निरा हत्याप्रकरण- भाडाको मोटरसाइकल प्रयोग, आफन्तमाथि पनि निगरानी बढाइयो - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

निरा हत्याप्रकरण- भाडाको मोटरसाइकल प्रयोग, आफन्तमाथि पनि निगरानी बढाइयो



कपन सरस्वतिनगरको मध्ये शहरमा दिनदहाडै भएको हत्याको घटना थप जटिल बन्दै गएको छ । वैशाख ७ गते दिउँसो निरा पाण्डे आचार्यको आफ्नै पसलमा हत्या भएको थियो।

हत्यामा संलग्न व्यक्तिको अझै पहिचान हुन सकेको छैन। प्रहरीले पसल नजिकै रहेका सीसीटीभी फुटेजको सहयोगमा घटनामा संलग्न व्यक्ति भाडाको मोटरसाइकलमा आएर हत्या गरेको आशंका गरेको छ।

उनको शरीरका करिव २० ठाउँमा चक्कू रोपेर क्रुर हत्या गरिएको थियो। उक्त घटनाको अनुसन्धान गरिरहेको प्रहरीले समेत क्लु नभेटेपछि अनुसन्धान गर्न समिति बनेको छ ।

प्रहरीले नीराका आफन्तहरुमाथि पनि निगरानी गरिरहेको छ। तर राजधानीमा दिउँसो व्यस्त बजारमा हत्या हुँदासमेत वरपरका कसैले पनि सुईंको नपाएपछि घटना निकै रहस्यमय बन्दै गएको छ।

अनुसन्धानको लागि नयाँ समिति

घटना थप जेलिंदै गएपछि प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखको नेतृत्वमा समिति बनाएको छ। सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यको नेतृत्वमा शुक्रबार समिति गठन भएको हो।

यसअघि जिल्ला प्रहरी परिसर काठमाडौं, उपत्यका अपराध अनुसन्धान कार्यालय, उपत्यका प्रहरी कार्यालय र बौद्ध बृत्तले छुट्टा छुट्टै अनुसन्धान गरिरहेका थिए। तर एक हप्तासम्म पनि हत्यारा पत्ता लगाउन नसकेपछि एआईजीको नेतृत्वमा समिति बनाइएको हो।

सीआईबी प्रमुख बज्राचार्य नेतृत्वको अनुसन्धान समितिमा काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्की, उपत्यका अनुसन्धान कार्यालय प्रमुख एसएसपी मनोज केसी, सीआईबीका एसएसपी दिनेश आचार्य लगायत ११ सदस्य छन्।

अनुसन्धानमा खटिएका छुट्टा छुट्टै युनिटका प्रहरीबिच नै समन्वय नहुँदा अनुसन्धान प्रभावित भएपछि उच्च कमाण्डमा टोली खटाइएको हो। अब सबै युनिटले सीआईबी प्रमुख मातहत अनुसन्धान गर्नेछन्। सबै युनिटले संकलन गरेका प्रमाण र सूचनालाई एकीकृत गरि अनुसन्धान गरिने बताईएको छ।

सबै युनिटले छुट्टा छुट्टै अनुसन्धान गर्दा प्रमाण संकलनमा पनि समस्या हुने र सोधपुछ गर्ने व्यक्तिलाई पनि झनझट हुने भनेर एउटा टिम बनाएको प्रहरीले जनाएकोच छ।