

१९६० साल कार्तिक शुक्ल द्वितीया, अर्थात् भाइटीकाको दिन जन्मिनुभएको थियो बाबा र बयान्नब्बे वर्ष, चार महिना, दस दिन जीवनभोग गरेर २०५२ साल चैत १गते  बिदा हुनुभयो संसारबाट। ऋषि जस्तै हुनुहुन्थ्यो उहाँ। सरल, सात्विक, सत्यनिष्ठ, शान्त, स्वाभिमानी, स्नेही, सहयोगी, निर्लोभी, निरहङ्कारी, निष्पक्ष र विद्याव्यसनी। ‘परोपकारः पुण्याय पापाय परपीडनम्’ लाई उहाँले आनो जीवनको मूलमन्त्र नै बनाउनु भएको थियो। र पूरै सक्रिय जीवन बाँच्‍नुभयो उहाँ दिवङ्गत हुनुअघि सम्म पनि। अलिअलि खेती–किसानी गर्दै पुरेत्याइँ पेसामा संलग्न रहँदै आएको भएपनि र औपचारिक शिक्षालाभको अवसरबाट वञ्चित भएको भएपनि आफ्नो व्यक्तित्वका यिनै विशेषताहरूले गर्दा जन्मथलो सिस्नेरी (मकवानपुर) को अपठित गाउँले समाजमा पनि र कलैया (बारा) को बहुपठित सहरिया समाजमा पनि उत्तिकै प्रिय र मान्य हुनुहुन्थ्यो उहाँ। उहाँले हामी सन्तानहरूलाई पनि त्यही संस्कार र शिक्षा दिनुभयो उत्तराधिकारका रूपमा। हामीमध्ये कतिले त्यसलाई कति मात्रामा ग्रहण गर्न सक्यौँ वा सकेनौँ त्यो बेग्लै कुरा हो।

अन्त्यकालमा तीन महिनासम्म थला पर्नुभयो उहाँ, देहावसानअघि चार दिनसम्म कोमामा रहनुभयो र अघिल्लो  दिन फेरि होस फिऱ्यो उहाँलाई। तर, त्यो अवस्था भनेको खुसीको अवस्था नभएर बरु ‘बत्तीको निभ्ने बेलाको तेजिलोपन’ पो हो भन्ने कुरा हामी सबै परिवारजनले बुझेकै थियौँ। त्यसैले अघिल्लो दिन बेलुकीपख बाहिर पिँढीमा ओछ्यान लगाएर सुताई सबै जना गीता र भागवत पाठ गर्दै कुरुवा बस्यौँ। त्यस बेला आफ्ना निर्दोष आँखाले एकफेर हामीतिर हेरेर खूबै भक्कानिनुभयो उहाँ र बरर्र आँसुका थोपाहरू झरे उहाँका आँखाबाट। हामीले सँगसँगै उहाँका आँसु पुछिदिँदै र हात सुम्सुम्याउँदै भावविह्वल भएर सोध्यौँ — “ के भयो बाबा ?” उहाँ घुँक्किँदै सकी नसकी पोखिनुभयो — “बाबु भएर पनि मैले तिमीहरूलाई जीवनभरि गरीबीबाहेक केही दिन सकिनँ। जीवनको यो अन्तिम घडीमा आइपुग्दा मलाई त्यही कुराले साह्रै पोल्दै छ। मलाई माफ गरिदेओ बाबूहो !” यो उहाँको बेहोसीको बर्बराइ थिएन। पूरापूर होसमै रहेर आफ्नो अन्तरात्मालाई उदाङ्ग पार्नुभएको थियो उहाँले। जबाफमा हामी उसैगरी भक्कानिँदै छचल्कियौँ — “ त्यस्तो कुरा मनमा पटक्कै नल्याउनोस् है बाबा ! कहाँ छौँ र हामी गरीब ! हामी त निकै निकै धनी पो छौँ तपाईँले हामीलाई जीवनभरि सुम्पेका सुसंस्कार र सुशिक्षाका बिटाहरू पाएर। रुपियाँका मुठा त हामी आफै पनि कमाउन सकिहाल्छौँ र कमाइराखेकै पनि त छौँ नि तर तपाईँले जुन अमूल्य सम्पत्ति दिनुभएको छ सुसंस्कार र सुशिक्षाको, त्यो धनले पाउन सकिने र भौतिक सम्पत्तिसित दाँज्‍न सकिने कुरा हो र ! त्यसैले हामीलाई असाध्यै गर्व छ तपाईँजस्ता ऋषिका सन्तान भएर जन्मिन पाएकामा, हामी धन्य धन्य भएका छौँ तपाईँजस्ता गौरवशाली पिता पाएर !”

