कन्सलटेन्सी क्षेत्रमा नयाँ संघ – जन्मियो ‘नेका’, फुट्यो ‘इक्यान’ - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

कन्सलटेन्सी क्षेत्रमा नयाँ संघ – जन्मियो ‘नेका’, फुट्यो ‘इक्यान’



काठमाडौं । शैक्षिक परामर्श क्षेत्रको सबैभन्दा ठूलो संघ नेपाल शैक्षिक परामर्श संघ (इक्यान) फुटेर नयाँ संघ बन्ने भएको छ ।

राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) नाम दिइएको नयाँ संघमा इक्यानभित्रका व्यवसायी तथा अन्य संघमा रहेका र स्वतन्त्र व्यवसायीहरु आबद्ध रहने ‘नेका’ले जानकारी दिएको छ ।

“शैक्षिक परामर्श क्षेत्रको विकासमा सही ढंगले कोही पनि लागेको पाइएन, समस्या कम हुनुको साटो झन थपिँदै गए, व्यवसायमा मौलाएको एकाधिकारसँगै गैरव्यवसायिक क्रियाकलाप हावी हुँदै गयो, फलस्वरुप ‘नेका’का रुपमा नयाँ संघ बनाउन बाध्य भयौं” तदर्थ समितिका संयोजक सन्तोष प्याकुरेलले जानकारी दिए ।

इक्यानको वर्तमान कार्यसमितिको कामकारबाहीप्रति असन्तुष्ट पक्षसँगै स्वतन्त्रहरु मिलेर नयाँ संघ गठनको तयारी गरेको हो ।

“दर्ताको काम सकियो, केही प्रशासनिक काम बाँकी छ, त्यो सकिएपछि छिट्टै नै नयाँ कार्यसमिति सार्वजनिक गर्नेर्छौ” तदर्थ समितिका प्रवक्ता उमेश ढुंगेलले बताए ।
“शैक्षिक परामर्श क्षेत्रमा व्यवसायको हक हितका लागि व्यवसायिक एजेण्डालाई लिएर अस्तित्वमा रहेका सबै संघहरुसँग सहकार्य गर्दै यस क्षेत्रको समग्र विकासका लागि नयाँ संघ जन्माएका हौं” ढुंगेलले थपे ।

हाल शैक्षिक परामर्श क्षेत्रमा इक्यान, आईरिन र फेकन गरी तीन संघ अस्तित्वमा छन् । नेका चोथौ संघ बन्ने छ । नयाँ बन्ने संघमा सन् २०१२ मा इक्यान मर्ज भएको तत्कालिन ‘नेका’का सदस्य, इक्यानका सदस्य तथा स्वतन्त्र व्यवसायीहरु आबद्ध हुने गरी गृहकार्य गरिएको छ ।संघलाई राजधानीमा मात्रै कन्द्रित नगरी संघीय संरचना अनुसार संघको ढाँचा निर्माण गर्ने गरी संघले जानकारी दिएको छ ।

“मूलतः वर्तमान कार्यसमितिले एकाधिकार कायम गर्दै, गैरव्यवसायिक काममा बढी कन्द्रित भयो, व्यवसायीका हक, हितको काममा ध्यान दिएको पाइएन”, संयोजक प्याकुरेलले भने, “समग्र व्यवसाय र व्यवसायीको हितमा काम गर्ने संस्थाको आवश्यकता महसुस गरेरै नयाँ संघ जन्माएका हौं ।”

अहिले पनि यस क्षेत्रमा अनेकानेक समस्या छन् । ती समस्यालाई समाधान गर्नुको साटो व्यवसायिकइतरका काममा कार्यसमिति बढी केन्द्रित हुँदा नयाँ संघको विकल्प महसुस भएको व्यवसायी सरोज कुमार बस्नेतले बताए ।
नेकाको नयाँ कार्यसमितिमा को–को हुने भन्ने अहिले छलफल भइरहेको र छिट्टै नै सार्वजनिक गर्ने तयारी भइरहेको बस्नेतले जानकारी दिए ।

शिक्षा मन्त्रालयको तथ्यांक अनुसार अहिलसम्म २ हजारभन्दा बढी संस्था सञ्चालना छन् । जसमध्ये इक्यानमा ४ सयको हाराहारीमा सदस्य छन् ।