नेपालमा रोजगारी नपाएपछि चौकीदारी गर्न भारत पुगेका त्रिलोचन भट्ट यसरी बने मुख्यमन्त्री - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

नेपालमा रोजगारी नपाएपछि चौकीदारी गर्न भारत पुगेका त्रिलोचन भट्ट यसरी बने मुख्यमन्त्री



डोटी  ।।  कुनै समय नेपालमा रोजगारी नपाएपछि चौकीदारी गर्न भारत पुगेका त्रिलोचन भट्ट ‘संकल्प’ ७ नम्बर प्रदेशको मुख्यमन्त्री पदमा सिफारिस भएका छन्। नेकपा माओबादी केन्द्रको प्रदेश कमिटीले उनलाई मुख्यमन्त्रीका लागि शुक्रबार सिफारिस गरेको हो।

अब केन्द्रीय कमिटीले अनुमोदन गरेपछि उनी उम्मेदबार हुनेछन्। बाम गठबन्धनको सहमतिका आधारमा ७ नम्बर प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रको भागमा परेको छ। त्यसैले उनको मुख्यमन्त्री बन्ने लगभग ‘पक्कापक्की’ भएको छ।

डोटी प्रदेश सभा (ख) निर्वाचन क्षेत्रबाट निर्वाचित भएर प्रदेश सभामा पुगेका उनी नेकपा माओबादी केन्द्रका पोलिटब्यूरो सदस्य छन् भने, डोटी जिल्ला ईन्चार्जको भूमिका निर्वाह गरिरहेका छन्। नेकपा माओबादी केन्द्रबाट ७ नम्बर प्रदेश सभामा सहभागी १४ जना सांसदमध्ये उनी सबैभन्दा ‘सिनियर’ रहेको माओबादी स्रोतले बताउँछ।

२०६४ सालको पहिलो संविधान सभा सदस्य निर्वाचनमा डोटी क्षेत्र नम्बर–१ बाट पराजित भएका भट्ट २०७० सालमा क्षेत्र नम्बर–२ बाट पराजित भएका थिए। दुबै निर्वाचनमा उनी तेस्रो भएका थिए। एमालेको समेत सहयोग रहेको यसपल्टको प्रदेश सभा निर्वाचनको प्रचार–प्रसारका क्रममा उनले ‘चौकीदार’को आरोप भोगेका थिए। उनका प्रतिद्वन्द्वीले उनलाई ‘चौकीदारले देश चलाउन नसक्ने’ टिप्पणी गर्दा, ‘डोटीमा अधिकांश जनता भारतमा चौकीदारी गर्न बाध्य रहेको र चौकीदारका आफन्तहरुले आफूलाई भोट दिएर जिताउन’ आग्रह गरेका थिए।

तीनै भट्टलाई माओबादी केन्द्रले मुख्यमन्त्री पदका लागि सिफारिस गरेको छ। उनीसंगै माओबादी केन्द्रका कैलालीबाट निर्वाचित सांसद वीरभान चौधरी, अछामबाट निर्वाचित सांसद झपट बोहरा र दार्चुलाबाट निर्वाचित सांसद मानबहादुर धामीको नाम चर्चामा थियो।

भट्टको राजनीतिक यात्रा

कलिलो उमेरमा भारत पसेका भट्ट जेठ, २०४७मा अखिल भारत नेपाली एकता समाजको साधारण सदस्य भएका थिए। ‘तत्कालिन सामन्ती राज्यब्यवस्थाका बिरुद्ध बिद्रोह गर्ने’ उद्देश्यले आफू सो संगठनमा आबद्ध भएको उनी बताउँछन्। ‘नेपालको शासनब्यबस्थाले भोग्नुपरेको पीडाबाट उन्मुक्तीका लागि म त्यसमा सदस्य भएको थिए। हामीले जस्ता समस्या अरु नेपाली युवाहरुले भोग्नु नपरोस भनेर संघर्षमा लागेको हुँ,’ उनी सम्झन्छन्।