हो, बाबासित रुपियाँका बिटा कहिल्यै भएनन् अनि आफूसित हुँदै नभएको वस्तु उहाँले हामीलाई दिनुहोस् कसरी ?

बयान्नब्बे वर्ष, चार महिना, दश दिनको लामो जीवनकालभरिमा बाबाको हातमा एकमुष्ट रूपले परेको अधिकतम रुपियाँ थियो जम्माजम्मी ३०००।— अक्षरेपि रु.तीन हजार मात्र। कुनै अपराधीले हाम्रो खेत जालसाजी गरेर हड्पेको हुँदा बर्सौंसम्म आफ्नो घर कलैयादेखि भारतीय रेलको बाटो गरी गौर, रौतहटको अञ्चल अदालतमा धाएको धायै गरेर मुद्दा खेप्ता खेप्ता बल्लबल्ल मुद्दा जितिएको थियो र बाबालाई अदालतको तत्परतामा जग्गाको मूल्यबापत त्यति रकम उपलब्ध भएको थियो। टाढाको बाटो त्यतिका रुपियाँ बोकेर घर आउनु  डरलाग्दो कुरा भएको हुँदा त्यसलाई उहाँले त्यहीँ नेपाल बैङ्क लिमिटेडमा खाता खोलेर राख्‍नु भएको थियो र पछि कलैया शाखामा सार्नु भएको थियो। त्यसताका कलैयाबाट गौरसम्म  धाउनु कम्ती गाह्रो कुरा थिएन। खर्चको अभावका कारणले मोटर र रिक्सा चढी वीरगन्ज हुँदै रक्सौल जान सक्ने अवस्था नभएकाले कलैयादेखि दक्खिनतिर चारकोस टाढा रहेको आदापुर (रक्सौलभन्दा पूर्वतिरको भारतीय रेल्वे स्टेसन)सम्म सोझै हिँडेरै गई त्यहाँ रेल चढेर बैरगनिया स्टेसनमा ओर्लनुपर्थ्यो र त्यहाँबाट एक कोस उत्तर हिँडेपछि बल्ल पुगिन्थ्यो गौर। अनि फर्कंदा पनि फेरि त्यही बाटो। कम्ती सास्ती हुँदैनथ्यो बूढो ज्यानलाई शारीरिक, मानसिक र आर्थिक तीनै किसिमको।

अनि त्यही तीनहजार र त्यसको ब्याजमाथि मलाई रौतहट जिल्लाको एउटा अनकन्टार गाउँको हाई स्कुलबाट माध्यमिक शिक्षकको तलबका रूपमा मासिक दुई सयका दरले प्राप्त हुने रकमलाई डेढ वर्षसम्म सँगालेर थपथाप गरी २०३०/३१सालमा बडो सकससित बनाइएको थियो सानो तीनकोठे पक्की घर। तर पक्की घर त भन्नु मात्रै पो थियो, किनभने त्यो त चिम्ट्याइलो पहेँलो माटो मुछेर त्यही हिलोले ईँटा जोडी कसैगरी घरको आकार ठड्याइएको  थियो र बाहिरबाट बालुवा–सिमेन्टले प्लास्टर गरिएको थियो। त्यस घरमा म झन्डै बीस वर्ष बसेँ पुर्ख्यौली सानो टुक्रे घडेरीमा एउटै आँगन हुने गरेर छुट्टै अर्को सानो दुइकोठे घर नबनाउन्जेल।

त, उहाँको हातमा त्यो एकमुष्ट तीन हजार रूपैयाँ पर्नुभन्दा निकै वर्षअघिका दुइवटा घटना–प्रसङ्ग म अहिले झल्झली सम्झँदै छु। ती यस प्रकार छन् :

प्रसङ्ग : एक

यो प्रसङ्ग २०१५/२०१६ सालतिरको हो। म त्यसताका छ–सात वर्षको थिएँ र मभन्दा पौने तीन वर्षमुनिको भाइ ‘शुकदेव’ जम्माजम्मी तीन–चार वर्षको थियो। उसलाई खै के रोग लागेको थियो कुन्नि। मरणासन्न अवस्थामा पुगेको थियो ऊ। त्यसताका कलैयाबजारको यस्तो आधुनिक रूपको कल्पना पनि अकल्पनीय थियो। कलैयामा सरकारी अस्पताल प्रारम्भिक अवस्थामा थियो। अदालतपथको एउटा टहरोको सानो कोठामा ‘कमरुल हक’ नाउँका एक जना मुसलमान डाक्टर बस्थे। सायद एक जना पियन थिए क्यारे उनका सयहोगीका रूपमा। अस्पतालको स्टाफका नाउँमा यिनै दुई जना थिए। त्यस्तै डाक्टरका लागि काठका एकुनवटा साधारण कुर्सी–टेबुल, रोगी र उसका सहयोगीका लागि एउटा बेन्च अनि पियनका लागि एउटा स्टुल, बस यति नै थिए अस्पतालका मुख्य सम्पत्ति। कैयौँ दिनदेखिको घरेलु उपचारले पटक्कै नछोएपछि एक दिन बेलुकीपख आत्तिँदै बाबा–आमाले छातीमा टाँसेर त्यहीँ पुऱ्याउनुभयो उसलाई। डाक्टरले नाडी छामेर “क्या हुआ है इसको ?” भनेर सोधे। बाबाले बुझेको बेलिवृत्तान्त सुनाउनुभयो। उनले ध्यान दिएनन्। निरपेक्ष भावले बडो गाह्रोसित एक–दुई वाक्य वाक्य बोलेर बिदा गरे।

