नेपाल भर्सेज पिएनजी- आक्रामक ब्याटिङ र उच्च मनोबल नै हतियार - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

नेपाल भर्सेज पिएनजी- आक्रामक ब्याटिङ र उच्च मनोबल नै हतियार



काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको घरेलु मैदानमा जारी त्रिकोणात्मक सिरिजमा आफ्नो तेस्रो खेलमा नेपालले आज (सोमबार) पपुवा न्यु गिनी(पीएनजी)सँग खेल्दै छ ।त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र पीएनजीबीचको खेल बिहान ९ः३० बजे सुरु हुनेछ । सिरिजको दुई खेलमा सहज जित निकाल्दै एकदिवसीय मान्यता जोगाएको नेपाललाई आजको खेलमा सहज जित निकाल्ने मौका छ ।

आजको खेलमा सहज जित निकाल्न सकेमा नेपालले सोझै विश्वकप छनोट खेल्ने सम्भावनालाई कायम राख्नेछ । त्यसपछि नेपाललाई सिरिजको अन्तिम खेल जिते पुग्नेछ । सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई ५२ रनले हराएको थियो । त्यसपछि दोस्रो खेलमा आइतबार यूएईलाई १७७ रनले हराएको थियो ।

नेपालले अव बाँकी दुई खेल जितेमा ४० अंकका साथ शीर्ष तीनमा रहँदै आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोट सोझै खेल्न पाउँछ । दुई मध्य एक खेल पराजित भएमा भने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ । त्यसैले नेपाल दुवै खेल जित्दै सोझै विश्वकप छनोट खेल्न चाहन्छ ।

यता पपुवा न्युगिनी ३४ खेलमा ५ मा जित र २८ मा हारसहित ११ अंकका साथ पुछारमा छ । पिएनजीले पुछारमा रहँदै प्लेअफ खेल्ने पक्का भएको छ । अव प्लेअफ क्वालिफायरमा शीर्ष दुईमा पर्न सकेमात्रै पिएनजीले विश्वकप छनोट खेल्न पाउँछ । त्यस्तै सोझै ओडिआई मान्यता अवसर गुमाएको पिएनजीले प्लेअफ क्वालिफायरमा जर्सी र क्यानडालाई पछि पार्न सके निरन्तरता पाउनेछ । अन्यथा चार वर्षको लागि ओडिआई मान्यता गुम्ने देखिन्छ ।

नेपालको कप्तान रोहित पौडेल र पिएनजीका असद भाला प्रमुख खेलाडी हुन् । पिएनजीले पछिल्लो खेलमा युएईलाई स्तब्ध पारेको थियो । त्यसैले नेपाल खेलमा सचेत छ । नेपालले पछिल्लो खेलमा ज्ञानेन्द्र मल्ल र करण केसीलाई बाहिर राख्दै ललितनारायण राजवंशी र गुलशन झालाई मौका दिएको थियो ।

दुवै खेलाडीले राम्रो प्रदर्शन गरेका थिए । ललितले पाँच विकेट लिएको हुँदा निरन्तरता पाउनेछन् । गुलशनले आक्रामक ब्याटिङ गरेका थिए । तर पिच परिवर्तन भएमा करण टोलीमा फर्किने सम्भावना छ । पछिल्लो खेलमा युएईमाथि १ सय ७७ रनको सानदार जित हात पारेको हुँदा टोलीमा परिवर्तन नगर्न पनि सक्छ ।

नेपालका मध्यक्रमका ब्याटर भीम सार्की राम्रो लयमा देखिएका छन् । ओपनर आसिफ शेख र कुशल भुर्तेलबाट राम्रो सुरुवात चाहन्छ । कुशल मल्लबाट आक्रामक ब्याटिङ चाहन्छ । त्यस्तै आरिफ शेख पनि राम्रो लयमा छन् । नेपालले दुई स्पिनरमा ललित र सन्दीप लामिछानेलाई मैदान उतार्नेछ । सोमपाल तीव्र गतिका हतियार हुनेछन् ।

यता ओपनर किप्लिङ डोरिगा राम्रो लयमा छन् । युएईलाई हराउन सेसे बाउ, हिरि हिरि र डोरिगाले अर्धशतक प्रहार गरेका थिए । कप्तान असद भाला र चाल्स अमिनीबाट पिएनजी आजको खेलमा राम्रो प्रदर्शन चाहन्छ । चाद सोफर, नर्मन भानुवा र राइली हेकुरे प्रमुख बलर हुन् ।

पछिल्लो खेलमा अभ्यासको क्रममा ओपनर टोनी उरा घाइते भएमा थिए । उरा फिट हुँदा पिएनजीको ब्याटिङ भने मजबुत हुनेछ । पछिल्ला १० मध्य ९ खेल जितेको नेपालको मनोबल भने उच्च छ ।