कुवेतसँगको खेल- नेपाली टोलीमा ओपनर सहित केही परिवर्तन - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

कुवेतसँगको खेल- नेपाली टोलीमा ओपनर सहित केही परिवर्तन



नेपालले एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनलमा शनिबार कुवेतसँग खेल्दैछ । खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरुहुनेछ । नेपाल कुवेतलाई हराउँदै फाइनलमा स्थान बनाउने लक्ष्यका साथ मैदान उत्रनेछ ।

नेपाल समूह ए को विजेता र कुवेत उप–विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएका हुन् । नेपालले समूह चरणको अन्तिम खेलमा कतारसँग खेलेको थियो । कतारविरुद्ध नेपालको ब्याटिङ राम्रो हुन नसकेपनि बलिङले जिताएको थियो ।

ब्याटिङमा नेपाल खराब प्रदर्शनका साथ १ सय ५७ रनमै अल आउट भएको थियो । बलिङमा भने उत्कृष्ट प्रदर्शनका साथ कतारलाई ८९ रनमै अल आउट गरेको थियो ।

कतारको प्लेइङ–११ बाट नेपालले टोलीमा एक परिवर्तन गर्ने सम्भावना छ । नेपालले गुलशन झाको स्थानमा करण केसीलाई मौका दिने सम्भावना देखिन्छ । कतारमा बायाँ हाते बलरको बाहुल्यता हुँदा गुलशनलाई खेलाएको थियो । गुलशनको बलिङ भने राम्रो हुन सकेको छैन ।

त्यसैले कतारविरुद्ध करणलाई नै मौका दिने सम्भावना देखिन्छ । करण नेपालका प्रमुख तीव्र गतिका बलर हुन् । गुलशनले कतारविरुद्ध ३ ओभरमा १७ रन खर्चिदा विकेट विहीन बनेका थिए । बलिङ मजबुत बनाउन गुलशनको स्थानमा करणलाई खेलाउने सम्भावना देखिन्छ । नेपालले टोलीमा अन्य केहि परिवर्तन गर्ने सम्भावना छ ।

ओपनरमा आसिफ शेख र कुशल रहँदै आएकोमा आजको खेलमा ओपनर फेरिन सक्ने बताइन्छ । ओपनरले राम्रो प्रदर्शन गर्न सकेका छैनन् । टोलीले उनीहरूलाई पछिल्लो क्रममा राख्ने छलफल टोलीमा चलेको बताइएको छ । ओपनर बाहेक अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्दै आएका छन् ।

कुशल र आसिफमध्ये एकलाई पछि धकलेर भीम सार्कीलाई अगाडी ल्याउने योजना छ । राम्रो प्रदर्शन गर्दै आएको भीमबाट ठूलो आशा टिमले गरेको छ । रोहित पौडेल, कुशल मल्ल र आरिफ शेखको प्रदर्शनले धेरै फरक पार्नेछ । यस्तै सन्दीप लामिछानेलाई पनि एक दुई स्थान अगाडी सार्ने तयारी छ ।

तीव्र गतिका बलरमा सोमपाल र करणको जोडी हुनेछ । स्पिनरमा ललित र सन्दीप हुनेछन् । पार्टटाइम स्पिनरमा दीपेन्द्र र कुशल मल्ल हुनेछन् ।

यस्तो बन्नेछ नेपालको प्लेइङ-११ :

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की र ललित राजवंशी ।