त्यसपछि उहाँहरूले अत्तालिँदै कलैया बजारमै दक्षिणतिर रहेको केजीपाल नाउँ गरेका एक जना एलोप्याथिक डाक्टरको क्लिनिकमा लैजानुभयो। बोलीचालीमा ‘डाक्टर’ भन्ने गरिए पनि वास्तवमा उनी डाक्टरै चाहिँ थिएनन् र उनको क्लिनिक पनि थिएन। उनी आफैँ अभ्यास गर्दा गर्दा सामान्य ज्वरो, पेट र घाउ–खटिराको उपचार गर्न केही जान्ने भएका थिए। स्टेथोस्कोप चाहिँ जहिलेसुकै भिरिराख्थे घाँटीमा। घर थियो बजारभन्दा  एक किलोमिटर जति पर दक्षिणमा। उनलाई बाबाले बच्चालाई बचाइनदिन अनेक बिन्तीभाउ गर्दै र आफूबाट सम्भव नभएर त्यो पनि बेलैमा भनिहाल्न अनुरोध गर्नुभयो। ती डाक्टरसाहेबले भने — “नआत्तिनोस् बाजे ! बच्चालाई मै ठीक पारिहाल्छु नि। म भए ठाउँ ल्याइसकेपछि पनि किन पीर गर्नुहुन्छ ? अब अन्त कतै पनि लैजानै पर्दैन। ममाथि विश्वास गर्नोस् र ढुक्क हुनोस्।” र त्यसका निम्ति उनले चर्को फिस फर्माए अग्रिम रूपमा। बाबाले आफ्नो सिरिखुरी सिध्याएर उनलाई सुम्पिदिनुभयो फर्माएअनुसारको रुपियाँ। दिउँसोको चार बज्दै थियो त्यति बेला।

तीन–चार घण्टापछि उनले आत्तिएको भावमा अचानक घोषणा गरे — “ललललल…!  मबाट नहुने भो, बच्चालाई तुरुन्तै बाहिर कतै ठूलो ठाउँमा लगिहाल्नोस्, नत्र जुनसुकै बेला जे पनि हुन सक्छ। तपाईँहरूलाई बेलैमा भन्दै छु। नत्र पछि कतै केही भयो मलाई दोष दिन पाउनु हुन्न नि।” सुनेर बाबाआमाका नौनारी गले फतक्कै। अघि लिएर आउनासाथ “बाहिर लैजानुपर्छ कि ? पर्ने हो भने बरु बेलैमा भनिदिहाल्नोस् है !” भनेर बिन्ती गर्दा त्यत्रो फुर्ती लगाएर  “किन आत्तिनुभएको बाजे ! अन्त कतै लैजानै पर्दैन। ढुक्क हुनोस्, मै निको पार्छु, नि” भनेका मान्छेले अहिले जो भएको पैसा जति कुम्ल्याइसकेर रात समेत पारिसकेपछि अचानक त्यस्तो प्रलयङ्कारी कुरा गर्दा बाबाआमाको मनमा केके बित्यो होला त्यो सहजै अनुमान गर्न सकिन्छ। र गजब त के भने यी तिनै डाक्टर थिए जो बेलाबेला आफू वा आफ्नो परिवारलाई बिसन्चो हुँदा र आफूले जानेको औषधीउपचारले नछुँदा केही दिनसम्म बिहानबेलुकै धाएर आई बाबासित झारफूक गराएर सन्तुष्ट हुन्थे।

