नारायणगढ–मुग्लिन सडक खण्ड अब दिउसोमा बन्द नहुने - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

नारायणगढ–मुग्लिन सडक खण्ड अब दिउसोमा बन्द नहुने



काठमाडौं- नारायणगढ–मुग्लिन सडक खण्डका पुल फराकिलो बनाउने क्रममा भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समय बन्द गरिँदै आएकोमा आजदेखि नियमित सञ्चालन गरिने भएको छ। भित्तो काट्न कठिन भएपछि गत पुस ५ गतेदेखि दिउँसोमा दैनिक ४ घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो।

पहिलो ३० दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म बन्द गरिएको थियो भने त्यसपछि दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द गरिएको थियो। नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार सवारीसाधन रोकेर पाँचठाउँको पहाड काट्न सुरु गरिएकोमा तुइन खोलाको मुग्लिनतर्फको पहाडबाहेक अन्यत्रको काम अन्तिम चरणमा पुगेको छ। तुइन खोलाको भित्तोलाई विष्फोट गराउन लागिएकाले सवारी रोकेर भित्तो काट्ने काम बन्द गर्न लागिएको हो।

तुइन खोलाको पुल निर्माणका क्रममा ६० मिटर अग्लो कडा चट्टानसहितको डाँडो थियो। उक्त डाँडो काट्न कठिन भएको हो। सो पहाडको अझै ४० मिटर काट्न बाँकी छ। यससँगै बाँकी रहेको चिसेन्जी खोलाको पुलको आडको देब्रेपट्टिको भित्तो काट्ने काम अन्तिम चरणमा रहेको छ। सिमलताल, कालीखोला र नाम्ची खोलाको भित्तो काट्ने काम सकिएको छ। यी पुलसँगै काम थालिएका नौ पुल भित्तो काट्न नपर्ने भएकाले बनिसकेका छन्।

‘विस्फोट गराउने बेलामा केही दिनका लागि एकाध घण्टा बाटो बन्द हुन सक्छ तर सवारी आवातजावतमा अब समस्या छैन निर्बाध रूपमा चल्न सक्नेछन्’ आचार्यले भने। विश्व बैंकको सहयोगमा पुल बनाउन लागिएको हो। पुल निर्माण सम्पन्न गर्नुपर्ने मिति २०८० पुस ९ गतेसम्म रहेको छ।