एकाएक भारत पुगे विमलेन्द्र निधि- के प्रचण्ड सरकार ढल्न लागेको हो ? - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

एकाएक भारत पुगे विमलेन्द्र निधि- के प्रचण्ड सरकार ढल्न लागेको हो ?



काठमाडौं- नयाँ बनेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले विश्वासको मत लिने तयारी गरिरहेका बेला नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि भने एकाएक दिल्ली पुगेका छन् । एमाले लगायतका दलहरू मिलेर बनाएको नयाँ सरकारलाइ विश्वासको मतमै रोक्ने प्रयास ततिब्र पारिरहेका बेला निधि एकाएक दिल्ली पुगेका हुन् ।

भारतसँग अत्यन्त निकट मानिने नेता निधिलाई भारतीय जनता पार्टीले निमन्त्रण गरेको बताइएको छ । निधि बिहीबार दिल्ली पुगेका छन् । प्रचण्ड नेतृत्वको सरकार ढाल्न विदेशी शक्तिहरू लागिरहेको चर्चा चलिरहेका बेला निधिको भारत भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई पहिलो चरणमै प्रधानमन्त्री बनाउने निधिको प्रयास असफल भएको थियो । एकाएक प्रचण्डको नेतृत्वमा सरकार बनेपछि छट्पटाएको कांग्रेस अहिले प्रचण्डलाई पहिलो चरणमै रोक्ने प्रयासमा लागेको छ ।

भाजपाले नेपालको पछिल्लो राजनीतिक अपडेट लिन निधिलाई दिल्ली बोलाएको बताइएको छ ।

देउवाको दूतको रूपमा विभिन्न नेताहरूसँग निरन्तर संवादमा रहेका निधि दिल्लीबाट कहिले फर्कन्छन भन्ने टुंगो छैन । यसअघि पनि उनले बालकोट र खुमलटारमा संवाद गरेका थिए । निधिकै भर पर्दा देउवाको प्रधानमन्त्री पद खुस्किएको थियो ।