जाडो याम थियो र महिना मङ्सिर–पुस। रात गहिरिसकेको थियो। खर्चबर्चको नाउँमा साथमा फुटेको कौडी पनि बाँकी थिएन। आमा कङ्कला शब्द गरेर रुन थाल्नुभयो अर्धमृत अवस्थामा पुगेको छोरालाई छातीमा टाँसेर “अब कसरी के गर्ने होला नि ! मेरो बाबु….. ! मेरो राजा ……!  अब कसो गर्ने होला नि….. !” र बाबा अप्रत्याशित रूपमा ह्वात्तै आइलागेको जटिल परिस्थितिको त्यस घोर थपेडाले भक्कानिएर आँसुआँसु हुँदै एक छिन त्यसै के गर्ने न कसो गर्ने स्थितिमा पुग्‍नुभयो। हक्क न बक्क हुनुभयो। तर, तुरुन्ताको तुरुन्तै केही उपाय त गर्नै पर्ने थियो। रोएर बस्ने फुर्सत कहाँबाट पाउनु ? त्यसैले आमाछोरालाई एक छिन त्यहीँ त्यत्तिकै छोडेर हुरी हुनुभयो खर्चको खोजीमा र शरण पर्नुभयो बजारछेउमै घर भएका ‘रामराज गौतम’ नाउँका एक जना परिचित जमिनदारको। जमिनदार हुनाका नाताले केही अभिमानी स्वभावका भए पनि उनले “ओहो ….न्यौपाने बाजे ! तपाईँलाई त अचानक यत्रो आपत् पो आइलागेछ हगि ! ललल….. यति लिएर बच्चालाई तुरुन्तै वीरगन्जतिर कुदाइहाल्नोस् अरू कुरा पछि गर्दै गरौँला” भनी त्यस दुःखको घडीमा तत्कालै उदारतापूर्वक रु. पच्चीस ऋण दिएर पठाए। त्यस ताकाको रु. पच्चीस पनि कम्ती थिएन। उतिबेलाको र आजको बेसाहालाई ध्यानमा राख्तै त्यसलाई दाँज्‍ने हो भने त्यसको मूल्य आजको पच्चीस हजारभन्दा माथि नै होला तल चाहिँ त पक्कै हुँदैन।

यतिन्जेलसम्म रातको नौ बजिसकेको थियो। घनघोर अन्धकारको साम्राज्य छाइसकेको हुँदा बजार चकमन्न भइसकेको थियो। अब यति बेला वीरगन्ज जान कुन मोटर पाइनु ? बस स्ट्यान्डमा पुग्दा तै एउटा जीपगाडी फेला पऱ्यो यात्रीलाई ओरालेर साहुको घर वीरगन्जतिर फर्कन लागेको। त्यस जीपका मालिकको नाउँ ‘काले’थियो। त्यसैले  गाडीको नाउँ पनि ‘कालेको जीप’ नै प्रचलित थियो कलैयाका रैथानेहरूका बीच। त्यो जीप प्रायः ‘काले’ आफैँ हाँक्ने गर्थे। बाले बिन्ती गरेपछि परिस्थितिको जटिलतालाई र वृद्ध बाहुनका बूढाबूढीको संवेदनालाई बुझेर “लौ हुन्छ त, चढ्नोस्’ भनी गाडीमा बसाए उनले। त्यसताका कलैयाबाट चार कोस जति टाढा रहेको वीरगन्जसम्म पुग्न पैदल जाने मान्छेलाई र मोटरलाई झन्डै झन्डै उत्तिकै जस्तो समय लाग्थ्यो अर्थात् कम्तीमा पनि तीन घण्टा। बाटो अहिलेको जस्तो कहाँ पाउनु ? पूरै कच्ची थियो। फेरि बीचमा पर्ने तीनवटै नदीमा पुलको कल्पनासमेत थिएन। अनि बाटो नै पनि अर्कै अर्कै गाउँ भएर अहिलेको ‘पद्मरोड’ सित बेलाबेला मिल्दै र छुट्टिँदै निकै घुमाउरो गरी गएको थियो।

अँ, डेढकोस जति बाटो नाघेर बँगरी नदीको किनारमा पुगेपछि बच्चोको दशा झन् बिग्रियो। र, जीपमा भएका अरू एक–दुई यात्री र चालक समेतले “लौ यो बच्चा त मरि पो सकेछ। ल, अब तपाईँहरू अब यहीँ ओर्लनोस् र यसलाई यहीँ खोलाको बगरमा गाडेर घर फर्कनोस्” भनी साँच्चै त्यहीँ ओरालि पनि दिए। त्यस बेला बाबाआमाको अवस्था कस्तो भयो होलासहजै अनुमान गर्न सकिन्छ। जीपका चालक  र अरू यात्रीलाई बच्चो स्पन्दनविहीन लागेपनि यथार्थमा त्यस्तो भएको रहेनछ, बेहोस मात्र भएको रहेछ ऊ। त्यसैले बाबाआमाले त्यस चकमन्न मध्यरातमा बच्चोलाई छातीमा टाँसेको टाँस्यै खोलाको बगरमा उभिएर कङ्कला शब्द गर्दै “नाइँ त्यसो नभन्नोस्, हाम्रो बच्चाको मुटु चल्दै छ। यति निठुरी नभइदिनोस् कृपा गरी हामीलाई वीरगन्जमा अमीन डाक्टरको घरसम्म पुऱ्याइदिनोस्, तपाईँ हाम्रो भगवान् हुनुहुन्छ। हामी तपाईँको  यो गुन कहिल्यै बिर्सने छैनौँ” भनी धर्ती–आकाश नै थर्कने गरी अलापविलाप गरेपछि कालेको मन पग्लियो र उनले फेरि उहाँहरूलाई चढाएर जीपलाई हुइँक्याउँदै लगी वीरगन्जमा डाक्टर अमीनको घरमा पुऱ्याइदिए।