त्यसपछि २०४८ असार ३ गते सोही संगठनको मुम्बई एरिया कोषाध्यक्षमा चुनिए। त्यस्तै २०४९ जेठ २५ गते नेकपा(एकता केन्द्र) पार्टी सदस्यता लिए। त्यसपछि उनी तत्कालिन नेकपा (माओबादी)मा सहभागी भए। सोही क्रममा माओबादीले सशस्त्र संघर्षको तयारी गरिरहँदा २०५१÷०५२मा आन्तरिक रुपले युद्धको तयारीका लागि भारतमै आर्थिक संकलन र ब्यवस्थापनको जिम्मेवारी सम्हालेको उनी सुनाउँछन्।

२ बैशाख २०५१ मा उनी नेकपा(माओबादी)को ईलाका सदस्य बनेका थिए। २०५४ बैशाखमा अखिल भारत नेपाली एकता समाज नवौँ मुम्बई नगर कमिटीको कोषाध्यक्ष हुदैँ २०५७ मा महाराष्ट्रकै कोषाध्यक्ष बनेका थिए। २०५५ मा युवा संघ जिल्ला सदस्य चुनिएको उनले जनाउँछन्। त्यसबीचमा केही बर्ष उनी कलाकार भएर सांस्कृतिक कार्यक्रममार्फत भारतमै माओबादी संघर्षका पक्षमा उत्प्रेरणा जगाउने काममा समेत लागेका थिए।

२०५७ असार ५ गते नेकपा(माओबादी)को जिल्ला सदस्य भएपछि भारतको चौकीदारी छाडेर पूर्णकालिन युद्धमा होमिएका थिए। त्यसपछि २०५८ सालमा नेपालमा संकटकाल लागेपछि भारत सरकारले एकता समाजलाई प्रतिबन्ध लगाउदा गठित नेपाली जनअधिकार सुरक्षा समितिको राज्य संयोजकको भूमिका निर्वाह गरेको उनी बताउछन्।

यस्तै २०५९ मा पार्टी क्षेत्रीयब्यूरो सदस्य, २०६० मुम्बई जिल्ला पार्टी सेक्रेटरीको जिम्मेवारी सम्हालेका उनले २०६१ मंसिरमा प्रवासबाट नेपाल आई २०६२ मा डोटीमा जिल्ला सेक्रेटरीको जिम्मेवारी सम्हालेका थिए। २०६३ मा डोटी जिल्ला सह–ईन्चार्ज बनेभने, २०७३ सालमा नेकपा माओबादी केन्द्रको केन्द्रीय सदस्य र २०७४ देखी नेकपा माओबादी केन्द्रको पोलिटब्यूरो सदस्य छन्।

‘चौकीदार भन्दा खुशी लाग्छ’

गरिबीका कारण राम्रोसंग पढ्न नपाएका भट्ट साधारण लेखपढ हुन्। अनौपचारिक शिक्षा भने आफूले भरपुर लिएको दाबी गर्छन्। अरुले चौकीदार भनेर टिप्पणी गर्दा आफुलाई खुशी लाग्ने उनी बताउँछन्। ‘मैले अधिकांश सुदूरपश्चिमेली युवाको संघर्ष देखेको र आफै भोगेको छु। जो भारतमा कठोर परिश्रम गरेर घर चलाउछन्,’ उनले भने, ‘तीनै युवाको प्रतिनिधीका रुपमा आज म यो ठाउँमा छु। जहाँ हुन्छु गर्वका साथ प्रस्तुत हुँदै तीनै उत्पीडित, उपेक्षित जनता र बेरोजगार युवाका पक्षमा र उनीहरुको मुक्तीका लागि काम गर्छु।’

उनी आफू जनताको चौकीदार भएको टिप्पणी गर्छन्। ‘म संघर्षबाट आएको हुँ। जुन जनताको पक्षमा छ। मैले जनताका लागि संघर्ष गरेको छु। त्यसैले आफूलाई जनताको चौकीदार हुँ भन्दा गर्व महशुस हुन्छ।’

उनलाई अब मुख्यमन्त्री हुन प्रदेश सभामा २७ जना सांसदको समर्थन आवश्यक पर्नेछ। जसका लागि बामगठबन्धनका दलहरु नेकपा एमालेसंग २५ र नेकपा माओबादी केन्द्रसंग १४ गरी दुईतिहाई भन्दा बढी पक्ष मत छ। उनको बिपक्षमा नेपाली कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका २ जना सांसद हुनसक्नेछन्। ७ नम्बर प्रदेशको प्रदेश सभा ५३ सदस्यीय छ। इनेपाल पोस्टको सहयोगमा