नेवानिका अध्यक्ष अधिकारीमाथि कारबाही - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

नेवानिका अध्यक्ष अधिकारीमाथि कारबाही



काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई कारबाही गर्ने अन्तिम तयारी गरेको छ । प्राधिकरणले उनलाई प्रक्रिया पुर्याउन स्पष्टीकरण सोधेको छ।

प्राधिकरणले तीन दिनभित्र आफैं उपस्थित भई स्पष्टीकरण दिन अधिकारीलाई निर्देशन दिएको हो। प्राधिकरणले लागू गरेको विमानस्थल सेवा शुल्क नियमावली २०७८ लाई कार्यान्वयन नगरेको भन्दै निगम अध्यक्षलाई पदबाट किन नहटाउने भन्दै स्पष्टीकरण साधेको हो।

निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्य अन्तर्राष्ट्रिय उडान गर्ने स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीहरूलाई ग्राउण्ड ह्याण्डलिङ सेवा उपलब्ध गराउँदै आएको छ।

प्राधिकरणले गत वर्ष नियमावली संशोधन गर्दै भुमस्थ प्रबन्ध सेवा(ग्राउन्ड ह्यान्डलिङ) वापत संकलन गर्न पाउने संशोधित सेवा शुल्क लागू गर्न पत्राचार गरेको थियो।

प्राधिकरणले गत असोज ८ गते पहिलो पटक र गत चैत्र १७ गते २ पटक गरी निगमलाई संशोधित सेवा शुल्क लागू गर्न निर्देशन दिएको थियो। तर, निगमले संशोधित सेवा शुल्क र प्राधिकरणको निर्देशक पालना नगरेको भन्दै निगम अध्यक्ष युवराज अधिकारीका नाममा स्पष्टीकरण सोधेको हो।

यस्तै, संशोधित ग्राउन्ण्ड ह्याडलिङ शुल्क र सो शुल्कमा ५० प्रतिशत छुट दिई नयाँ सञ्चालनमा आएका अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने वायुसेवाहरूलाई आकर्षित गर्न गरिएको प्रयास कार्यान्वयन नहुँदा वायुसेवा कम्पनी र विमानस्थलहरूले व्यहोरेको क्षतिको जिम्मेवारी कसले लिने भनेर निगम कार्यकारीलाई प्रश्न सोधेको छ।