जसरी संवेदित भएर जीपचालकले बिरामीलाइ त्यहाँ पुऱ्याएका थिए, त्यसै गरी डाक्टरले पनि तत्परताका साथ उपचार थाले। उपचारका क्रममा केही दिन वीरगन्जमै बस्नुपर्ने अनि त्यहाँ बस्नका लागि अर्को कुनै उपाय नभएको हुँदा आदर्श नगरचोकदेखि अलिक दख्खिनतिर पर्ने राणीसती मन्दिरसँग टाँसेर भर्खर बनाइएको नयाँ धर्मशालामा लामखुट्टेका फौजबाट आाक्रान्त भएर पालैपालो कहिले बाबाले आफ्नो काखमा सुताएर आमाको धोतीको आँचलले हम्किँदै त कहिले आमाले आफ्नो काखमा सुताएर बाबाको गम्छाले हम्किँदै आफूहरूले अनिँदा आँखाले छर्लङ्ग तीनचार रातहरू काटी सन्चो पारेर बल्ल घर फर्काएर ल्याउनु भएको थियो।

प्रसङ्ग : दुई

माथिको प्रसङ्गको  केही समयपछि आमालाई थुनिलो भयो। दाहिने वा देब्रे खै कुन चाहिँ पो स्तन हो अहिले मलाई सम्झना छैन। एक दिन अचानक नै एकदमै राँकिएर आयो। सुन्निदै सुन्निदै गएर त्यसले  भयानक आकार धारण गऱ्यो। पीडाले आमाको ज्यानै जाला जस्तो भयो। आफ्नो सारा बुद्धि लगाएर घरेलु उपचार गर्नु–गराउनुभयो बाबाले र नीलोतुतोको लेप, मेथीको पीठोको लेप आदि गाउँलेहरूले जे जे लगाउन भन्छन् त्यो त्यो सबै लगाउनुभयो आमाले केही दिनसम्म। जति जे जे उपाय गर्दा पनि राँकिएको घाउ साम्य भएन। घरमा दुहुना गाई–भैँसी थिए। बाच्छा–पाडा थिए। तिनको हेरबिचार गर्ने भन्ने अर्को कोही थिएन। किनभने मभन्दा मुनि एउटा भाइ र एउटी बहिनी थिए मात्र थिए र हामी सबै साना थियौँ। त्यसो त मभन्दा सात वर्ष जेठी एउटी दिदी पनि हुनुहुन्थ्यो तर उहाँ एक–दुई वर्षअघि नै बिहे भएर पति–घर गइसक्नुभएको थियो। त्यसैले आमा त्यसरी थला परेपछि बाबाको जहाज नै डामाडोल भयो। आमा भने दिनपरदिन भित्रभित्रै पीप र रगत जम्दै गएर हलचल गर्नै नसक्ने हुनुभयो। खानपिउन त के सास फेर्न समेत अप्ठ्यारो पर्ने अवस्थामा पुग्‍नुभयो। बिस्तारै बिस्तारै प्राणान्त स्थिति निम्तिन थाल्यो। खर्चबर्चको नाउँमा भुटिभाङ केही थिएन। भाइको उपचारमा नै सबै सिद्धिसकेको थियो। अनि त्यति मात्र पनि कहाँ र ? त्यस क्रममा लिइएको ऋण अझै तिरिसकिएकै थिएन। जजमानीबाट आएको दालचामलले खानपिउन त पुग्थ्यो तर नगद पैसा त हुँदैनथ्यो। त्यसताका दक्षिणा रुपियाँमा नभएर पैसामा प्राप्त हुन्थ्यो। पाँच पैसा, दस पैसा, पच्चीस पैसा वा एक मोहर यस्तैयस्तै। बिहे, बर्तमन वा किरिया जस्ता ठूला कार्य भएदेखि बढीमा बढीमा एक–दुई रुपियाँसम्म पाइन्थ्यो। यता डाक्टरको शुल्क र औषधीको मोल हुन्थ्यो अनेक रुपियाँ। त्यसैले भाइको उपचारको लागि लिइएको ऋण अझै चुक्ता हुन सकेको थिएन। त्यस बोझले थिचिएर/किचिएर बाबाको टाउको उठ्नै सकिरहेको थिएन। त्यसमाथि अब झन् थपिएको थियो आमाको दुःसाध्य रोगको उपचार र त्यसले  बाबाको ढाड भाँचिरहेको थियो। मन–मस्तिष्क र मुटु–कलेजोलाई छियाछिया भइसकेको थियो। सुद्धिबुद्धि हराउन लागिसकेको थियो। जेठो सन्तान हुनुहुन्थ्यो दिदी। उहाँको उमेर थियो बाह्र–तेह्र वर्षमात्र। बिहे भइसकेको थियो र उहाँ आफ्नै घरमा हुनुहुन्थ्यो भन्ने प्रसङ्ग माथि आइसकेकै छ। जेठो छोरो थिएँ मै थिएँ र मेरो उमेर झन् सात–आठ वर्ष मात्र। अनि त्यस ताका बाबा चाहिँ हुनुहुन्थ्यो झन्डै साठी वर्षको। जे गर आफैँ एक्लै। अर्को कुनै कसैको आडभरोस थिएन। त्यसैले दैवी विपत्‌बाट उत्पन्न परिवारिक विषम परिस्थिति र चरम आर्थिक अभावका कारणले बाबा मनोदशा अस्तव्यस्त भएको थियो। ब्रह्माण्ड खज्मजिएको थियो। धैर्य र सहनशीलताले लक्ष्मणरेखा नाघ्दै थिए।

