नेपालले कुवेतसँग महत्वपूर्ण खेल खेल्दै- पानी परे के हुन्छ ? - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

नेपालले कुवेतसँग महत्वपूर्ण खेल खेल्दै- पानी परे के हुन्छ ?



नेपालले एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा आज कुवेतसँग खेल्दैछ । खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । घरेलु टोली नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएका हुन् ।

नेपाल कुवेतलाई हराउँदै फाइनलमा स्थान पक्का गर्न चाहन्छ । तर कुवेतदेखी भने नेपाल सजग छ । कुवेतले समूह चरणको अन्तिम खेलमा हङकङलाई ३० रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । उक्त खेलमा कुवेतले मुलपानी मैदानमा २ सय ७२ रन बनाएको थियो । कुवेत पनि घरेलु टोली नेपाललाई स्तब्ध पार्दै फाइनलमा पुग्न चाहन्छ।

उता आजकै दोस्रो सेमिफाइनल खेलमा युएई र ओमानबीच मुलपानीमा प्रतिस्पर्धा हुनेछ । योसँगै मुलपानी मैदान विश्वको २ सय १६ औं ओडिआई मैदान बन्नेछ । नेपालले आजको टोलीमा एक परिवर्तन गर्ने सम्भावना छ।

कतारविरुद्ध विश्राम दिएका तीव्र गतिका बलर करण केसी टोलीमा फर्किदा गुलशन झा बेन्चमा बस्ने उच्च सम्भावना देखिन्छ । गुलशनको बलिङ त्यति धेरै प्रभावकारी नहुँदा करणलाई नै पहिलो रोजाईमानै निरन्तरता दिनेछ ।

ज्ञानेन्द्र मल्ल र प्रतिश जि.सी आज पनि बेन्चमा बस्ने सम्भावना छ । नेपालका ओपनर आसिफ शेख र कुशल भुर्तेल यस प्रतियोगितामा चलेका छैनन् । उनीमाथि नेपालले थप विश्वास गर्ने हुँदा ज्ञानेन्द्र बेन्चमा नै बस्ने सम्भावना छ । अन्य खेलाडी परिवर्तन गर्ने सम्भावना भने छैन ।

नेपालको ब्याटिङ १० नम्बर सम्म छ । त्यसैले सबै ब्याटरले जिम्मेवारी प्रदर्शन गर्नुपर्ने हुन्छ । भीम सार्की, रोहित पौडेल र कुशल मल्लको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । उता स्पिनर सन्दीप लामिछाने नेपालका प्रमुख हतियार हुन् । उनको उत्कृष्ट प्रदर्शन बिना नेपाललाई जित निकाल्न कठिन पर्नसक्छ ।

कतारलाई हराउन सन्दीपले ४२ रन बनाउनुको साथै ५ विकेट लिएका थिए । उनलाई ललितनारायण राजवंशीले अर्को एण्डबाट साथ दिनेछन् । करण र सोमपाल कामीबाट नेपाल पावर प्लेमा पनि उत्कृष्ट सुरुवात चाहन्छ ।

नेपालको बायाँ हाते (देब्रे) बलरसँग त्यति राम्रो इतिहास छैन । कतारविरुद्ध १ सय ५७ रनमा अल आउट हुनुको मुख्य कारण नै त्यहि थियो । उता कुवेतमा यासिन पटेल र मोहम्मद अस्लाम बायाँ हाते स्पिनर हुन् । नेपालको कमजोरीको फाइदा उठाउन सक्छन् । नेपाल सजग रहनु पर्छ ।

उता कुवेतको तुलनात्मक रुपमा बलिङ र फिल्डिङ कमजोर रहेपनि ब्याटिङमा भने सानदार प्रदर्शन गर्दै आएको छ । ब्याटिङ नै कुवेतको प्रमुख हतियार हो । कुवेती ब्याटर विष्फोटक ब्याटिङमा प्रभाव जमाउँदै आएका छन् । मुलपानी मैदानमै कुवेतले हङकङविरुद्ध २ सय ७२ रन बनाउँदै जितको आधार तय गरेको थियो ।

