तब म नास्तिक भएँ - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

तब म नास्तिक भएँ



-प्रकाश पाण्डे

भव्य मन्दिर, मस्जिद र चर्चमा बसेर
तिम्रो भगवानले छेउमा बसेको माग्नेको भोक बुझ्दैन
त्यसैले म नास्तिक भएँ ।

बिहानै मन्दिर गएर टिका निधारमा धसेर
दिनभरि ठगी धन्दा गर्नेले धर्मका प्रवचन दिन्छ ।
त्यसैले म नास्तिक भएँ ।

गरिबले मरी मरी कमाएको २/ ४ रुपैयाँ दान दिँदा
ठगले लाखौँ दान दिएर आफूलाई सबसे दानी घोषित गर्छ ।
अनि तिम्रो मन्दिरमा उसको नाम स्वर्ण अक्षरले लेखिन्छ ।
त्यसैले म नास्तिक भएँ ।

बुढेसकालमा आफ्ना बाउ आमालाई भोक भोकै राखेर
मरे पछि खिरका डल्ला बटारेर जुन ढोँग रच्छौ
बाचुन्जेल आमाले ओढ्ने फोहोर सल नधोई
जब किरिया बस्दा तिमी सफा सेतो सल ओडछौँ
अनि तिम्रा ती पुराणका कथाले महिला लाई दास
श्रमजीवी मान्छेलाई तल्लो जात बनाउँछ
तब मेरो विवेकले तिम्रा मन्दिर, चर्चलाई
ठगहरू जम्मा हुने ठाउँ जस्तो देख्छ
त्यसैले म नास्तिक भएँ।

जब तिमी नजानी नजानी धर्मलाई विज्ञानको लेप लगाएर
इनर्जि, इलेक्ट्रोन, प्रोटोन भन्दै सामान्य मान्छेलाई
विज्ञान पनि धर्मको एक सृष्टि हो भन्दै
भ्रमको खेती गरी मास इलुजन सृजना गरेको देखेँ
तब म नास्तिक भएँ।

तिमी जब दिनभरि आदर्शका प्रवचन दिँदै
रातमा आफ्नै महलमा नारीको बलात्कार गर्छौ
तब मेरो विवेकले तिमीलाई घृणा गर्छ
अनि मलाई नास्तिक भएकोमा गर्व लाग्छ ।