तर जस्तो जे जे भए पनि आमालाई रोगमुक्त त पार्नु र्न थियो। त्यसैले जो भएको अलिअलि खर्च बोकेर आमालाई उहाँले कलैया बजारका उतिबेलाका चल्तापुर्जा डाक्टर उनै ‘केजीपाल’ को औषधीपसल–क्लिनिकमा लैजानुभयो। भाइबहिनीलाई घरमाछाडेर र छिमेकीलाई घरको हेरबिचार गरिदिन अनुरोध गरेर बाबा, आमा र म डाक्टरकहाँ गयौँ।

डाक्टर साहेबले आमाको राँकिएको थुनिलोको निरीक्षण गरे। आमाको दुर्दशा पनि हेरे। र, त्यसका निम्ति ‘औषधी–इन्जेक्सन प्रभावकारी नहुने भएकाले तुरुन्तै अपरेसन गरिहाल्नु पर्ने’ कुरा आत्तिएको भावमा व्यक्त गरे। खर्चको बारेमा बाबाले सोध्दा उनले जे जति रकम माग गरे त्यो सुनेर बाबाको मुखमुद्रा चुक दलेजस्तै कालो र चुकै जस्तो अमिलो भयो। बरर्र आँसुगेडी झरे। आर्थिक अभावका कारणले आफ्नो इलाज सम्भव नहुने देखेर र अब आफू यत्तिकै मर्नुपर्ने लागेर निराशा, अत्यास र त्रासले आमाको मुखमुद्रा झन् कालोनीलो भयो। अब त्यहाँ अरू बसिरहनुको कुनै औचित्य नै थिएन। त्यसपछि बाबाको मुख अप्रत्याशित रूपमा कुनै दिव्य योजनाको स्फुरणले धप्प बल्यो। उहाँले आमालाई सोध्नुभयो —“ए, कस्तो छ त अहिले तँलाई ? अघिभन्दा त अलि सन्चो भएको छ क्यारे होइन ?” आमाले के जबाफ दिने ? परिस्थितिको मर्म बुझेर उहाँले पनि सकी नसकी भन्नुभयो —“अँ दुख्‍न अलि कम भएको छ पहिलेभन्दा”।  त्यसपछि बाबाले भन्नुभयो —“उसो भए हिँड् अब घर जाऊँ, अब घरमै गएपछि जाती हुन्छ।”

म अबोध बालक थिएँ तर त्यसो भए पनि आमाको शारीरिक पीडा र बाबाको मानसिक पीडा दुवै नै राम्रै गरी बुझ्न सक्थेँ। डाक्टरले —“ए बाजे ! तपाईँले किन उहाँलाई त्यतिकै घर लैजान लागेको ? विनाउपचार घरमा लगेर उहाँलाई त्यतिकै किन मार्नुहुन्छ ? म अहिले नै अपरेसन गरिदिन्छु। बरु उहाँलाई यहीँ बसाएर जानोस् खर्चबर्चको व्यवस्था गर्नोस्” भन्दाभन्दै हामी उठेर हिँड्यौँ। बाबाले आमालाई बजारको भिडभाडदेखि बाहिर रहेको कुनै परिचितको पसलमा लगेर—“नआत्तिईकन एक छिन शान्त भएर बस्” भी सान्त्वना दिँदै बसाउनुभयो र मलाई भन्नुभयो —“बाबू, तँ चाहिँ मसँग हिँड् एक छिन बजारभित्र जाऊँ एउटा काम छ।” म आमालाई त्यही छाडेर लुरुलुरु बाबाको पछि लागेँ उहाँको दाहिने हातको चोरऔँला समातेर अरूअरू बेलामा जस्तै गरी। के काम हो मलाई थाहा थिएन र सोध्‍ने आवश्यकता पनि महसुस भएन।