ओपनर आदनान इद्रिसले यस प्रतियोगितामा ३ खेलमा १ सय ३९ रन बनाएका छन् । सैयद मोनिब यस प्रतियोगितामा सर्वाधिक स्ट्राइक रेटमा ब्याटिङ गर्ने ब्याटर समेत हुन् । युवा ब्याटर मित भावसार कुवेतका ठूला आसालाग्ला ब्याटर हुन् । यी तीन ब्याटरको प्रदर्शनले कुवेतको योगफल धेरै निर्धारण गर्नेछ ।

मितले अघिल्लो वर्ष नेपाली यू-१९ टोलीलाई हराउन उनले एक्लै १ सय ७५ रनको अविजित इनिङ खेलेका थिए । डेब्यू खेलमै युएईविरुद्ध ७ छक्का हानेका परविन्दरबाट पनि नेपाल सजग हुनुपर्छ ।

आदनान इद्रिस, रविजा सानदरवान, परविन्दर कुमार, मोहम्मद अस्लाम, मित भावसर, शिराज खान, उस्मान पटेल र सैयद मोनिब कुवेतक ब्याटर हुन् । जसमा मोनिब, परविन्दर र इद्रिस घातक बन्न सक्छन् ।

युवा स्पिनर यासिन पटेलको यस प्रतियोगितामा प्रदर्शन सानदार छ । यस प्रतियोगिताकै सर्वाधिक उत्कृष्ट २.८२ को इकोनमीमा बलिङ गरेका छन् । यासिन पटेल, मोनिब र शाहरुख क्युदुस कतारका प्रमुख बलर हुन् ।

कुवेत विना दबाब क्रिकेट खेल्ने छ । उसलाई गुमाउनु केहि हुनेछैन । विना दबाब आफ्नो उत्कृष्ट क्रिकेट खेल्न चाहन्छ । नेपाली दर्शक सामू खेल्न भने केहि कठिन हुनसक्छ । उनीहरुले नेपाली दर्शक जस्तो भिडमा खेल्ने अवसर पाएका छैनन् ।

हेड ट हेड :

नेपालले कुवेतसँग ५० ओभरको खेलमा पछिल्लो पटक २०१२ मा खेलेको थियो । एसिसी इलिट ट्रफीमा नेपाल कुवेतसँग ४ विकेटले पराजित भएको थियो । पारस खड्का १ सय ६ र ज्ञानेन्द्र मल्लले ५३ रन बनाएपछि कुवेतलाई २ सय ८१ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य कुवेतले ४६.२ ओभरमै पुरा गरेको थियो । नेपालले पछिल्लो पटक कुवेतसँग टि२० विश्वकप छनोट २०१९ मा खेलेको थियो ।

फाइनल सोमबार हुनेछ । यस प्रतियोगिता विजेता टोलीले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । त्यस्तै आज सेमिफाइनलमा पराजित भएका दुई टोलीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ । फाइनलमा पुग्ने दुई र तेस्रो स्थानमा रहने तीन टोली गरि ३ टोलीले आगमी जुनमा एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।

आजको मौसम :

आज काठमाडौंमा हल्का वर्षा हुने सम्भावना छ । यदि वर्षाको कारण नतिजा नभएमा खेल सुपर ओभरको हुनेछ । सुपर ओभर पनि हुन नसकेमा नेपाल र युएई समूह विजेताको रुपमा फाइनलमा स्थान बनाउनेछन् ।

कुवेतको टोली :

मोहम्मद अस्लाम (कप्तान), आदनान इद्रिस, सैयद मोनिब, उस्मान पटेल, बिलाल ताहिर, मोहम्मद अमिन, रजिवा संदरुवान, मित भावसार, शिराज खान, परविन्दर कुमार, यसिन इशक पटेल, क्लिन्टो एन्टो, शाहरुख कुद्दुस र इलियास अहमद ।

नेपालको टोली :

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी र ललित राजवंशी ।