भाषा/व्याकरण : के पुलिङ्गवाची हुँदैमा हरेक शब्द ह्रस्वान्त हुनै पर्छ ? - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

भाषा/व्याकरण : के पुलिङ्गवाची हुँदैमा हरेक शब्द ह्रस्वान्त हुनै पर्छ ?



~मुकुन्द शरण उपाध्याय~

१. हाम्रा व्याकरणहरूमा पुलिङ्गी शब्द जति ह्रस्वान्त र स्त्रीलिङ्गी जति दीर्घान्त हुन्छन् भन्ने परम्परा बसाइएको छ, तर यसमा यथार्थ के हो भने शब्दहरू कहिल्यै पनि लिङ्गका  आधार मा ह्रस्व वा दीर्घ हुँदैनन्।

२ वास्तव मा शब्दहरू व्युत्पत्ति पद्धतिका आधारमा नै ह्रस्व वा दीर्घ हुने गर्छन्। व्युत्पत्तिले गर्दा कुनै ह्रस्व पनि हुन्छन् र कुनै दीर्घ पनि हुन्छन्। जस्तै ‘दाई’ र ‘दाजी’ शब्द पुलिङ्गी हुन् तापनि दीर्घ छन्। कसरी भने यी दुई शब्द संस्कृतको ‘दायी’ बाट बनेका हुन्। संस्कृत मा ‘दायी’ शब्दको उत्पत्ति पैतृक उत्तराधिकारको धन बुझाउने ‘दाय’ शब्दबाट हुन्छ (मनु.अ.९) र तेहि दायबाट दायी शब्द जन्मन्छ।

३. मूलतः संस्कृतमा ‘दायी’ को अर्थ उक्त ‘पैतृक धन को प्रथम अधिकारी’ भन्ने हुन्छ। तेहि ‘दायी’ अपभ्रंश मा ‘दाजी’मा परिणत भएको हो र ‘दाई’ शब्द तेहि ’दाजी‘ को जकार खिएर बनेको हो। जब यसरी ‘दायी’ र ‘दाजी’ जस्ता दीर्घान्त शब्द नै ‘दाई’ शब्दका कारण हुन् भने ‘दाई’ लाई कसरी ह्रस्वान्त भन्ने ? यो त्रुटि हामी सहजै बुझ्न सक्छौँ।

४. यस्तै साढू शब्दको उत्पत्ति संस्कृत श्यालीवोढूबाट भएको हो। तर यसलाई पनि प्रज्ञाको बृहत्‌ शब्दकोश मा ह्रस्वान्त दिइएको छ। हिन्दी र बङ्गाली कोशहरूमा भने यस्तो गल्ती छैन, दीर्घान्तै भेटिन्छ। भाषा र व्याकरणमा उनीहरू हामीझैँ मिचाहा छैनन्।

५. शब्द व्युत्पत्तिमा कस्तो नियम भेटिन्छ भने कुनै पनि स‌ंस्कृत शब्दबाट तद्भव बन्ने क्रममा इकारान्त रूप तयार हुन्छ भने त्यो दीर्घै हुन्छ। जस्तै सपादबाट सवाई, सत्यताबाट सचाई, पादबाट पाई, मातृबाट माई, दधिबाट दही, मथिबाट मही वा मोई, नवनीतबाट नौनी, यष्टिबाट लट्ठी, षष्टिबाट साठी, कटाहबाट कराही, गावबाट गाई आदि।

६. यस आधारमा नप्तृबाट नाती, भ्रातृबाट भाई र पतिबाट पोई आदि पनि दीर्घान्तै हुनु पर्ने देखिन्छ। यहाँसम्म कि नेवारी धुकुति शब्द को तद्भव नेपाली ढुकुटी पनि दीर्घान्तै प्रचलित छ।

७. बाँकी सम्धी, हात्ती, सोल्टी, जोगी, नेगी र जेठाजू, गुर्जूजस्ता शब्दलाई त अपवाद शब्द को नाम दिएर प्रचलित व्याकरणहरूले पनि दीर्घान्तै मानेका छन्। तर अपवाद र विहितको एस्तो कृत्रिम जालो र व्यर्थको झमेला नेपाली विद्यार्थी र लेखकहरू ले कति बोकिरहने ?

८. यस्तै कुरा नाती, पनाती, जनाती, भाई, सम्धी, सोल्टी, साढू, जोगी, सँगी, हली, खसी र हात्ती आदि मा पनि लागू हुन्छ। एस्तो यथार्थ छँदाछँदै पनि हामी अबोध विद्यार्थीलाई ‘भाले बुझाउने शब्द जति सबै ह्रस्वान्त हुन्छन्’ भनेर घोकाई रहेछौँ, यो घोर अन्याय भइरहेको छ।

९. हामी वैदिक संस्कृतिमा आस्था गर्छौँ। विश्वमा यो मात्र एउटा एस्तो संस्कृति हो जसमा अशुद्ध पढ्न र पढाउन घोर पाप हो भनिएको छ। एकातिर हामी अङ्ग्रेजी पढाउँदा वा लेख्दा अलिकति पनि अशुद्ध गर्न डराउँछौ तर तिनै हामी सम्पूर्ण नेपाली हृदयलाई जोड्ने पवित्र काम गरिरहेको राष्ट्रभाषा को शुद्धता जोगाउन भने किञ्चित् मात्र पनि चासो राख्दैनौँ। यो कस्तो विडम्बना हो !