कलैयामा मारवाडीहरूका घरदेखि पूर्व,पन्नाबागदेखि पश्चिम, पद्मरोडभन्दा उत्तर र राजदेवी मन्दिर र शान्तिटोलभन्दा दक्षिणतिर बीचमा रहेको फराकिलो भूभागमा  सोमबार र बिहिबार बीच ठूलो बजार लाग्थ्यो र बाँकी अरू दिन पनि नियमित रूपले सानो बजार लागिराख्थ्यो। सोमबार र बिहिबार लाग्ने बजारलाई ‘बजार’ नै भनिन्थ्यो भने सातामा अरू पाँच दिन लाग्ने बजारलाई चाहिँ ‘गुदरी बजार’ भनिन्थ्यो। कुन जुगदेखि हो कुन्नि कलैया बजारको आरम्भकालमै यही थिति बसालिएको थियो र जुगौँपछिसम्म वा आजका मितिसम्म पनि त्यो अझै कायमै छँदै छ।

अँ त, त्यस दिन सोमबार या बिहिबार यिनै दुईमध्ये कुनै बार परेको हुनाले बजारमा निकै भिडभाड थियो। हामी बाबुछोरा बजारभित्र पसेपछि महावीर मन्दिरको अलिक दक्षिणतिर, झन्डैझन्डै बजारक्षेत्रको बीचतिर रहेको सन्धरवाको खुला पसलमा पुग्यौ हामी। र, आफ्नो कमेजको खल्तीबाट फोल्ड गरिराखेको मझ्यौला आकारको फलामे चक्कू झिकेर पसलेलाई साँध लगाउन दिनुभयो बाबाले। बाबाको खल्तीमा एउटा चक्कू जहिले पनि रहि नै रहन्थ्यो। त्यस्तै चक्कूसँगै नरिवलका ठूल्ठूला टुक्रा, छोडा, किसमिस र ल्वाङ–सुकुमेल पनि हुन्थे खल्तीभरि। जता जहाँ जाँदा पनि म प्रायः बाबाको साथै हुन्थेँ र घरी दाहिने त घरी देब्रे हातको चोरऔँला समातेर दायाँबायाँ हिँडिरहन्थेँ छायाजस्तै गरी। अनि बाबाको खल्तीका ती विभिन्न प्रकारका खाने मसला बाबाका हातबाट थापेर कुटुकुटु खान पाइरहन्थेँ। त, त्यो चक्कूको उपयोग उहाँ नरिवल–छोडा टुक्र्याउने काममा गर्नुहुन्थ्यो र घरमा आँप, नास्पाती, स्याउ जस्ता फलफूल ताछ्न र टुक्र्याउन पनि त्यही चक्कू प्रयोग गर्नुहुन्थ्यो। बाबाले अहिले त्यो चक्कू सन्धरवालाई साँध लगाउन दिनुभयो।

हामी बेलाबेला चक्कूमा साँध लगाउन तिनै सन्धरवा र उनका छोराहरूलाई जिम्मा दिइरहन्थ्यौँ। उनले एउटा ठूलो थालजत्रो फलामे पाङ्ग्रोलाई रोटेपीङ जस्तो गरी भुइँमा गाडेर मोही पारे जस्तो गरी नेती समाती घारघुर पार्दै फनफनी घुमाएर त्यसमाथि चक्कूको धार राखेर उसैगरी जोडतोडले घुमाउँदै साँध लगाएर चोखो (धारिलो) र टिलिक्क टल्कने पारिदिन्थे। उसै गरी अहिले पारिदिए।

अब चक्कू फिर्ता लिएर हामी बाबुछोरा फर्केर आमा भए ठाउँमा आयौँ र आमालाई पनि साथै लिएर घरमा आइपुग्यौँ। त्यसपछि बाबाले आमालाई पिँढीमा बसाएर चोलो फुकाल्न लगाउनुभयो र आफ्नो त्यस चक्कूलाई तातोपानीले राम्रो सँग पखालेर थुनिलो चिर्न थाल्नुभयो। घरका अरू केटाकेटी कता कहाँ थिए सम्झना छैन तर मैले चाहिँ त्यो घटना–प्रसङ्ग आँगनमा बसेर टुलुटुलु हेरेँ। बाबाले त्यो घाउ चक्कूले फोरेर रगतपीपको खोल्सो बगाएको, कुहिएर कालो–पहेँलो भएका मासुका लोथ्राहरूलाई चट्चटी काटी छिनालेर फालेको, आमा असह्य पीडाले कराएको, चिच्याएको, ‘ऐया नि मरेँ’ भनेर डाँको छाडी कङ्कला शब्द गर्दै रोएको, त्यो सारा दृश्य कुन्नि कुन आँट र कुन धैर्यले हेरेँ, आमा बेलाबेला हात–खुट्टा छाडेर लड्दा बाबाको आज्ञाले उहाँलाई सकी नसकी उठाइरहेँ, उहाँलाई समातिरहेँ,। झन्डै आधा घन्टासम्म बाबाले निर्ममतासाथ घाउ निचोर्ने, चिर्ने र पीप—रगत र सडेको दुर्गन्धित मासु निकालेर फाल्ने काम गरिरहनुभयो। अनि घाउलाई धोइपखालिवरी कुन्नि के चाहिँ पो औषधी लगाएर पट्टी बाँधिदिनुभयो। आमा पीडाले मरणान्त अवस्थामा पुग्‍नुभयो। र, त्यसपछि नियमित रूपले झन्डै साता दिनसम्म पट्टी खोलेर घाउ धुने, निचोर्ने र फोहर बगाएर फेरि पट्टी बाँध्ने काम गर्दै गएपछि आमा पूरै स्वस्थ हुनुभयो।

आज म त्रिसट्ठी वर्ष लागिसकेको छु। बाउन्न–त्रिपन्न वर्ष पुरानो यो प्रसङ्ग अहिले पनि मेरा आँखामा झल्झलाइरहन्छ र आधा शताब्दीभन्दा पुरानो त्यो अतीत पनि मलाई अहिलेभर्खरै जस्तो लाग्छ।आमा अहिले पचासीऔँ वर्षमा हिँड्दै हुनुहन्छ।

अस्पतालमा सुविधासम्पन्न कक्षमा बेहोस पार्ने औषधी–इन्जेक्सन दिएर सिपालु नर्सहरूको सहयोगमा सर्जनबाट सफा विशेषखाने औँजारहरूको प्रयोग गरी अत्यन्त सावधानीपूर्वक अपरेसन गरिनुपर्ने त्यस्तो संवेदनशील अङ्गको गम्भीर घाउ त्यसरी घरमै एउटा अनाडी हातले नरिवल छोडा काट्ने सामान्य चक्कूको प्रयोगबाट विना औषधी–इन्जेक्सन त्यस्तो खतरनाक पारामा चिरफार गरियो। कथम्कदाचित् हतियार तलमाथि परेको भए ….! बाफ रे ….! त्यस स्थितिको त कल्पना पनि कति कहालीलाग्दो …! सुन्दै पनि अत्यास लाग्ने र मन–मुटु नै खङग्रङ्ङ हुने, आङ नै जुरुङङ हुने त्यस्तो असामान्य वा असाधारण काम बाबाले खै कुन चाहिँ मन–मुटुले, कुन चाहिँ धैर्य र आँटले कसरी पो सम्पन्न गर्नुभयो ! त्यो घटना–प्रसङ्ग मलाई अहिले सपना जस्तै लाग्छ र सम्झँदा मात्र पनि रिङटा चल्न खोज्छ। तर त्यो त पूरै बिपना थियो कहाँको सपना हुनु ! शतप्रतिशत कटु यथार्थ।

एक अत्यन्त भावुक, संवेदनशील र शान्त, सरल प्रकृतिका हुनुहुन्थ्यो बाबा र ऋषितुल्य हुनुहुन्थ्यो उहाँ भित्री–बाहिरी दुवै रूपमा। उहाँ जस्ता व्यक्तिबाट त्यस्तो एकदमै गम्भीर, कठोर आपत्तिजनक निर्णय र काम कसरी सम्पन्न भयो ? त्यसो गर्ने दुसाहस कसरी पलायो उहाँको मनमा ? मलाई अहिले पनि घनघोर आश्चर्य लाग्छ। तर आश्चर्य मान्दिन म, किनभने मलाई थाहा छ हिन्दी उखान —‘मरता क्या नहीं करता’ बाबाको त्यो आफूखुसीको रहर थिएन, केटौले लहडबाजी थिएन, उर्लँदो भावना र कल्पनाको प्रवाहको परिणाम थिएन। त्यो दुस्साहस चरम गरीबीको दुष्परिणाम थियो, अभावग्रस्त जिन्दगीको कठोर उपहार थियो। हो, त्यसैले त जूवाका आजीवन विरोधी बाबाले त्यस दिन आमाको जीवनसित, आफ्नो जीवन र भाग्यसित अनि हामी लालाबालाको जीवन र भाग्यसित समेत एउटा डरलाग्दो जूवा खेल्नुभएको थियो। कठै मेरा बाबा ! ! !

०००